कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

१० वर्षपछि काली मार्सी

एलपी देवकोटा

जुम्ला — धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिप्ने र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय खेत बाँझै रहन्थ्यो ।

१० वर्षपछि काली मार्सी

यसले काली मार्सी धानै लोप हुने अवस्था आयो । गाउँपालिकाले उपाय निकाल्यो– किसानका लागि प्रोत्साहन कार्यक्रम । एक दशकपछि यसपालि छुमचौर ज्युलो (फाँट) मा काली मार्सी धान रोपिएको छ ।


धान खेतीमा धेरै मिहिनेत गर्नुपर्ने तर उत्पादन कम हुने भएकाले पनि किसानले रोपाइँ गर्न छोडेका थिए । ‘काली मार्सी धानमा असिनाको जोखिम र रोगको संक्रमण बढी हुन्छ,’ स्थानीय रूपबहादुर महतराले भने, ‘सिँचाइ अभावले पनि केही वर्ष धान रोप्न समस्या भयो ।’


विश्वकै अग्लो स्थानमा धान फल्ने छुमचौर ज्युलोको इतिहास मेटिन लागेकाले गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले बताए । छुमचौर ज्युलो २ हजार ८ सय ६० मिटर उचाइमा छ । दशक अघिसम्म छुमचौरको ५ सय रोपनीमा मार्सी खेती गरिन्थ्यो । यस वर्ष पहिलो चरणमा करिब एक रोपनीमा रोपिएको स्थानीय भुवन रावतले बताए ।


युवा यार्सा टिप्न गएकाले यस वर्ष धेरै क्षेत्रमा रोपाइँ गर्न नसकिएको उनले बताए । स्थानीय वीरबहादुर बुढाका अनुसार मार्सी खेती गर्दा बीउ ब्याडमा राखेदेखि बाली भित्र्याउँदासम्म ६ महिना नियमित खेतमा व्यस्त रहनुपर्छ ।


धान खेती र छुमचौर ज्युलोलाई कृषि पर्यटकीय केन्द्र बनाउन गाउँपालिकाले डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) पनि तयार गरेको छ । यार्सा सिजनकै बेला गाउँमा बसेका किसानलाई धान संरक्षणमा लगाउने गाउँपालिकाको योजना छ ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?