सत्तापक्षबाटै बजेटको विरोध 

माधव ढुंगाना

भैरहवा — सत्तारुढ समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नयाँ आर्थिक वर्षका लागि सरकारले संसद्‌मा प्रस्तुत गरेको बजेटको आलोचना गरेका छन् । दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेट मुलुकको आर्थिक प्रगतीमा छलाङ लगाउने खालको हुनु पर्नेमा त्यसको कुनै लक्षण देखा नपरेको भन्दै भट्टराईले विरोध जनाएका हुन् । 

शुक्रबार भैरहवामा आयोजित पार्टीको प्रादेशिक अभिमुखीकरण कार्यक्रममा सहभागी हुन आएका नेता भट्टराईले मुलुकको स्थायी शान्ति र दीर्घकालीन विकासका लागि कांग्रेस र कम्युनिष्ट दुवै बेकामे सावित भएको दाबी गर्दै त्यसको विकल्पमा आफ्नो पार्टीको उदय भएको बताए । भट्टराईले संविधान संशोधन गर्न छिट्टै अल्टिमेटम दिने र अल्टिमेटमको बेवास्ता गरिएमा संघर्षमा जाने चेतावनी दिए । संशोधनका लागि अल्टिमेटम दिने र संघर्षमा उत्रिने कुराको टुंगो कहिलेसम्म लाग्ने ? भन्ने बारेमा भने उनले प्रस्ट पारेनन् ।

समाजवादीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने, विभिन्न खालका विभेद र असमानता अन्त्य गर्ने सम्झौताअनुरुप आफ्नो पार्टी सरकारमा सहभागी भएको उल्लेख गरे । सम्झौताअनुरुप नभएमा सरकारबाट अलग्गिएर संघर्षमा जाने भनाइ उनले दोहोर्‍याए । समाजवादीका नेताहरुले बेला बेलामा सरकारबाट बाहिरिने चेतावनी दिँदै आए पनि पार्टीले आधिकारिक निर्णय गर्न सकेको छैन ।

प्रकाशित : जेष्ठ १७, २०७६ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रुपन्देहीमा प्रहरीद्वारा हवाइ फायर, पेस्तोलसहित नेपाल आउँदै गरेका भारतीय नागरिक पक्राउ 

माधव ढुंगाना

भैरहवा — हतियारसहित नेपाल आउँदै गरेका भारतीय नागरिकलाई पक्राउ गर्ने क्रममा रुपन्देहीको नेपाल-भारत सीमावर्ती क्षेत्रमा शंकरपुरमा प्रहरीले हवाई फायर गरेको छ । 

प्रतिकात्मक तस्बिर

रुपन्देही प्रहरीका अनुसार भारतको महाराजगञ्ज जिल्ला फरेनी बजार बस्ने करिब ५० वर्ष झिनक धोबीलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड हवाइ फायर गरेको हो।

हतियारसहित नेपाल आउँदै गरेको सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनलाई छुटाउन भारत तर्फबाट ३०/४० जनाको समूहले प्रहरीको टोली माथि आक्रमण गर्दा आत्मरक्षाका लागि प्रहरीले हवाइ फायर गरेका थिए।

उक्त घटनामा एक भारतीय घाइते भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै नेपाल प्रहरीले जनाएको छ।सीमापारिबाट भारतीय समूहले गरेको आक्रमणबाट सादा पोशाकमा खटिएका प्रहरीहरु तेजबहादुर कुवँर, प्रेम आले र विक्रम मल्ल घाइते भएको रुपन्देही प्रहरीका डीएसपी धर्मराज भण्डारीले बताए।

भारतीय नागरिकबाट अमेरिकामा बनेको स्वचालित एकथान पेस्तोल र एकथान म्यागजिन बरामद भएको छ। धोबीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।रुपन्देहीमा कसैले मगाएर धोबीले हतियार ल्याएको हुनसक्ने प्रहरीलेे प्रारम्भिक अनुमान छ।

प्रकाशित : जेष्ठ २, २०७६ १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT