३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

एसएसबीको पोस्ट हटाइयो

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुस्तामा दशगजा मिचेर भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले निर्माण गरेको अस्थायी पोस्ट हटाइएको छ । एसएसबीका कमान्डरसँग छलफलपछि पोस्ट हटाइएको सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राईले बताए । 

सुस्ता गाउँपालिका–५, बलिनगरस्थित दशगजाको बीच भागमा बनाइएको उक्त सुरक्षा पोस्टबाट एसएसबीले चेकजाँच गर्दै आएको थियो । एसएसबीले सीमा मिचेको स्थानीयले जानकारी गराएपछि जिल्लाका सुरक्षा प्रमुखले स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणलगत्तै पोस्ट हटाउन सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर २६ ले भारतीय एसएसबीसँग छलफल गरेको थियो । लामो समयदेखि अस्थायी पोस्ट निर्माण गरी एसएसबीले नेपाली भूभागमा हतियारसहित चेकजाँच गर्दै आएको थियो ।


पोस्टअगाडिको नेपाली भूभागमा बसेर हतियारसहित उनीहरूले चेकजाँच गर्ने गरेका थिए । ‘दशगजा मिचेर कुनै पनि राष्ट्रले संरचना निर्माण गर्न पाइँदैन,’ सशस्त्र प्रहरी उपरीक्षक राईले भने, ‘अन्तर्राष्ट्रिय कानुनविपरीत भएकाले दुवै देशका सुरक्षा प्रमुखले छलफल गरेर पोस्ट हटाएका हौं । लगातारको दबाबपछि एसएसबी पोस्ट हटाउन बाध्य भयो ।’


नवलपरासीमा सशस्त्र प्रहरीका तीनवटा ठूला पोस्ट र नौवटा बोर्डर आउट पोस्ट (बीओपी) छन् । २८ किलोमिटर सिमाना जोडिएको उत्तर प्रदेशमा भारतीय सुरक्षाकर्मीका ३० अस्थायी पोस्ट रहेका छन् । जिल्लास्थित सिमानामा १६ वटा स्तम्भ छन् । जिल्लाको सनहीदेखि कुडियासम्म १६ वटा सीमा स्तम्भ भए पनि सुस्ताको २४ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ नै छैन । स्तम्भ नभएका ठाउँमा खोला, रूख वा अन्य जैविक कुराको भर पर्दा सीमावर्तीका नागरिकबीच पटक–पटक विवाद हुने गरेको छ । यसरी सीमा स्तम्भ नभएको क्षेत्रमा भारतीय पक्षले निर्वाचन र चोरी निकासीको बहाना बनाउँदै अस्थायी पोस्ट राख्ने गरेको छ ।


नेपाल–भारतको विवादित भूमिमा एउटा सिमलको रूखलाई आधार मानिँदै आइएको छ । उक्त स्थानमा सीमास्तम्भ निर्माणका लागि विवाद समाधान हुनुपर्ने भए पनि वर्षौंदेखि विवादका कारण स्तम्भ निर्माण हुन सकेको छैन । सीमा स्तम्भ भएको क्षेत्रमा विवाद नभए पनि सुस्तामा भने स्तम्भ नहुँदा समय–समयमा सीमावर्ती स्थानीयबीच विवाद हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?