२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

सिकार आरक्ष अतिक्रमणमा

प्रकाश बराल

बागलुङ — ढोरपाटन सिकार आरक्षले संरक्षित क्षेक्रको जमिनमा अतित्रमण भएको भन्दै ५ वर्षदेखि बर्सेनि घरटहरा हटाउने सूचना जारी गर्दै आएको छ । त्यस्तो सूचना हालैमात्र पनि प्रकाशित भएको छ । 

सिकार आरक्ष अतिक्रमणमा

आरक्षको जग्गा अतिक्रमण गरी बनेका भनिएका घरटहरा भने कसैले पनि हटाएका छैनन् । कहाँ, कसले, कति अतिक्रमण गरेको भन्ने यकिन नहुँदा स्थानीय पनि अनभिज्ञ छन् । अतिक्रमण गर्ने को हुन् भनेर यकिन नगरेकाले सूचनाले स्थानीय किसान त्रसित भएको शिक्षक चकबहादुर अदैले बताए ।


‘बर्सेनि बस्तीमा लगेर सूचना टाँसिन्छ तर व्यक्ति तोकिएको छैन,’ उनले भने, ‘सेना लगाएर हटाइन्छ भन्ने सूचनाले किसान डराएका छन् ।’ यहाँका किसानले भने वर्षौंदेखि आलु र स्याउ खेती गरेर जीवन निर्वाह गरिरहेका छन् ।

मुख्य कार्यालय बागलुङमा भए पनि आरक्ष रुकुम र म्याग्दी जिल्लासम्म फैलिएको छ ।


२०४७ को परिवर्तनपछि यहाँ अतिक्रमण बढेको आरक्षको ठहर छ । तीन वर्षयता सुरक्षार्थ सेना खटाइएकाले थप अतिक्रमण नभएको स्थिति छ । सेना आउनुअघिको अतिक्रमण हटाउने योजना जारी रहेको प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताइन् ।


आरक्ष कार्यालयको तथ्यांकमा ५५ बस्ती छेउको २ सय ४० हेक्टर जमिन गुमिसकेको छ । कार्यालयले तयार गरेको तथ्यांकअनुसार बागलुङमा सबैभन्दा धेरै १ सय ७७ हेक्टर, म्याग्दीमा ४० हेक्टर र रुकुममा १६ हेक्टर जग्गा अतिक्रमण भएको छ तर व्यक्तिगत रूपमा कसले कति भनेर नाम नतोक्दा सर्वसाधारण त्रसित भएको स्थानीय धनबहादुर कुमाईंले बताए ।


‘कसले कति अतिक्रमण गरेको भनिदिए सजिलो हुन्थ्यो,’ उनले भने, ‘वर्षौंदेखि आलु लगाएको जमिनलाई अतिक्रमण भनिदिए के गरेर खाने हो ?’ आरक्ष आसपासको जमिन अतिक्रमण भएको भन्दै केही वर्षअघि आरक्षले पर्खाल भत्काएको थियो ।


जमिन अतिक्रमण गर्नेले जंगली जनावरको सिकार गर्ने आरक्षको ठहर छ । ढोरपाटनमा सिकार गर्न पाउनेबाहेक दर्जनौं संरक्षित जनावर छन् । चोरी सिकारका घटना बढेपछि सेना खटाइएको थियो । ‘हामीले पटकपटक अझै पनि केही सिकारीहरू भेट्ने गर्छौं, केही पशुपक्षी मरेका भेट्छौंं,’ सेनाको हनुमानध्वन गुल्मपति रविजंग खड्काले भने, ‘हामीले सिकारी रुटहरूमा बढी निगरानी गरिरहेका छौं ।’


रेडपाण्डा ढोरपाटनको आकर्षण हो । सिकार गर्न नपाइने जीव चोरीसिकारमै परिरहेको छ । आरक्षले केही वर्षअघि रेडपाण्डाको गणना गर्दागर्दै छाडेपछि कति छन्, कति सिकार भए भन्ने यकिन नभएको प्रमुख संरक्षण अधिकृत सापकोटाले बताइन् ।


‘केही समयअघिको हिमपातले पनि धेरै पशुपक्षी मरेका छन्,’ उनले भनिन्, ‘आरक्षले यसअघि गरेका कामको अध्ययन गरेपछि सबै बताउन सकिन्छ ।’ ढोरपाटन साहसिक सिकारी पर्यटकको गन्तव्य हो । यहाँ हरेक वर्ष युरोप, अमेरिका र अस्ट्रेलियालगायतका सिकारी लाखौं रुपैयाँ राजस्व तिरेर नाउर र झारलको सिकार गर्न आउँछन् । २०३३ सालमा नेपाल सरकारले १ हजार ३ सय २५ वर्गकिमि क्षेत्रफललाई सिकारका लागि छुट्याएर आरक्षको स्थापना गरेको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७६ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?