क्यान्सर अस्पतालमा जनशक्ति अभाव

रूपा गहतराज

नेपालगन्ज — मध्य तथा सुदूरपश्चिमका बिरामीलाई सेवा दिन पोहोरदेखि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालनमा छ तर जनशक्ति अभाव भन्दै अस्पतालले बिरामीलाई काठमाडौं र भरतपुर जाने सल्लाह दिने गरेको छ । 

भौतिक पूर्वाधार सुविधासम्पन्न भए पनि अस्पतालका विभाग अझै पूर्णरूपमा सञ्चालनमा आइसकेका छैनन् । ‘पर्याप्त जनशक्ति नभएकाले अपेक्षित सेवा दिन सकेका छैनौं,’ अस्पताल प्रमुख डा. विश्वराम पौडेलले भने, ‘रोग पत्ता लगाउनेदेखि सम्भव भएसम्मका उपचारका विभिन्न फ्रक्रिया छन् । जनशत्ति नै नहुँदा सामान्य प्रकारको सेवा दिनुबाहेक अरू हामीले गर्न सकेका छैनौं ।’

अस्पताले सामान्य बिरामीको मात्र हेरचाह गर्दै आएको छ । रोग पत्ता लगाउन नसक्ने भएपछि यहाँ आएका बिरामी काठमाडौं र चितवनको भरतपुर जान बाध्य छन् । ‘क्यान्सर रोग पत्ता लगाउने प्रविधि छ,’ उनले भने, ‘तर जनशक्ति छैन । जसले पूर्णरूपमा सेवा दिन सकिएको छैन ।’ अस्पतालमा दैनिक २० देखि २५ जनासम्म बिरामी आउँछन् । अन्तै परीक्षणपछि नियमित औषधि सेवन गर्ने बिरामी यहाँ आउने अस्पतालले जनाएको छ ।

राप्तीसोनारी गाउँपालिकाकी लालुमाया मगर ज्वरोसँगै खोकी र पिसाबमा रगत देखिएपछि आत्तिइन् । चेकजाँचका लागि अस्पताल पुगिन् तर रोग पत्ता लागेन । उनलाई यहाँका चिकित्सकले काठमाडौं वा चितवन जान सुझाए । ‘अस्पताल खुल्यो भनेर उपचार लिन आएका थियौं,’ उनले भनिन्, ‘यहाँ त रोग नै पत्ता लाग्न सकेन ।’ उनीजस्तै पश्चिम नेपालका बासिन्दा क्यान्सर परीक्षणका लागि उक्त अस्पताल आए पनि सेवा नलिई फर्कनुपर्ने अवस्था छ । घाँटीको समस्या लिएर अस्पताल आएकी स्थानीय तुलसा सुनार पनि सामान्य चिकित्सकको सल्लाह लिएर फर्किइन् ।

यहाँ पूर्ण सेवा दिन दुई सयजना स्वास्थ्यकर्मी हुनुपर्ने अस्पतालका निर्देशक पौडेलले बताए । क्यान्सर रोग पत्ता लगाउन ३० जना विशेषज्ञ चिकित्सक चाहिन्छन् । अहिले एकजना विशेषज्ञ चिकित्सक छन्, ती पौडेल आफैं हुन् । ‘एफएलएसी र बायोप्सी विधिबाट क्यान्सर रोग पत्ता लगाउन सकिन्छ,’ उनले भने, ‘यसका लागि पर्याप्त जनशक्ति चाहिन्छ ।’

क्यान्सर रोगको उपचार पाइने आशामा रहेका यस क्षेत्रका सर्वसाधारण अस्पतालमा रोग पत्ता लाग्न नसक्दा चिन्तित छन् । करिब ४० करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको अस्पतालबाट प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लाका बिरामीलाई सेवा मिल्ने विश्वास थियो ।

यस क्षेत्रमा स्तन, पाठेघर र फोक्सोको क्यान्सरका बिरामी बढी भेटिएको अस्पतालले जनाएको छ । अस्पताल प्रस्तावित सय शय्याको हो । अहिले ६० जनासम्म बिरामी भर्ना गर्न सक्ने अवस्था छ । एक दशकअघि प्रखर परोपकार मिसनले धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित ५ करोड २६ लाख र संस्थाको ३ करोड २६ लाख रुपैयाँमा नेपाल क्यान्सर अस्पतालका नाममा पूर्वाधार निर्माणको काम थालेको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

