प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री ओली दिल्लीमा किन खिन्नझैँ देखिए ?

दाहालको दबाबबारे प्रधानमन्त्रीले भने– 'नेपालको राजनीतिको स्तर’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैँ देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए ।


शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।

‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले ‘यो कुनै गोप्य दस्तावेज होइन’ भने ।

‘उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो,’ उनले भने । अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकीकरण क्रममा आलोपालो सरकार चलाउने सहमति भएको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।

अघिल्लो वर्ष जेठ २ मा ओली र दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको चौथो बुँदामा दुवै अध्यक्षले समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप सरकारको नेतृत्व गर्ने उल्लेख छ । ओलीले आफू र अध्यक्ष दाहालबीच कुनै असमझदारी नभएको समेत दाबी गरे ।

ओली–मोदी भेट
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार बिहान द्विपक्षीय भेटघाटमा ‘उच्च राजनीतिकदेखि जनस्तरसम्म विश्वासको वातावरणलाई निरन्तरता दिँदै द्विपक्षीय हितका विषय अघि बढाउने’ छलफल भएको छ ।

हैदरावाद हाउसमा मध्याह्न भएको आधा घण्टा लामो भेटघाटमा दुई प्रधानमन्त्रीले पछिल्ला वर्ष नेपाल–भारत सम्बन्ध सकारात्मक ढंगले अघि बढेको र त्यसले सकारात्मक परिणाम दिएको भन्दै सन्तुष्टि व्यक्त गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । ‘राज्यस्तरमा पनि र जनस्तरमा पनि अत्यन्त राम्रो प्रभाव पारेको अनुभूति भएको छ भन्नेमा दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यत्त गर्दै यही भावनालाई अगाडि बढाउन सहमत हुनुभयो,’ उनले भने ।

ओलीले मोदीलाई लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को जितका लागि बधाई दिएका थिए । प्रत्युत्तरमा मोदीले आफ्नो निमन्त्रणा स्विकारेर शपथग्रहण समारोहमा सहभागी भएकोमा ओलीलाई धन्यवाद दिए ।

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । दोस्रो पटक प्रधानमन्त्री भएयता ओलीको यो दोस्रो भारत भ्रमण हो । यसअघि २०७४ चैतमा गरेको औपचारिक भ्रमणले चार वर्षअघि भारतद्वारा नेपालमाथि लगाइएको नाकाबन्दी र विरोधमा नेपालले लिएको अडानका कारण मोदी–ओली सम्बन्धमा देखिएको तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो ।

शपथग्रहणमा बिमस्टेक राष्ट्रलाई निम्तो गरेर भारतले दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई पाखा लगाउन खोजेको आशंका भइरहेका बेला ओलीले सार्क यस क्षेत्रको सबैभन्दा उच्च मञ्च भएको दाबी गरेका छन् ।
‘यो क्षेत्रमा मित्रतापूर्ण र हार्दिक सम्बन्ध विकास गर्न सार्क सबैभन्दा उत्तम मञ्च हो,’ उनले भने ।

यस पटक भारतले शपथग्रहणमा बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपतिलाई निम्तो गरेको थियो । पाँच वर्षअघिको शपथग्रहणमाभने सार्कका सरकार प्रमुखहरू उपस्थित थिए ।

भारतको पछिल्लो कदमलाई उसको पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धको प्रभावका रूपमा बुझिएको छ । ‘बिमस्टेक सदस्य राष्ट्रप्रमुखलाई शपथग्रहणमा बोलाउनु भारत सरकारको लुक इस्ट नीतिको निरन्तरता हो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

ओलीले सार्कका सम्बन्धमा आफू आशावादी रहेको बताए । उनले सार्क अध्यक्ष भए पनि नेपाल एक्लैले यो क्षेत्रीय संगठनलाई अगाडि बढाउन सम्भव नभएकाले यसका लागि सार्कका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूसँग कुराकानी भइरहेको बताए । ‘सार्कलाई पुनर्जीवन र पुनः गतिशील बनाउँदा यो क्षेत्रमा शान्ति, सुव्यवस्था, मित्रता, समझदारी र सहकार्य कायम हुन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा हो,’ उनले भने ।

'कुनै व्यक्ति आउँदैमा सम्बन्धमा असर पर्दैन’
पूर्वविदेश सचिव एस जयशंकरलाई भारतीय विदेशमन्त्री बनाइएकोमा नेपालमा चासो व्यक्त भइरहँदा ओलीले यसबाट नेपाल–भारत सम्बन्धमा असर नपर्ने बताएका छन् । सरकार र मन्त्री कस्तो बनाउने भन्ने भारतीय जनता र प्रधानमन्त्री मोदीको निजी कुरा भएको उनको भनाइ छ ।

