१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कागजमा जग्गैजग्गा, कहाँ छ पत्तो छैन

खोज्दै खाद्य संस्थानका कर्मचारी 
आनन्द गौतम

ताप्लेजुङ — नेपाल खाद्य संस्थान जग्गाको हिसाबले सबैभन्दा धनी छ । गाउँदेखि सहरसम्म जग्गैजग्गा छ तर संस्थाको नाममा रहेको जग्गा कहाँ छ, पत्तो छैन । कागजी स्रेस्ताअनुसार मालपोतमा राजस्व बुझाउने काम भने खाद्य संस्थाको जिल्ला कार्यालयले गर्दै आएको छ ।

जिल्ला मालपोत कार्यालयको तथ्यांकअनुसार सदरमुकाम फुङलिङमा मात्रै ३ रोपनी १ आना २ पैसा १ दाम जग्गा छ । यहाँ खाद्य संस्थानको गोदाम घर र कार्यालय पनि छ । भवनको माथिल्लोपट्टि राजमार्गसम्मै खाली जग्गा छ ।


यहाँ कर्मचारीले बेलाबेलामा मकै लगाउने गरेका छन् । १५७५ नम्बरको एउटै कित्ता रहेको स्रेस्तामा उल्लेख छ ।

मैवा खोला गाउँपालिकामा २ वटा कित्ता छन् । ३७१ कित्ताको २ रोपनी १४ आना ३ पैसा २ दाम र ३६९ नम्बरको कित्तामा ११ आना ३ पैसा ३ दाम जग्गा रहेको कार्यालयले जनाएको छ ।


सबैभन्दा बढी जग्गा आठराई त्रिवेणी गाउँपालिका ३ हाङपाङमा छ । यहाँ ६ कित्ता जग्गा रहेको खाद्यले जनायो । ७८ नम्बर कित्तामा १४ रोपनी १३ आना २ दाम, २१३ नम्बर कित्तामा ९ रोपनी १ दाम २ पैसा, २१४ नम्बर कित्तामा ५ रोपनी ९ आना, ८९ नम्बर कित्तामा १२ रोपनी ८ आना २ पैसा २ दाम, ११५ नम्बर कित्तामा ११ रोपनी १५ आना ३ पैसा २ दाम र ४४२ नम्बर कित्तामा ११ रोपनी १४ आना ३ पैसा जग्गा रहेको स्रेस्तामा उल्लेख छ ।


यो गाउँपालिकाभरमा मात्रै ६५ रोपनी जग्गा भएको कार्यालयलाई पूर्ण जग्गाको विवरण भने पत्तो छैन । ‘म सरुवा भएर आएपछि जग्गा कहाँ छ र कसले भोगचलन गरिरहेको छ भनेर खोजी सुरु गरेकी छु,’ कार्यालय प्रमुख तुलमाया लुंवाले भनिन्, ‘अहिलेसम्म सदरमुकाम बाहिर हाङपाङ र सावादिनको केही जग्गा पत्ता लागेको छ ।’ बाँकी खोजी भइरहेको उनले बताइन् । यसअघिका कार्यालय प्रमुखले मालपोतमा तिरो तिर्ने काम मात्रै गर्दै आएका थिए ।

लुंवाका अनुसार जसको जग्गा खाद्यको नाममा आएको हो उसैले भोगचलन गर्दै आएको पाइएको छ । लुंवा आफू पनि स्थलगत रूपमै हेर्न सबैतिर नपुगेको तर कसले उपभोग गरेको छ भनेर खोजी गरेको बताउँछिन् । खाद्य राष्ट्रिय आपूर्ति कम्पनीमा रूपान्तरण भएपछि जग्गाको खोजीलाई तीव्रता दिएको हो ।


सप्तरी सरुवा भएर गएका यसअघिका कार्यालय प्रमुखले जग्गा हेर्न जाँदा नापी नै लिएर जानुपर्ने तर त्यो आदेश माथिबाट नभएकाले तिरोमात्रै तिर्ने गरेको बताउने गरेका थिए । खाद्यको जग्गा फक्तालुङ गाउँपालिकाको वडा ३ लिङखिमको सिंवा बजारमा २ आना ४ पैसा २ दाम देखिएको छ ।


यहाँ पहिला खाद्यको गोदाम र कार्यालय पनि थियो । यो जग्गामा भवन पनि छ । तर हेरचाह र स्याहार सम्भार नहुँदा जीर्ण अवस्थामा छ । खाद्यले सदरमुकाम बाहिरका सबै कार्यालय बन्द गरिसकेको छ । वडा १ खेजेनिममा चार कित्ता जग्गा छ ।


६८ नम्बर कित्तामा २४ रोपनी ८ आना ३१ पैसा, ७५ नम्बर कित्तामा ३ रोपनी १ आना २ दाम ३ पैसा, ३३६ नम्बर कित्तामा ४ रोपनी ६ आना ३ पैसा २ दाम र १३४ नम्बर कित्तामा ११ रोपनी २ आना जग्गा रहेको स्रेस्तामा उल्लेख छ ।


जिल्लामा यातायातको सुविधा हुनुअघिसम्म खाद्यले मात्रै चामल ल्याउने र ठेकदारमार्फत बिक्री गर्ने गरेका थिए । ठेक्का लिनुअघि ठेकदारले खाद्यान्नमा आफ्नो जग्गा धितो राख्नुपर्थ्यो । त्यही धितो राखेको जग्गा उकास्न नसकेपछि धेरै लिलाम गरिएको कर्मचारी बताउँछन् । लिलाम गरेपछि कर्मचारी ती जग्गा हेर्न भने गएका छैनन् ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?