न्यायका लागि संघर्ष गर्दै एकमाया

रूपा गहतराज

नेपालगन्ज — कुनै समय एकमाया विक आफैं पीडामा थिइन् । राज्यका लागि बलिदान दिनेका आफन्त नै राज्यविहीन बन्नुपर्ने अवस्था सिर्जना भयो । द्वन्द्वपीडितका लागि न्याय खोज्न सरकारको ढोकामा पुग्दा अपमानित हुनुपर्‍यो ।

समयले जिम्मेवारी थपिदियो । एकल महिलाका पीडालाई कम गर्ने अभियान थालिन् । अहिले उनै एकमाया विक द्वन्द्वपीडित मात्र होइन, सबैलाई न्याय सम्पादनको जिम्मेवारीमा पुगेकी छन् । बाँके खजुरा गाउँपालिकाकी उपाध्यक्ष उनले न्यायिक समितिको नेतृत्व गरेर थुप्रैलाई न्याय दिइसकेकी छन् ।

द्वन्द्वपीडितलाई राज्यले नै पीडित बनाएको ठहर उनको छ । ‘जुन पार्टी सरकारमा गयो, उसले नै विभेद गर्‍यो, सम्मान दिनुपर्ने ठाउँमा अपमान भोग्नुपर्‍यो पीडितले,’ उनले भनिन्, ‘समान द्वन्द्वपीडितलाई राज्यले अलग–अलग व्यवहार गरेर थप पीडित बनाएको छ ।’

अहिले सरकारकै प्रतिनिधित्व गर्दै न्याय दिने स्थानमा पुगेकी एकमायाले न्यायिक समितिको अधिकारले दिएसम्म नागरिक अधिकारमा कुनै विभेद नगर्ने संकल्प गरेको बताइन् । ‘द्वन्द्वपीडितलाई न्याय दिने कुरामा स्थानीय तह, प्रदेश वा केन्द्र सरकारसँग अधिकारको बाँडफाँटमा मेरो चासो छ,’ उनले भनिन्, ‘त्यसका लागि कसैसँग कुनै सम्झौता गर्दिनँ, बरु एक्लै संघर्ष गर्छु ।’ एकमाया सजिलै उपाध्यक्षको जिम्मेवारीमा पुगेकी होइनन् ।

सशस्क्र द्वन्द्वका त्रममा उनका प्रहरी पति भिडन्तमा मारिए । खजुरा गाउँवरपर राज्य र विद्रोही माओवादीबाट पीडित महिलाहरू प्रशस्तै देखेपछि उनले संगठित गर्ने योजना बुनिन् । उनीहरूका लागि आय आर्जनको बाटो खोजिन् । ‘धेरै संघर्ष गरेर यहाँसम्म आएकी हुँ,’ उनले भनिन्, ‘मैल पाएको अवसर द्वन्द्वपीडित एकल महिलाको अवसर हो भन्ने ठानेकी छु ।’

रुँदै कराउँदै संगठित भएर अहिलेको स्थितिसम्म आएको उनले बताइन् । उनको संघर्ष र कार्यशैलीले द्वन्द्वपीडित समुदायको मनोबलसमेत बताएको छ । उनले बाँकेमा पहिलोपल्ट राज्य र विद्रोही माओवादीबाट पीडित एकल महिलालाई एकै ठाउँ ल्याउने अभियान सुरु गरेकी थिइन् ।

प्रेमपछिको विवाह १० वर्षमै अन्त्य हुँदा उनको जीवनमा जुन पीडा थियो, अहिले बिस्तारै आफूजस्तै पीडामा परेकालाई मलहम लगाउन सक्दा गर्व गर्छिन् र पीडा भुल्ने प्रयास गर्छिन् । उनी सन्जालमा सचिवदेखि उपाध्यक्ष हुँदै अध्यक्ष पदसम्म पुगिन् ।

‘हाम्रा सवाललाई राजनीतिले मात्र सम्बोधन गर्न सक्छ भन्ने लागेर राजनीतिमा होमिएँ,’ उनले थपिन्, ‘सामाजिक अभियानबाट राजनीतिमा लागेर यहाँसम्म आइपुगें ।’ संघर्षपछि सहज जीवनयापन गर्न धैर्य राख्नुपर्ने उनले बताइन् ।

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्