‘हामीलाई त्यसको कुनै चासो छैन र दुई देशबीचको सम्बन्धमा खासै प्रभाव पर्दैन,’ ओलीले भने । २०७२ मा नेपालमा गणतान्त्रिक संविधान जारी गर्ने पूर्वसन्ध्यामा तत्कालीन विदेश सचिव जयशंकर मोदी सरकारको विशेष दूतका रूपमा काठमाडौं गएका थिए ।

शंकरमाथि संविधानको मस्यौदाका केही बुँदामा संशोधन गर्न नेपालको राजनीतिक नेतृत्वमाथि कूटनीतिक मर्यादाविपरीत दबाब दिएको आरोप लागेको थियो । भारतको अपेक्षाविपरीत तत्कालीन संविधानसभाले संविधान पारित गरेपछि भारतले मधेस केन्द्रित दलले गरेको आन्दोलनलाई समर्थन गर्दै नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरेको थियो ।

उक्त नाकाबन्दीका लागि जयशंकरले नै दिल्लीलाई प्रेरित गरेको नेपाल–भारत सम्बन्धका जानकारहरूले दाबी गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०७:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भारतीय प्रधानमन्त्री मोदीको मन्त्रिमण्डल ५८ सदस्यीय

भाजपा अध्यक्ष अमित शाहदेखि पूर्वविदेश सचिव एस शंकर बने मन्त्री 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन् । बिहीबार साँझ एक विशेष समारोहबीच भारतीय राष्ट्रपति रामनाथ कोभिन्दबाट मोदीले भारतको १६ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् ।

साथै मोदीको मन्त्रिमण्डलका सदस्यका रूपमा राजननाथ सिंह, अमित शाह, रविशंकर प्रसाद, नीतिन गडकरी, निर्मला सीतारमण, रामविलाश पाशवान, गिरिराज सिंहलगायत २५ जनाले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् ।

त्यसैगरी, ९ जनालाई बिनाविभागीय र २३ जनालाई राज्यमन्त्री बनाइएको छ । उनीहरूलाई दिइने मन्त्रालयहरू भने अझै खुलाइएको छैन । मोदीको दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । ३४ मन्त्रीमध्ये ९ जना मात्र महिला छन् ।

पूर्वअनुमानअनुरूप नै भाजपाका अध्यक्ष अमित शाहले पहिलो पटक मन्त्रिमण्डलमा स्थान बनाइएका छन् । उनलाई गृह र अर्थमध्ये एउटा मन्त्रालय दिइने सम्भावना छ । भाजपातर्फबाट मन्त्री शपथ लिएकामध्ये अधिकांश शाह र मोदीबीच निकट मानिन्छन् । शाह मोदीका सबैभन्दा विश्वास पात्रका रूपमा चिनिन्छन् ।

शाह र मोदीबीच दुई दशकभन्दा बढी समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । मोदी गुजरातको मुख्यमन्त्री हुँदा शाह गृहमन्त्री थिए । पार्टीको एउटा तप्का शाहलाई अध्यक्षमै निरन्तरता दिन चाहन्थ्यो । तर, मोदी भने यसपटक आफ्ना विश्वासिला शाहलाई जसरी भए पनि मन्त्री बनाउने पक्षमा थिए । यसअघि गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षामन्त्री बनाइने चर्चा छ ।

यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनकै गढ मानिएको अमेठीको लोकसभा क्षेत्रमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीलाई पनि मन्त्री बनाइएको छ । अघिल्लो मन्त्रिपरिषद्मा उनी टेक्सटाइल मन्त्री थिइन् । उनले यसपटक प्रभावशाली मन्त्रालय पाउने सम्भावना छ । नीतिन गडकरी यसपटक पनि मोदी सरकारमा दोहोरिएका छन् । गडकरीले अघिल्लो कार्यकालमा जस्तै सडक यातायात र राजमार्ग, सिपिङ र जलस्रोत मन्त्रालय पाउने सम्भावना रहेको बताइन्छ । मन्त्रिमण्डलमा पूर्व विदेशसचिव सुब्रमण्यम (एस)जयशंकरको प्रवेशलाई आश्चर्यजनक मानिएको छ ।

मोदीसँगको निकै विश्वासिलो सम्बन्ध भएका शकंरले विदेश मन्त्रालय पाउने सम्भावना छ । यसअघि उनी भारतको बहुराष्ट्रिय कम्पनी टाटा समूहको ग्लोबल कर्पोरेट अफेयर्स प्रेसिडेन्ट थिए । जनवरी २०१८ मा परराष्ट्र सेवाबाट अवकाशप्राप्त शंकर पुनः टाटामा आबद्ध भएका थिए । मनमोहन सिंहको दोस्रो मन्त्रिपरिषद्मा अमेरिकाका लागि भारतीय राजदूत रहेका शंकरले सन् २००८ मा भारत–अमेरिकाबीच आणविक सम्झौता गराउन अहंभूमिका खेलेका थिए । शंकरलाई मोदीको कार्यकालको विदेश नीतिको योजनाकार मानिन्छ ।

