ऊन ल्याउँदै खुल्यो तातोपानी नाका

दुवै देशका अधिकारीबाट मितेरी पुलमा औपचारिक घोषणा
अनिश तिवारी

तातोपानी (सिन्धुपाल्चोक) — भूकम्प लगत्तै बन्द भएको उत्तरी तातोपानी नाका चारवर्षपछि निर्माणाधिन् मितेरी पुलबाट चारवटा कन्टेनरसहित ऊन ल्याउँदै सञ्चालनमा आएको छ । बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, सांसद्वय र चीनका वाणिज्य उपमन्त्री झाङ जि वइन, राजदूतसहितको दुवै देशको उच्च अधिकारीले संयुक्त रुपमा रिबन काट्दै चारवटा कन्टेनरमा ऊन लोड गरेर नाका खुलेको औपचारिक घोषणा गरे । 

ऊन ल्याउँदै खुल्यो तातोपानी नाका

‘दुवै देशको हितार्थ तातोपानी नाका आजबाट खोलिएको छ, चिनियाँ राष्ट्रपति सि चिन फिङको सन्देश सुनाउँदै अमर मित्रताको कामना गर्छु,’ चिनियाँ उपमन्त्री झाङ जि वइनले भने । नेपाल चिनको मित्रता अमर राख्ने कामना गर्दै नाका सुचारु गरिएको उनले सुनाए ।


‘नाका खुल्नाले दुवै देशको समृद्धीमा ठूलो सहयोग पुग्नेछ, दुवै देशको सम्बन्ध झनै समुधुर बन्नेछ,’उनले भने । तातोपानी नाका खुल्दा नेपाललाई ठूलो सहयोग पुगेको बताउँदै उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री यादवले चीनका उच्च स्तरिय टोलीलाई मुरी धन्यवाद दिए । ‘नेपाल र चीनको सम्बन्ध गहिरो छ, यही व्यवसाय व्यापारमा सिमित मात्रै होइन्,’उनले भने । उनले दुवै देशको सम्बन्ध कुटनीति, राजनीतिक, साँस्कृतिक मात्रै नभइ जनताबीच समेत रहेको बताए ।


सोमबार (नेपाल/चीन )पास प्रक्रिया पुरा गरेर खासा गएका कन्टेनर र दश जना लोडर नाका चलेको संकेत दिँदै ऊन लिएर बुधबार नेपाल फर्किएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताए ।


‘हालैलाई यही ऊनबाट नाका फर्किएको छ, पुनः सामाग्री ल्याउन स्थायी रुपमा लैजान भने अझै केही समय चीन पक्षले मागेको छ, ’ खासामा चीन र नेपालबीचको आन्तरिक छलफलबारे सुनाउँदै पौडेलले भने ।


नाका खुलेको हर्षमा स्थानीयले मितेरी पुलको नेपाल चीन बिचको क्षेत्रमा भव्य स्वागत गर्दै जनप्रतिनिधिलाई सम्मान गरेको उनले प्रष्ट्याए । चीन सरकारले तयार पारेको अत्याधुनिक सुक्खा बन्दरगाह, कोदारी राजमार्गदेखि निर्माणाधीन मितेरी पुल हस्तान्तरण गरेको छैन । ‘दसैंताका व्यापार पहिलेजस्तै सञ्चालनमा आउने चिनियाँ पक्षको भनाइ छ,’उनले भने ।


चीनपट्टी अझै पूरा तैयार भइनसकेकाले हालै औपचारिक रुपमा नाका खोलेपनि सामाग्री आयात निर्यात गर्न केही कठिनाइ बनेको छ । सोमबार तातोपानी क्षेत्रको निरीक्षणमा पुगेकी नेपालको लागि चिनिया राजदूत होउ याङ छिले सुरुवातीमा यही समस्या पोख्दै मालवाहक सवारी मात्रै आउजाउ हुने बताएकी थिइन् ।


तातोपानी भन्सारमा फर्किए कर्मचारी

नाका खुल्ने निश्चत भइसकेपछि तातोपानी भन्सारमा ५५ जनामा नौ जना , क्वारेन्टाइनको ५ जनामा ३ जना र अध्यागमन कार्यालयको १५ जनामा ८ जना आइसकेका छन् ।


‘नाकामा ‘पास सिस्टम’ र अन्य कार्यभार व्यवस्थित बनाउन कर्मचारी सबै फर्किसकेका छन्,’ भोटेकोसी गाउँपालिका वडा २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले भने । आहिले मालवाहक सवारीसाधन मात्रै आउजाउ हुने सहमती भएपनि पछि स्थानीय र व्यवसायीलाई हुनेगरी पास व्यवस्थित बनाइने योजना रहेको उनले प्रष्ट्याए ।

प्रकाशित : जेष्ठ १५, २०७६ १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?