१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

मुग्लिन पुल आजदेखि दैनिक १० घण्टा बन्द

हरिराम उप्रेती

गोरखा — मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको छ ।

मुग्लिन पुल आजदेखि दैनिक १० घण्टा बन्द

पुरानो पुलको विकल्पमा निर्मित ‘आर्क ब्रिज’ सञ्चालनका लागि नदीको वारिपारि दुवैतर्फ सडक सतह कटिङ गरी टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्नुपर्ने भएकाले आवागमनको समय निश्चित गरिएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ ललितपुरका योजना प्रमुख अंगलाल रोकायाले बताए ।

उनका अनुसार बिहीबारदेखि १५ दिनसम्म दैनिक राति ९ देखि २ बजेसम्म र दिउँसो ११ देखि ३ बजेसम्म सडकमा आवागमन अवरुद्घ रहनेछ । दिनको समयमा सकेसम्म यात्रुलाई मर्का नपर्ने तवरले सवारी छाड्ने तयारी भएको उनले बताए । ‘केही भाग कटान गर्नुपर्नेछ । ढुंगा झरेर गाडीहरूलाई लाग्ला भनेर सचेत गराउन सूचना जारी गरेका हौं,’ उनले भने, ‘समय निश्चित गरिएपछि यात्रुहरू पनि सोहीअनुसार तयारी गरेर यात्रा गर्छन् ।’


निर्माण सम्पन्न भएको पुललाई सडकसँग जोड्ने काममात्र बाँकी रहेको उनले बताए । ‘दुवैतर्फ सडक दुई मिटर डाउन गर्ने र कालोपत्रेको गर्ने हो,’ उनले भने । सबै काम सकेर असार दोस्रो साताबाट पुल सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । १२ करोड लागतको पुल निर्माणको जिम्मा एलाइट एडभेञ्चर लोहनी जेभीले पाएको थियो ।


‘नयाँ डिजाइनमा बनेको पुल हो । यसको आयु ७० वर्षको हुन्छ,’ प्रमुख रोकायाले भने, ‘यसमा गाडी गुडदा भाइब्रेसन पनि आउँदैन ।’ फुटपाथसहित ११ मिटर चौडा पुल ७.५ मिटरमा गाडी गुड्ने गरी डबल लेनको छ । पुलको लम्बाइ १ सय ६० मिटर छ ।


२०७१ बाट निर्माण सुरु भएको पुल सम्झौताअनुसार गत असारमै निर्माण सम्पन्न हुनुपर्ने थियो । पछिल्लोपटक गत वैशाखबाटै सञ्चालनमा ल्याइने भनिए पनि केही प्राविधिक कारणले ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि मोतीलाल शर्माले बताए । ‘ठूलो नदी र अग्लोमा काम गर्न कामदार पनि डराए,’ उनले भने, ‘आउँछन्, भाग्छन्, कामदार चेन्ज हुने समस्या निर्माण सम्पन्न हुँदासम्म खेप्नुपर्‍यो ।’


निश्चित समयावधिका लागि उक्त खण्ड बन्द भएपछि गण्डकी प्रदेशको राजधानी पोखरासँगै १० जिल्लामा आउजाउ गर्ने यात्रु समस्यामा पर्नेछन् । हाल सञ्चालनमा रहेको पुरानो पुल निकै जीर्ण बनेपछि नयाँ प्रविधिको ‘आर्क ब्रिज’ निर्माण भएको हो । नयाँ पुल सञ्चालनमा आएसँगै पुरानो पुल विस्थापित हुनेछ । पुलले चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकालाई जोड्छ ।

प्रकाशित : जेष्ठ १६, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?