१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

मोदीको शपथमा ओली

ओली-मोदी भेट शुक्रबार
सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सरिक भएका छन् । समारोहमा सहभागी हुन ओली अपराहन दिल्ली आइपुगेका थिए ।

कार्यक्रममा बिमस्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख, मोरिससका प्रधानमन्त्री, किर्गिस्तानका राष्ट्रपतिलगायत विशिष्ट पाहुनाको उपस्थिति थियो । शपथग्रहण समारोहमा करिब ६ हजार पाहुनालाई निम्तो गरिएको थियो । 

मोदीको शपथमा ओली

प्रधानमन्त्री ओलीले शपथग्रहण समारोहपछि भारतीय राष्ट्रपति रामनाथ कोविन्द र बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग संक्षिप्त भेट गरेका छन् । त्यसपछि उनी राष्ट्रपति कार्यालयमै आयोजित रात्रिभोजमा सरिक भए ।


प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शिष्टाचार भेटवार्ता भने शुक्रबार बिहानका लागि तय भएको छ । स्रोतका अनुसार बिहानको नास्ता खाने गरी हैदराबाद हाउसमा हुने उक्त भेटवार्ता करिब आधा घण्टाको हुनेछ । भेटवार्ता द्विपक्षीय मुद्दामा भन्दा पनि नेपाल-भारत सम्बन्धका समग्र आयाममा केन्दि्रत हुने बताइएको छ । स्रोतका अनुसार प्रम ओलीले सोही भेटमा भारतका नवनियुक्त प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिनेछन् ।


डेढ वर्षअघि दोस्रोपटक प्रधानमन्त्री भएपछि ओलीको यो दोस्रो भारत भ्रमण हो । यसअघि २०७४ चैतमा उनले भारतको औपचारिक भ्रमण गरेका थिए । उक्त भ्रमणले नेपाल-भारत सम्बन्धमा देखिएको अविश्वास र तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो । ओलीको भ्रमणलगत्तै मोदीले पनि नेपाल भ्रमण गरेका थिए । पछि काठमाडौंमा भएको बिमस्टेक चौथो शिखर सम्मेलनमा समेत मोदी सहभागी भएका थिए । यी दुईपक्षीय भ्रमणले मोदी र ओलीबीचको सम्बन्धमा उचाइ थपेका थिए ।


बिमस्टेक सम्मेलनलगत्तै पुणेमा सम्पन्न बिमस्टेक राष्ट्रहरूको संयुक्त सैन्य अभ्यासमा अन्तिम समय नेपाल सहभागी नभएपछि मोदी र ओलीबीचको सम्बन्धमा पुनः दरार देखिन पुग्यो । त्यसलगत्तै नेपालले तेस्रो मुलुक व्यापारका लागि उत्तरी छिमेकी चीनसँग पारवहन सम्झौतासँगै बीआरआई परियोजनाप्रति पूर्ण समर्थन जनाएपछि दिल्लीले नेपाल चीनसँग नजिक हुँदै गएको विश्लेषण गरिरहेको थियो ।


मोदी र ओलीबीच शुक्रबार बिहान हुने भेटले दिल्लीको नेपालप्रतिको त्यस किसिमको शंका निवारण गर्न र दुई प्रधानमन्त्रीबीच आपसी विश्वास कायम गराउन केही हदसम्म सघाउने अपेक्षा दुवै पक्षले गरेका छन् ।


नेपाल वायुसेवा निगमको नियमित उडानबाट अपराहन ३ बजे दिल्ली ओर्लिएका ओलीलाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका सचिव -पश्चिम) ए. गितेश शर्माले स्वागत गरेका थिए । ओलीलाई स्वागत गर्न नेपाली राजदूत नीलाम्बर आचार्य र नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत पुगेका थिए ।


प्रधानमन्त्रीको टोलीमा श्रीमती राधिका शाक्यका अतिरिक्त प्रमुख परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र परराष्ट्र सचिव शंकरदास बैरागीसहित उच्च अधिकारी छन् । ओली डिप्लोमेटिक इन्क्लेभस्थित होटल ताज प्यालेसमा बस्ने छन् । उनी शुक्रबार ३.४० को निगमकै नियमित उडानबाट स्वदेश र्फकने कार्यक्रम छ ।


प्रकाशित : जेष्ठ १६, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?