१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सिंहदरबारमा बम पड्काउने योजना असफल भएपछि वार्ताको चर्चा ?

पहिलो, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा ठूलो विस्फोट गरी धक्का दिने । दोस्रो, विस्फोट र आगजनीका घटनाले राजनीतिक प्रचारलाई उचाइमा पुर्‍याउने
गंगा बीसी

नेत्रविक्रम चन्दको समूहले सिंहदबारको गेटमा सोमबार बिहानै ठूलो विस्फोट गराउने योजना विफल भयो । त्यो बम आत्मघाती ढंगले नपड्किएको भए सिंहदरबारको गेटमा विस्फोट गराउने तयारी थियो । योसँगै वार्ताको चर्चा फेरि सुरु भएको छ । चन्द समूहले हिंसा र अराजकता नत्यागेसम्म वार्ता नगर्ने सरकारको अडान औपचारिक रुपमा सार्वजनिक भइसकेको छ । 

सिंहदरबारमा बम पड्काउने योजना असफल भएपछि वार्ताको चर्चा ?

विशेषगरी सहर केन्द्रित हिंसामा लागेको चन्द समूहले नेपाल बन्दको घोषणासँगै ठूलो विस्फोट गरी सिंहदबारलाई कम्पन गर्ने तयारीमा थियो । चन्द समूहका एक उच्च नेताका अनुसार सिंहदरबार उत्तरी गेट नजिकै एक निजी घरमा बम बनाउँदै गर्दा विस्फोट नभएको भए, सिंहदबारको पर्खालमा पड्काउने योजना थियो । अर्को बम नेकपा मुख्यालय नजिक सुकेधारमा पड्किएको थियो ।

त्यो बम नेकपा मुख्यालय केन्द्रित भएको थियो । आफ्नै विस्फोटमा परी चारजना कार्यकर्ताको मृत्यु भएको थियो ।

त्यसबाट चन्द समूहले दुई राजनीतिक फाइदा हेरेको थियो– पहिलो, देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको गेटमा ठूलो विस्फोट गरी धक्का दिने । दोस्रो, विस्फोट र आगजनीका घटनाले राजनीतिक प्रचारलाई उचाइमा पुर्‍याउने ।

यी दुवैले राजनीतिक शक्ति बढ्ने चन्द समूहको बुझाइ थियो । भोजपुरमा प्रहरीले गोली हानी एक कार्यकर्ताको हत्या गरेको भन्दै सुसुप्त रहेको चन्द समूहले देशव्यापी विस्फोट र आगजनीका श्रृंखला चलायो ।

सरकारले चन्द समूहका राजनीतिक गतिविधिलाई प्रतिबन्ध लगाए पनि उक्त समूह खासगरी सहर केन्द्रित भूमिगत गतिविधि गरिरहेको छ । यसबारे सरकारलाई जानकारी भएपनि विस्फोट, आगजनी भएपछि तात्ने उसको पुरानै बानी हो ।

यही सन्दर्भमा गृहमन्त्री रामबहादुर थापाले चन्द समूहले सशस्त्र सेना बनाउने जानकारी संसदमा जानकारी दिएर विद्रोहीको मान्यता दिए । चन्द समूहसँग सेना र हतियार भएको गृहमन्त्रीले पुष्टि गरेपछि समस्या घट्ने होइन, बढ्ने देखिन्छ । अब सरकारले चन्द समूहलाई नियन्त्रण गर्न हतियारसहित सुरक्षा निकाय परिचालन बढाउनुपर्ने हुन्छ । त्यसो गर्दा कतिपय स्थानमा अनावश्यक प्रहरी दमन हुन्छ । अनावश्यक प्रहरी दमनले सर्वसाधारण पीडित भए पनि विद्रोहको जन्म त्यहीबाट हुने खतरा हुन्छ ।

गृहमन्त्री थापा पूर्व विद्राहीको नेता भएको हुनाले चन्द समूहको गतिविधिबारे राम्रो जानकार छन् । उनले बल प्रयोग नगरी समस्या समाधान नहुने अवस्था देखे भने समस्या अझ बढ्न सक्ने छ । वार्ताका लागि सहजीकरण कसरी गर्ने भन्नेबारे सरकारले पछिल्लो समय देखावटी हल्ला मात्र गरेको देखिन्छ ।

स्रोतका अनुसार नेकपा केही नेताले चन्द समूहका नेताहरुसँग अनौपचारिक रुपमा कुराकानी गरिरहेका छन् । योसँगै सरकारले चन्द समूहका कार्यकर्तालाई देशव्यापी गिरफ्तार गरिरहेको छ । यही अवस्थामा वार्ताको वातावरण बन्ने अवस्था छैन । सरकार झुकाउन खोज्ने, चन्द समूह नझुक्ने अवस्थामा वार्ताको ढोका खुल्न समस्या हुनेछ । नेकपाका नेता जनार्दन शर्माले वार्ताको लागि वातावरण बने आफू सहजीकरण गर्ने बताएका छन् । सरकारले गठन गरेको वार्ता टोलीले चन्द समूहसँग औपचारिक वार्ता गर्न सकेन ।

राजनीतिकशास्त्रका प्राध्यापक खड्ग केसीले चन्द समूहका गतिविधि बढ्दै गए गणतान्त्रिक व्यवस्थामा असर पर्ने भन्दै वार्ता सहजीकरण टिम अघि सर्नुपर्ने बताए । ‘यो अवस्थामा दुवै पक्षबीच तुरुन्तै वार्ता हुन सक्दैन’ उनले भने, ‘त्यसका लागि सहजीकरण टिम आवश्यक पर्छ ।’

चन्द समूहले यही गणतान्त्रिक व्यवस्थामा सुशासनसहित समृद्धि खोज्नु पर्ने उनको सुझाव छ । ‘बेलैमा वार्ता भएन भने समस्या झन् बढ्न सक्छ । गणतन्क्र विरोधी शत्तिलाई फाइदा पुग्न सक्छ’ उनको भनाइ छ ।

वार्ताबाट समस्या समाधान गर्न यतिबेला नागरिक समाज जाग्नु पर्ने उनको बुझाइ छ । ‘समस्याको समाधान वार्ताबाटै खोज्ने गरी दबाब आवश्यक छ’ उनले भने, ‘अब द्वन्द्वतिर लाने काम कसैले गर्नुहुँदैन ।’

नेकपा महासचिब चन्दले यो अवस्थामा परिणामुखी वार्ता नहुने भन्दै वातावरण बनाउन सरकारलाई भनेका छन् । ‘वार्तालाई ठिक ढंगले प्रयोग गर्न सकिएन भने परिणाम जनताले चाहे अनुसार नआउने हुन्छ’ उनले जेठ पहिलो साता इरातोखबर डट कमसँगको अन्तर्वातामा भनेका छन्, ‘हामीले परिणामुखी वार्ता आवश्यकता हुन्छ । वार्ताको भ्रममा दमन गर्ने सोचेको छ , यसरी वार्ता सम्भव छैन ।’ उनले वार्ता सजिलै नहुने तर्क गरेका छन् ।

‘निरपक्ष वार्ता हुँदैन भन्ने होइन, सजिलै भइहाल्छ भन्ने पनि होइन । संघर्ष भएपछि, विद्रोह, युद्ध भएपछि वार्ताको कुरा हुन्छ । वार्ता पनि राजनीतिकै एउटा भाग हो’ उनले भूमिगत अवस्थामा दिएको अन्तर्वार्तामा भनेका छन् । चन्द समूहका अधिकांश नेता तथा कार्यकर्ता हाल भूमिगत छन् ।

ट्वीटर @gangabc

प्रकाशित : जेष्ठ १४, २०७६ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?