शंकरको नेपालसँगको अनुभव पनि त्यति सहज छैन । २०७२ सालमा नेपालमा गणतान्त्रिक संविधान जारी गर्ने पूर्वसन्ध्यामा विदेशसचिव शंकर मोदी सरकारको विशेष दूतका रूपमा काठमाडौं गएका थिए । त्यतिबेला शंकरले संविधानकोमस्यौदाका केही बुँदामा संशोधन गर्न नेपालको राजनीतिक नेतृत्वमाथि कूटनीतिक मर्यादाविपरीत दबाब दिएको आरोप छ।

संविधानसभाले भारतीय अपेक्षाविपरीत संविधान पारित
गरेपछि मधेस केन्द्रित दलको विरोधलाई समर्थन गर्दै भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । नाकाबन्दीका लागि शंकरले नै दिल्लीलाई प्रेरित गरेको नेपाल–भारत सम्बन्धमा जानकारहरूले दाबी गर्दै आएका छन् ।

मन्त्रीहरूको चयन गर्दा हालै सम्पन्न १७ औं लोकसभा चुनावमा हासिल जितको क्षेत्रीय अनुपातलाई पनि ध्यान दिइएको छ । भाजपाले ऐतिहासिक जित हासिल गरेको पश्चिम बंगालले दुई मन्त्री पाएको छ । भाजपाले यसपटक पश्चिम बंगालमा अहिलेसम्मकै सबैभन्दा बढी १८ सिट जितेको हो। बंगालबाट गायक बाबुल सुप्रियो र देवाश्री चौधरीले अवसर पाएका छन् । मोदीको गृहराज्य गुजरातबाट ३ अनुहार मन्त्रिपरिषद्मा समावेश गरिएका छन् ।

अघिल्लो मोदी सरकारका प्रमुख अनुहारहरू अरुण जेटली, सुषमा स्वराज र सुरेश प्रभुलाई भने निरन्तरता दिइएको छैन । सुषमा स्वराजले समेत मन्त्री बन्न इच्छा नदेखाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले आफूलाई लोकसभा चुनावबाट टाढा राखेकी थिइन् ।

अरुण जेटलीले स्वास्थ्यको कारण देखाएर मन्त्री बन्न असमर्थता जनाएपछि अर्थमन्त्रीमा पीयूष गोयलको चर्चा छ । जेटली स्वास्थ्य उपचारका लागि अमेरिकाका गएका बेला गोयलले नै अघि सरकारका तर्फबाट अन्तरिम बजेट प्रस्तुत गरेका थिए । तर, यसपटक स्वास्थ्य कारण जेटली आफैं पनि मन्त्री बन्न इच्छुक देखिएका छैनन् ।

जेटलीले बुधबार प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै स्वास्थ्य जटिलको अवस्थामा रहेकाले आफूलाई मन्त्री नबाउन आग्रह गरेका थिए । तर, स्रोतका अनुसार मोदी जेटलीलाई बिनाविभागीय भए पनि मन्त्रिमण्डलमा राख्न पक्षमा छन् । त्यही भएर मोदी जेटलीलाई मनाउन बुधबार साँझ उनकै निवास पुगेका थिए । तर, जेटलीले मोदीको आग्रहको स्वीकार गरे कि गरेनन् भन्ने खुलेको छैन ।

दुइटा मन्त्री नपाएपछि भाजपा नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडीए) को एउटा प्रमुख घटक जनता दल युनाइटेड (जेडीयू) ले मोदी सरकारमा जान अस्वीकार गरेको छ । अन्य घटकहरू शिवसेना, लोक जनशक्ति पार्टी भने सरकारमा सहभागी भएको छ ।

यसअघि बिहीबार अपराहृनसम्म पनि मोदी मन्त्रिमण्डलका सदस्यको नाममा ‘सस्पेन्स’ कायम थियो । मन्त्रीहरूको नाम टुंगो लगाउन मोदी र भाजपा अध्यक्ष अमित शाह बुधबार दिनभरि नै व्यस्त रहे । तर, पनि बुधबार साँझसम्म पनि नाम टुंगो लाग्न सकेन ।

बिहीबार पनि शाह र मोदीबीच यसलाई लिएर लामो छलफल चलेको थियो । सूचीको अन्तिम टुंगो लागेपछि बिहीबार ३ बजेतिर मात्र शाहले मन्त्रीका लागि चयन गरिएकालाई फोन गर्दै जानकारी गराएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT