कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अन्धविश्वासको पराकाष्ठा

देवी खुसी पार्न भन्दै अढाई वर्षेको निर्मम हत्या
अजित तिवारी

जनकपुर — वैशाख २३ गते अपराह्न ५ बजे । अढाई वर्षका बालक समीर (आर्यन) साह आँगनमा खेलिरहेका थिए । आमा रेणुदेवी नजिकैको बारीमा घाँस काट्दै थिइन् । छिमेकका शत्रुघ्न महतो नजिकैको इनारबाट पानी तानिरहेका थिए, जसलाई आर्यन ‘बाबा’ भनेर सम्बोधन गर्थे । बालक एक्लै खेलिरहेको महतोले पानी थापेकै बेला देखे । ८ भाँडा पानी ओसारेपछि आर्यन नजिक आए । उनलाई काखमा च्यापेर नजिकैको आफ्नो घरतिर लागे । भैंसीको दूध दुहेर आर्यनलाई खुवाए र सुताए । 

अन्धविश्वासको पराकाष्ठा

घाँस काटेर घर फर्केकी रेणु छोरो नदेखेपछि आत्तिइन् । चारैतिर खोजतलास गरिन् । कहीँ भेटिनन् । छिमेकीसमेत मिलेर बच्चा खोज्न थाले । आर्यनको हुलियासहित बच्चा हराएको माइकिङ गरियो । आर्यनको खोजी तीव्र पारिएको गाइँगुइँ महतोले पनि थाहा पाए । आफ्ना घरमा पनि खोज्न आउलान् भन्ने डरले उनी आर्यनलाई बोकेर नजिकैको झाडीमा लुके । करिब साढे ७ बजेतिर बालकसहित लुकेका महतो डेढ घण्टापछि आर्यनलाई लिएर घर फर्किए । खाटमा आफूसँगै आर्यनलाई सुताए ।

बिहान करिब २ बजे महतो ब्युँझिए । पूजापाठको सामग्री जुटाए । चामल–अक्षता सबै ठीक पारे । धारिलो हतियार पनि पूजा गर्ने ठाउँमै राखे । सुतिरहेका आर्यनलाई काखमा बोकेर पूजास्थलमा ल्याए र मन्त्रोच्चारण गर्दै हतियारले आर्यनको घाँटी रेटे । चमेनीमाईलाई खुसी पार्ने नाममा महतोले अढाई वर्षीय बालक आर्यनको ज्यान लिए । घरको ढलान भएको आँगनमा हत्या गरेपछि महतोले तौलियामा बेरेर आर्यनको शव अघिल्लो साँझ लुकाएकै झाडीमा लुकाए । तुरुन्तै अर्को ठाउँमा सारे । उज्यालो हुनुअघि नै हत्यामा प्रयोग भएका सामान र हत्या गरिएको स्थान धोइपखाली गरे ।


वैशाख २४ गते बिहान ६ बजे । धनुषाको मिथिला नगरपालिका–६ स्थित कृष्णनन्दन महतोको खेतमा आर्यनको शव गाउँलेले देखे । तुरुन्तै प्रहरीलाई खबर गरे । घाँटी रेटेर बालकको हत्या गरिएको हल्ला गाउँभरि फैलियो । बाहिर हल्लीखल्ली भइसक्दा पनि महतो घरमै लुकिरहे । आर्यन बिरामी पर्दा बेला–बेला झारफुक गरेर निको पारेको र राम्रै सम्बन्ध रहेकाले उनीमाथि कसैले शंका गरेनन् । परिवारका सबै सदस्य उपचारका लागि काठमाडौं गएकाले उनी घरमा एक्लै थिए । महतोले ‘दैवीशक्ति आर्जनका लागि’ चमेनीमाईलाई खुसी पार्न आर्यनको हत्या गरेको खुलेको छ । ‘दुई वर्षदेखि धामी–झाँक्री विद्या सिकिरहेका उनले देवीदेवतालाई खुसी पार्न र आफ्नो शक्ति बढाउन बालक बलि दिएको बताएका छन्,’ धनुषा प्रहरीका प्रमुख एसपी शेखर खनालले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘तन्त्रमन्त्र विद्यामा शक्तिशाली हुन्छु भन्ने अन्धविश्वासमा महतोले आर्यनको हत्या गरेको खुलेको छ । उनले अपराध स्विकारेका छन् ।’

मिथिला–६, ढल्केबरका शम्भु साहका छोरा हुन् आर्यन । महतो र आर्यनको घर तथा शव भेटिएको ठाउँ ७० मिटरकै सेरोफेरोमा छ । २५ दिन लामो अनुसन्धानपछि प्रहरीले आर्यन हत्याको यो डरलाग्दो र अन्धविश्वासको पराकाष्ठा नाघेको तथ्य सार्वजनिक गरेको हो । धनुषा प्रहरीले आर्यनका हजुरबुबा पीताम्बर साहको किटानी जाहेरीका आधारमा महतोमाथि अपहरण गरी शरीर बन्धक राखी मारेको ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ । ‘अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको छ,’ एसपी खनालले भने, ‘घटनामा अरू व्यक्ति संलग्न रहे/नरहेको खोजी भइरहेको छ ।’

बालक हत्या प्रकरण पहिल्याउन प्रहरीको चारवटा टिम खटिएका थिए । हेटौंडाबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो । इलाका प्रहरी कार्यालय ढल्केबर, जिल्ला प्रहरी कार्यालय धनुषा, संघीय प्रहरी एकाइ जनकपुर र प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली २५ दिनसम्म हत्याको कारण खोतल्न खटिए । यस अवधिमा प्रहरीले आर्यन हत्या प्रकरणमा शंका लागेका करिब ५० जनालाई हिरासतमा लिएर सोधपुछ गर्‍यो । महतोलाई प्रहरीले पक्राउ गरेपछि बालक हत्याले नयाँ मोड लिएको थियो । मिथिला–८ कुसुमबिछौनाका जंगवीर महतो (५२ वर्ष) राजमार्ग क्षेत्रका चर्चित धामी हुन् । शत्रुघ्न उनकै साला हुन् । शत्रुघ्नले २ वर्षअघि झारफुक र टुनामुना सिकेका हुन् । शत्रुघ्न पक्राउ परेपछि जंगवीर फरार छन् । उनैले बालकको हत्या गर्न शत्रुघ्नलाई उस्काएको प्रहरीको आशंका छ ।

शत्रुघ्न दुई वर्षदेखि जंगवीरको भजनमण्डली सदस्य थिए । झारफुक र टुनामुनाको मन्त्र त्यहींबाट सिकेपछि शत्रुघ्नले छिमेकका बालबच्चा बिरामी पर्दा झारफुक गर्न थाले । आर्यनलाई ज्वरो आउँदा उनैले फुकेका थिए । पहिलेदेखिकै चिनजान भएकाले वैशाख २३ गते अपराहन आर्यन सजिलै उनीसित गएका थिए ।आर्यनका बुबा शम्भु २ वर्षदेखि मलेसियामा कार्यरत थिए । छोराको हत्या गरिएको १२ औं दिन मात्रै उनी ढल्केबर आइपुगे । आर्यन घरमा आमा रेणुसँग बस्थे ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?