कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा प्लटिङ गर्न डाँडामा जथाभावी डोजर

साम्राज्ञी भण्डारी

काठमाडौँ — स्थानीय सरकारको स्वीकृति नै नलिई व्यवसायीहरूले बूढानीलकण्ठ नगरपालिकामा जथाभावी जग्गा प्लटिङ गरेका छन् ।आफूखुसी डोजर लगेर पहाड खारिए पनि नगर र वडा कार्यालयले नियन्त्रण गरेका छैनन् । नगरप्रमुख उद्धव खरेलका अनुसार अनधिकृत प्लटिङको यकिन तथ्यांक नभए पनि कम्तीमा एक हजार रोपनीमा डोजर चलाइएको छ ।

जग्गा प्लटिङ गर्न डाँडामा जथाभावी डोजर

मापदण्डअनुसार जग्गाधनीले भिरालो पाखामा डोजर प्रयोग गर्नुपर्ने भए नगरको पूर्वस्वीकृतिमा वडाबाट सिफारिस लिनुपर्छ । स्थानीय सरकारको नियम र उपत्यका विकास प्राधिकरणको मापदण्डमा स्वीकृति लिएर डोजर चलाउँदा पनि सँगैको जग्गालाई असर नगर्ने गरी केही भाग मात्रै मिलाउन पाइने उल्लेख छ ।

खोला, खोल्सी तथा सार्वजनिक सिमानाको लागि ४ मिटर छुट्याउनुपर्ने, बाटो २० फिट राख्नुपर्ने तथा ९० डिग्रीभन्दा भिरालो जमिनमा डोजर लगाउनुपूर्व प्राविधिकको सल्लाह लिनुपर्छ । तर, यहाँका अधिकांश प्लटिङ मापदण्डभित्र नरहेको वडा नम्बर १, २, ५ र १३ ले स्विकारेका छन् ।

उपत्यका विकास प्राधिकरणका अनुसार ३० प्रतिशतभन्दा माथिको भिरालो भागमा प्लानिङ गर्न मिल्दैन । कसैले यो मापदण्ड मिचे ऊक्त व्यत्तिको जग्गा रोक्का गरिदिने व्यवस्था छ । भूमाफियाहरुले ढिस्को भत्काउनुपर्‍यो भन्दै प्लटिङ गर्ने गरेको प्राधिकरणका सूचना अधिकारी केशवप्रसाद न्यौपानेले बताए ।



वडाका अधिकारीहरू कसैले उजुरी नै दिन नआएकाले कारबाही गर्न नसकिएको दाबी गर्छन् । आफूले सबै ठाउँ अनुगमन गर्न नभ्याएकाले बेथिति बढेको नगर प्रमुख खरेलले बताए । ‘वडामा के भइरहेको छ भनेर हेर्न निर्देशन दिएको छु तर पनि डोजर गुड्न रोकिएको छैन,’ उनले भने, ‘हामीसँग दक्ष प्राविधिक पनि नभएकाले कुन भूभागमा डोजर चलाउन उपयुक्त हुन्छ भन्ने मापदण्ड बनाउन सकिएको छैन, कसलाई रोक्ने कसलाई नरोक्ने द्विविधा छ ।’ जमिन समथर बनाएरै घर बनाउनुपर्ने मान्यताका कारण भिरपाखा खार्ने काम रोकिन नसकेको उनले बताए ।

सम्बद्ध वडाध्यक्षहरुका अनुसार मनलागी पहाड भस्काउनेमा स्थानीयभन्दा बाहिरका जग्गा व्यवसायी ९५ प्रतिशतले बढी छन् । जथाभाबी प्लटिङका कारण वरपरका भूभाग जोखिममा छन् । कतिपय स्थानीय पहिरोले घर पुर्ने त्रासमा बाँचिरहेका छन् ।

वडा नम्बर १ तौलिङको सात रोपनी पाखो जग्गामा स्थानीयले स्वीकृति नै नलिई यसै गरी डोजर चलाउन खोज्दा वडाध्यक्ष सुरेन्द्र लामाले रोकिदिएका थिए ।


बाडेपाखा, महादेवस्थानमा भने भिरालो पाखा तथा ढिस्को फोरेर जग्गा बिक्रि भईसक्दा पनि वडाध्यक्ष रविन्द्र अधिकारीले थाहा पाएनन् । कतिपय ठाउँमा रोक लगाउदा पनि व्यवसायीले रातारात डोजर चलाएर प्लटिङ गर्ने गरेका छन् । ५ नम्बर वडाध्यक्ष विजय तामाङले चिसिनी, थारथोक, दुलाल गाउँमा ४५ रोपनीको पाखामा प्लटिङ भएको देख्दादेख्दै रोक्न सकेनन् ।

स्थानीयले गुनासो गरेपछि चाहिँ व्यवसायीको डोजर नियन्त्रणमा लिएका छन् । ‘हामीले चासो दिएपछि व्यवसायी फरार भए, डोजरले खोस्रेको आधीअपूरो पाखा झन् धरापमा छ,’ तामाङले भने । सोही वडाको टुसाल गाउँमा ३५ रोपनी प्लटिङ गरी बसेको बस्तीमाथि गत भदौमा डाँडै भासिँदा दुई घरपरिवार विस्थापित हुन पुगेका थिए ।

पीडित सुशिला बस्नेतका अनुसार त्यहाँ अहिले पनि पानी पर्दा ढुङगा खस्ने भएकाले बच्चाहरुलाई एक्लै विद्यालय पठाउन डर छ ।

‘२० लाख लगाएर बनाएको घर ५ वर्ष नपुग्दै भत्कियो, दोष कसलाई दिने ? भूकम्प, पहिरो कि मानिसलाई ?’ उनले भनीन्, ‘ऋण गरेर भए पनि घर बनाउन हुन्थ्यो तर जग्गा नै फाटेर क्षतविक्षत भएको छ कहाँ गएर बनाउनु ?’ एक वर्ष बित्न लाग्दा उनले वडाको २५ हजार रुपैयाँबाहेक कुनै क्षतिपूर्ति पाएकी छैनन् ।

वडा नम्बर १३ मा एक स्थानीयले सँधियार आङदाली शेर्पाको १० आना जग्गालाई भिरालो डिल बनाएर छुट्याई आफ्नो भागको ४२ आना प्लटिङ गरेका छन् । आफ्नो जग्गा जोखिममा परेको भन्दै शेर्पाले वडामा निवेदन दिएकी छन् ।

वडाध्यक्ष र नगरप्रमुखका अनुसार सोही वडाको चुनीखेलमा उनीहरूले रोक्दारोक्दै एक स्थानीयले नगरपालिकाका कर्मचारीको मिलेमतोमा कागजात बनाई ३ रोपनी जग्गा प्लटिङ गरेका छन् । स्थानीयले आफ्नो जग्गामा डोजर लगाउन किन वडामा अनुमति लिनुपर्‍यो भन्ने हेपाहा प्रवृत्ति देखाउँदा उत्खनन रोक्न गाह्रो परेको वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठले बताए ।

घरैमाथि दिनरात प्लाटिङ हुन थालेपछि कुन बेला के हुने हो भन्ने डर बोकेर बस्नुपरेको स्थानीय नरबहादुर तामाङको गुनासो छ । ‘बिरालोको ख्यालख्याल मुसाको परान जस्तै भएको छ’ उनले भने, ‘डाँडाको टुप्पासम्म भीर खार्नेलाई के नै हो र जस्तो भएको छ, यता हामी कुन वेला ज्यान गुमाउनुपर्ने हो भन्ने डरमा बस्नुपरेको छ ।’

प्रकाशित : जेष्ठ १७, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?