आर्थिक सर्वेक्षण : स्वास्थ्यको तथ्यांक त्रुटिपूर्ण

जनचेतना, पहुँच र क्षमताका कारण अस्पतालबाट सेवा लिने नागरिकको संख्या बढ्नुपर्नेमा ठूलो संख्यामा घटेको विवरण सर्वेक्षणमा छ ।
कृष्ण ज्ञवाली

काठमाडौँ — गत वर्षको आर्थिक सर्वेक्षणमा सुरुको आठ महिनामा स्वास्थ्य संस्थामा पुगेर आकस्मिक स्वास्थ्य सेवा लिनेको संख्या ११ लाख १७ हजार थियो । त्यो अवधिमा एक करोड २३ लाखले बहिरंग सेवा लिएका थिए भने भर्ना हुनेको संख्या ६ लाख ८५ हजार थियो ।

चालु आर्थिक वर्षको आठ महिनामा यो संख्या घटेको देखिन्छ । आकस्मिक स्वास्थ्य सेवा लिनेको संख्या ८ लाख ७५ हजारमा सीमित छ । त्यो अवधिमा एक करोड ५ लाखले बहिरंग सेवा लिएका थिए भने भर्ना हुनेको संख्या ४ लाख ८३ हजार थियो ।

स्वास्थ्य संस्थाहरूले गर्ने सेवा प्रवाहको यो आधारभूत तथ्यांक हेर्ने हो भने गत वर्षको तुलनामा अस्पताल जाने नागरिकको संख्या ‘स्वात्तै’ घटेको छ । आकस्मिकदेखि बहिरंग र अस्पतालमा भर्ना हुने बिरामी निकै घटेका छन् । के यो यथार्थ विवरण हो ?

‘जति संख्यामा नागरिकले स्वास्थ्य संस्थाबाट सेवा लिए, त्यो विवरण रिपोर्टिङ भएन । अनि संख्या कम देखियो,’ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनीले कान्तिपुरसित भने, ‘स्वास्थ्य संस्थाबाट सेवा लिनेको संख्या अन्डर रिपोर्टेड भयो, किन यस्तो भयो भनेर हामीले समेत सोधखोज गरिरहेका छौं ।’

गत वर्षको तुलनामा मुलुकभर २०३ वटा स्वास्थ्य संस्था थपिएका छन् । सवारीसाधन लगायतको सुविधाले स्वास्थ्य निकायमा नागरिकको पहुँच केही बढदो छ । तर सरकारी निकायकै तथ्यांकले ठीक उल्टो अवस्था चित्रण गरेको हो ।

गत वर्षको पूरै तथ्यांक तुलना गर्ने हो भने यो वर्ष सरकारी तथा निजी स्वास्थ्य संस्थाबाट सेवा लिनेको संख्या एक तिहाइभन्दा बढीले घटेको भेटिनेछ । केहीमा त यो संख्या झन्डै आधा हुनेछ । उदाहरणका लागि, १२ लाख ४१ हजार व्यक्ति गत वर्ष विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा भर्ना भए ।

यो वर्षको पहिलो आठ महिनामा यो संख्या ४ लाख ८३ हजारमा सीमित भयो । यही अनुपातमा हेर्ने हो भने बाँकी चार महिनामा ७ लाख २४ हजार जनाले उपचार गराउनेछन् । यो संख्या गत वर्षको तुलनामा झन्डै आधा हो । आर्थिक सर्वेक्षणको तथ्यांकअनुसार बहिरंग र आकस्मिक सेवा लिने बिरामी पनि यसैगरी घटिरहेका छन् ।

स्वास्थ्य अर्थशास्त्री शिव अधिकारीका अनुसार अस्पताललगायत स्वास्थ्य निकायमा जाने बिरामीको संख्या घटदो छ भने सरकारी तथ्यांक कुनै पनि दृष्टिकोणले पत्यारिलो छैन । ‘विभिन्न कारण र आधारबाट हेर्ने हो भने स्वास्थ्य निकायमा जाने नागरिकको संख्या केही वर्षदेखि बढदो छ,’ उनले कान्तिपुरसित भने, ‘घटेको तथ्यांक पत्यारिलो देखिँदैन, झनै ठूलो अनुपातमा घटेको विवरण त विश्वासै गर्न नसकिने छ ।’

स्वास्थ्य अर्थशास्त्री अधिकारीका अनुसार पहुँचका कारण नागरिक अस्पताललगायत स्वास्थ्य संस्थामा जाने क्रम बढदो छ । एकातिर बाटो, सवारीसाधन लगायतको अनुकूलता छ भने अर्कोतर्फ वैदेशिक रोजगारीलगायत अवसरले मानिस आर्थिक रूपमा समेत सम्पन्न हुँदै गएका छन् ।

शिक्षाको अवसरका कारण मानिसमा बढेको जनचेतनाले पनि अस्पताल जाने व्यक्तिहरूको संख्याबढ्दो छ । अधिकारी भन्छन्, ‘सरकारले स्वास्थ्य संस्थाको पनि क्षमता विकास गरिरहेको छ । निःशुल्क औषधिदेखि बिमालगायतका अवसर छन् । त्यसले पनि अस्पताल जानेको संख्या बढेकै छ ।’

पछिल्ला ५ वर्षकै अवधिमा स्वास्थ्य संस्थाको अनुपात भने खासै बढ्न सकेको छैन । पाँच वर्षको अवधिमा स्वास्थ्य संस्थाको संख्या १० प्रतिशत हाराहारीमा बढेको छ । आर्थिक वर्ष २०६७/६८ मा कुल स्वास्थ्य संस्था ४ हजार ३ सय ९३ रहेकामा गत आर्थिक वर्षमा ४ हजार ५ सय १३ मात्रै पुगेको छ । यस पटक दुइटा अस्पताल र दुइटा स्वास्थ्य चौकी थपिएको तथ्यांकले देखाउँछ । अस्पतालको बेडको संख्यासमेत उही छ ।

नर्सबाहेक स्वास्थ्य क्षेक्रको कुल जनशत्ति पनि खासै बढेको छैन । पाँच वर्षमा डाक्टरहरूको संख्या करिब ५ सयले बढेको छ । नर्सको संख्या करिब ९ हजारबाट २० हजार पुगेको छ । नर्स, कविराज, वैद्य, स्वास्थ्य सहायकलगायतको संख्या पनि करिब उस्तै छ ।

स्वास्थ्य क्षेत्रको प्राविधिक तथा विशेषज्ञ जनशक्तिको संख्यात्मक वृद्धिको अनुपातमा अस्पताल धाउने बिरामीको बढ्दो अनुपातले सेवाबाट वञ्चित संख्या बढदै गएको देखाउँछ । पाँच वर्षको अवधिमा करिब ७ सय शय्या थपिएका छन् । वार्षिक एक सयको हाराहारीमा अस्पतालमा शय्या थपिँदा भर्ना हुने बिरामीको चाप भने दुई वर्षको अन्तरालमा दोब्बर हाराहारी बढ्ने गरेको छ । सरकारी अस्पतालमा क्षमता विस्तार नहुँदा बिरामी महँगो शुल्क तिरेर निजीमा उपचार गराउन बाध्य हुन्छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा अस्पताल भर्ना भएका ४ लाख ८३ हजारमध्ये २ लाख ६१ हजार बिरामी राजधानी काठमाडौं र वरपरको क्षेत्रका छन् । यो कुल बिरामीको करिब आधा हिस्सा हो ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्

बालुवाटार जग्गा प्रकरण : लाखमा किनेर करोडमा बिक्री

कृष्ण ज्ञवाली

काठमाडौँ — त्रिताल प्रतिवेदनले ‘भूमाफिया’ किटान गरेका शोभाकान्त ढकाल र रामकुमार सुवेदीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा प्रतिरोपनी आठ लाख रुपैयाँ खर्च गरेर झन्डै एक करोडका दरले बेचेको भेटिएको छ ।

‘काठमाडौं छिर्दा छिँडीको कोठामा निर्वाह गर्ने आर्थिक हैसियतका दुवैजना केही वर्षमै कान्तिपथको ५/७ रोपनीमा फैलिएको घरजग्गा आँट्ने हैसियतमा पुगेका थिए,’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो उच्च स्रोतले कान्तिपुरसँग भन्यो, ‘यो बीचमा उनीहरू अनेक छल, तिकडम, राजनीतिक पहुँच र प्रभावमा खेल्न थाले र सरकारी जग्गा हत्याए ।’ दुवैजना हाल फरार छन् । उनीहरूसँग जोडिएका कतिपय सरकारी अधिकारीसमेत अख्तियारले अनुसन्धान सुरु गरेपछि फरार छन् ।

०४९ सालमा सरकारले जफत भएको भन्ने व्याख्या गरी ललिता निवासको जग्गा केही राणा परिवारलाई फिर्ता गरेको थियो । रुक्मशमशेरहरूले जग्गा फिर्ता पाउँदा मोहीको लगतसहितको जग्गा पाएका थिए । मोहीहरूले पनि त्यही जग्गाको मोही प्रमाणपत्र माग गरिरहेका थिए । सुवर्णशमशेरका सन्तानले जग्गा फिर्ता पाएपछि त्यसमा जोडिएका मोहीलाई वञ्चित गर्नु हुँदैन भनेर तत्कालीन एमालेका केही नेता दौडधुपमा लागेको जानकारहरू बताउँछन् ।

‘उनीहरूले मोही संरक्षणको नारा लगाएर हिँडेका थिए, मोही दाबी गर्नेहरूले राणाहरूको भाग हामीलाई पनि चाहिन्छ भन्दै विभिन्न ठाउँमा दौडधुप बढाएका थिए,’ बालुवाटार जग्गाबारे जानकार राणा परिवारका एक सहयोगीले कान्तिपुरसँग भने, ‘लेखनदास रामकुमार सुवेदीले उनीहरूको लिखत र निवेदन तयार गर्थे ।’

मोहीहरूलाई त्यतिबेला शोभाकान्त ढकालले बोकेका थिए । जिल्ला अदालत काठमाडौंबाट ३३० नम्बरको लेखनदासको प्रमाणपत्र लिएका रामकुमार सुवेदी डिल्लीबजार मालपोतको पीपल चौतारामा बसेर घुँडामा नेपाली कागज राखी लेखापढी गर्थे । जग्गाको अनेक खेलमा लागेका ढकाल कामविशेषले मालपोत कार्यालय पुगेका थिए । त्यहाँ सुवेदीसँग भेट भयो । केहीबेरको कुराकानीमै ढकाल सुवेदीसँग घुलमिल भए । यसबारे अनुसन्धान गरिरहेको सीआईबी स्रोतका अनुसार कहाँनिर कसरी खेल्नुपर्छ भनेर ढकालले तत्काल चाल पाइहाले अनि रामकुमारलाई साथ लिएर अघि बढे ।

मुआब्जाबापतको रकम लिइसकेका रुक्मशमशेरहरूले सित्तैमा जग्गा पाएर दोहोरो लाभ लिएका थिए । मोही पनि जोडिएको लिखत भेटिएपछि उनीहरूमा लोभ पलायो । सामूहिक रूपमा मोही छुटाउनुपर्ने माग राखी भूमिसुधार कार्यालयमा निवेदन दिए । उनीहरूले मोही दाबी गर्नेहरूलाई त्यही जग्गामा मोहीको प्रमाणपत्र पाउनुपर्ने माग राखी भूमिसुधार कार्यालयमा सामूहिक निवेदन दिन लगाए ।
भूमिसुधारले राणा परिवारको नाममा फिर्ता भएको जग्गामा मोही कायम हुने निर्णय गरिदियो । रुक्मशमशेरहरू त्यसविरुद्ध पुनरावेदन अदालत पाटन गए । पुनरावेदनले पनि भूमिसुधारकै निर्णय सदर गरी मोही कायम हुने फैसला गरिदियो । त्यतिबेलासम्म ढकाल र सुवेदीले मोहीहरूलाई चेपुवामा पारिसकेका थिए । राणा परिवार नजिकका एक पूर्वप्रशासकको भनाइमा ‘तिमीहरूलाई राणाले सिध्याउँछन् र नाङ्गै हुन्छौ’ भनी धम्क्याएर मुद्दा जिताएबापत आधा सम्पत्ति आफूहरूलाई दिन दबाब दिए । सीआईबी स्रोतले भन्यो, ‘मुद्दा जितेमा आधा सम्पत्ति हामीलाई दिनुपर्छ भनी गराएको कागज भेटिएको छ ।’ ३७ जना मोहीबाट उनीहरूले करिब ३० रोपनी जग्गा हत्याए ।

कानुनी व्यवस्थाअनुसार जग्गाधनीको आधा भाग मोहीले पाउँथे । मोहीलाई करकापमा पारेका शोभाकान्त र रामकुमारहरूले मुद्दा जितेमा ‘आधा जग्गा आफूहरूलाई दिनुपर्ने’ लिखत गराएका थिए । पुनरावेदन अदालतको फैसलामा चित्त नबुझाई राणा परिवार निर्णय खारेजीको माग राखी सर्वोच्च अदालत गए । त्यसक्रममा भूलवश राणाहरूले तारिख टुटाए र सर्वोच्चमा विचाराधीन मुद्दा खारेज भयो । ललिता निवासको जग्गाबारे अनुसन्धान गरिरहेको एक स्रोतको भनाइमा ‘यति भइसकेपछि मोहीको भागमा पर्ने बाँकी जग्गासमेत उनीहरूले कौडीको भाउमा हत्याए ।’

शोभाकान्त र रामकुमारहरूले जग्गामा मोहीको विवाद टुंगो लाग्नुअघि नै राणा परिवारसँग रोपनीको १६ लाख रुपैयाँका दरले दिएर ‘बुकिङ’ गरेका थिए । मोहीहरूसँग रोपनीको १६ लाख रुपैयाँका दरले कागज गरेका थिए, मोहीले जितेको अवस्थामा त्यसको आधा मात्रै तिरे पुग्ने भएको थियो । स्रोतको भनाइमा ‘जसले जिते पनि आफ्नै भागमा पर्ने गरी उनीहरू खेलेको देखिन्छ ।’ कांग्रेस नेता सुवर्णशमशेरका जेठा छोरा कनकशमशेर हुन् । उनका छोरा हेमाद्रीशमशेरका साढुभाइ पर्छन् अमरशमशेर जबरा । उनी नेपालको पहिलो गभर्नर हिमायलशमशेरका छोरा हुन् । ‘खासै लाइन नलिएका’ भनेर छवि बनाएका उनको सम्पर्कमा भू–माफियाको उपाधि पाएका रामकुमार सुवेदी थिए ।

त्यसपछि चारजनाको समूह भयो । हेमाद्रीशमशेर, उनका साढुभाइ अमरशमशेर, शोभाकान्त ढकाल र रामकुमार सुवेदी मिलेर जग्गा फिर्ता पाएकाराणा परिवार र उनीहरूबाट भाग पाएका मोहीकोजग्गा उठाउने अनि धमाधम बेच्नका लागि बैना लिने काम गरे ।

ती पूर्वप्रशासकको भनाइमा ‘बेच्नेसँग कुरा छिन्न बाँकी भएकै अवस्थामा किन्नेलाई यो जग्गा हाम्रै हो भनेर बैना उठाउने काम भयो ।’ त्यतिबेला एक चर्चित जग्गा व्यापारीले पनि बालुवाटारको जग्गा खरिदमा निकै रुचि देखाएका थिए तर पटकपटक ‘डिल’ नमिलेपछि उनलेछाडेर हिँडे ।

उनीहरूले राणासँग रोपनीको १६ लाख अनि मोहीसँग रोपनीको ८ लाखका दरले जग्गा किने । मुद्दा मिलाएमा आधा आफ्नो भाग हुने भनेकाले मोहीले मोलको आधा रकम मात्रै हात पारे । त्यसको केही समयमै उनीहरूले विभिन्न व्यक्तिलाई त्यो जग्गा ८० लाख रुपैयाँ प्रतिरोपनीसम्ममा बेचे । यो करिब ०६० सालको कुरा हो ।

सूर्यनाथ उपाध्याय नेतृत्वको अख्तियारले राजस्वका २२ जना अधिकृतको घरमा एकसाथ छापा मारेर गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा कारबाही अघि बढाएको थियो । २२ भाइमध्येका भनेर चिनिने एक पात्र हुन्, डोलराज शर्मा ।

स्याङ्जाका यिनै डोलराज भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङका भित्रिया रहेको सीआईबी स्रोतले बतायो । पुर्ख्यौली स्याङ्जाकै रहेका ढकालले डोलराजमार्फत भाटभटेनीका मीनबहादुरसँग सम्बन्ध बढाए अनि मिलेमतो र साझेदारीमा जग्गा खरिदको काम भयो । त्यसक्रममा मीनबहादुरले रोपनीको एक करोडका दरले जग्गा किने । स्रोतको भनाइमा मीनबहादुरले केही कित्ता भने निकै सस्तोमा पाएका थिए ।

बालुवाटारबाट व्यक्तिको नाममा गएको मध्ये करिब २५ रोपनी जग्गा तीन परिवारको नाममा थियो । उक्त जग्गा भूमाफिया भनेर चिनिएका ढकाल, गुरुङ र उनीहरूको परिवारका नाममा फेला परेको थियो । व्यापारी गुरुङले आफ्नो परिवार र कम्पनीको नाममा समेत जग्गा खरिद गरेका छन् । बालुवाटारको सबैजसो किक्ताको खरिदबित्रीको ट्र्याक रेकर्डमा उनीहरूको नामजोडिएको देखिन्छ ।

बालुवाटारको जग्गा दुई चरणमा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको कागजातबाट देखिन्छ । पहिलो चरणमा प्रजातन्त्र स्थापनालगत्तै सुवर्णशमशेरको हरण भएको जग्गा फर्काउने नाममा अधिग्रहण भएको जग्गासमेत व्यक्तिका नाममा फिर्ता भएको थियो । दोस्रोपटक प्रधानमन्क्री निवास विस्तारका त्रममा मोही व्यवस्थापन गर्ने नाममा सार्वजनिक जग्गा व्यक्तिलाई दिइएको थियो । दुवैपटकको खेलमा डा. ढकालका साथै मालपोतका लेखनदासका रूपमा काम गर्ने कानुन व्यवसायी सुवेदी प्रयोग भएको स्रोतले बतायो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार, ‘यी दुईका साथमा व्यवसायी मीनबहादुर गुरुङ पनि सामेल भए, जसमाथि पूरै राजनीतिक साथ र भरथेग थियो ।’ गुरुङको नेकपाका अध्यक्षमध्येका एक पुष्पकमल दाहालसँग नजिकको सम्बन्ध छ ।

जग्गाधनीबाट सस्तो दरले खरिद गरेको जग्गा एक करोड रुपैयाँका दरले बेच्दा ढकाल र सुवेदीले निकै नाफा कमाइसकेका थिए । यही बीचमा भाटभटेनीबाट मीनबहादुर उदाए । मोहीको आधा जग्गा सित्तैमा लिएर बेच्दा ढकाल र सुवेदीले करिब सवा अर्ब रुपैयाँ कुम्ल्याएको अनुमान छ । त्यसपछि शोभाकान्तले कुमारी बैंकको सेयर खरिद गरे र सञ्चालकसमेत बने ।

यिनीहरूले त्यही रकमबाट कान्तिपथमा ५ रोपनीमा फैलिएको भवन खरिद गरे । प्रहरीका अनुसार सरकारले छानबिन अघि बढाएपछि ढकाल कुमारी बैंकको सञ्चालकबाट राजीनामा दिई फरार भएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्