३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गाँजा–चरेसको ट्रान्जिट बन्दै पर्सा

भूषण यादव

वीरगन्ज — पर्सामा गाँजा र चरेसको खेती छैन । पहिले–पहिले लुकीछिपी खेती हुन्थ्यो । नष्ट गर्ने अभियान थालिएपछि ७ वर्षयता जिल्लामा गाँजा–चरेसको खेती बन्द भएको दाबी प्रहरीको छ ।

गाँजा–चरेसको ट्रान्जिट बन्दै पर्सा

खेती हुँदैन भनिने जिल्लामा ओसारपसार भने उल्लेख्य बढेको विभिन्न समयमा भएका बरामदीको परिमाणले देखाएको छ । पहाडी जिल्लाबाट झारिने गाँजा भारत पुर्‍याउन पर्सालाई तस्करले ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा प्रयोग गरिरहेको खुलेको छ ।


गत बुधबार पटेर्वासुगौला गाउँपालिका ५ को देउरियाको झारखण्ड बजारबाट ३० किलो चरेस र चरेसको ५० किलो धूलो प्रहरीले बरामद गरेको थियो । त्यसको एक दिन अघिमात्र गाँजा र चरेस गरी २ सय ९४ केजी लागूपदार्थ बरामद गरेको थियो ।


जसमध्ये ४२ किलो चरेस, १ सय ७८ किलो गाँजा र ७४ केजी गाँजाको धूलो थियो । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार ११ वटा मेसिन र काठको २३ वटा फ्रेम पनि बरामद गरिएको छ ।


देउरियाका ठग ओझैयाको धानको भकारीबाट २२ केजी चरेस र २४ किलो गाँजा बरामद भएको थियो । पहाडी जिल्लाबाट तस्करले ल्याएको गाँजा जिल्लाका ग्रामीण भेगमा भण्डारण गरेको सूचना आएपछि सातायता प्रहरीले सर्च अभियान नै चलाएको छ । गत शुक्रबार देउरियाबाटै ३ सय ८४ केजी गाँजा र १० केजी चरेस प्रहरीले बरामद गरेको थियो ।


गाँजा च्याप्ने तीनवटा मेसिन, पोका पार्न प्रयोग गरिने प्लास्टिक एक बोरा र प्याकेट बनाउनमा प्रयोग गरिने दुई प्याकेट गुल पनि बरामद भएको थियो । प्रहरी निरीक्षक अधिकारीका अनुसार देउरियाका फुसन माझीको घरबाट ५५ केजी ३ सय ग्राम गाँजाको धूलो पाउडर र ७ किलो १ सय ग्राम तयारी चरेस बरामद गरिएको थियो । स्थानीय सुधन

महराको घरबाट १२ केजी चरेस र ३ किलो गाँजोका धूलो पाउडर बरामद भएको थियो ।


राजेश महराको घर पछाडिको बाँसको झयाङमुनि लुकाएर राखिएको अवस्थामा २६ केजी गाँजा र गाउँको पूर्वपट्टिको नालामा फ्याँकिएको अवस्थामा २ सय ६८ केजी ६ सय ग्राम गाँजा र ३२ केजी चरेस बरामद भएको प्रहरीले जनाएको छ । जिल्लामा गाँजा उत्पादन नहुँदा पनि ठूलो परिमाणमा गाँजा र चरेस तयारी अवस्थामा बरामद भएका छन् ।


जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०७५ वैशाखदेखि हालसम्म ८ सय २० केजी गाँजा र ४ सय ६५ केजी चरेस बरामद भइसकेको छ । प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जिल्लामा गाँजा उत्पादन नभए पनि तस्करले भारततर्फ पठाउन पर्सालाई ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग गरिरहेको पाइएको बताए ।


मकवानुपर र धादिङबाट ल्याएर देउरियामा भण्डारण गरी भारततर्फ लाने तयारी भइरहेको सूचना पाएपछि प्रहरीले सर्च अभियान चलाएको छ । प्रहरी टोलीलाई देखेर कारोबारी भाग्ने गरेका छन् ।


कारोबारीका अनुसार पछिल्लो केही वर्षयता पहाडी जिल्लामा उत्पादन हुने गाँजा पर्साकै बाटो भएर भारततर्फ जाने गरेको छ । मकवानपुरबाट पर्सा ल्याइने गाँजा र चरेस पाँचवटा फरक फरक नाका भएर भारततर्फ तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।


‘मकवानपुरको मनहरी र सरिखेत हुँदै पर्सा राष्ट्रिय निकुञ्जको जंगल भएर पर्साको सोनवर्षा गाउँबाट भारतको जाने गरेको छ,’ डीएसपी शर्माले भने, ‘यसबाहेक मकवानपुरबाट वीरगन्ज बसपार्क हुँदै इनर्वा नाकाबाट भारतको रक्सौल, बगहीदेखि रक्सौल, मनवादेखि रक्सौल रुट बढी प्रयोग हुने गरेका छन् ।’


बिहीबारको दिन प्रहरीले बढी बरामद गरेको तथ्यांक छ । एक वर्षको अवधिमा ९ महिला गरी ६३ जना गाँजा ओसारपसारका अभियुक्त पक्राउ परेका छन् । प्रहरीका अनुसार ट्रकमा फल्स बटम बनाई गाँजा र चरेस ओसारपसार बढी हुने गरेको छ ।


‘महिला, वृद्ध, बच्चाका आमा, स्कुले विद्यार्थीको प्रयोग गरिएको पाइएको छ,’ उनले भने, ‘घरभित्र कोठाको जमिनमा लागूऔषध गाडेर–लिपेर ओछ्यान हालेका पनि छन् । इस्टकोट र कपडाको बेल्ट जस्तो बनाई पनि गाँजा र चरेस ओसारपसार गर्ने गरिएको पाइएको छ ।’


मकवानपुरमा प्रतिकेजी ५ हजार रुपैयाँ पर्ने गाँजा भारतको सीमावर्ती बजार पुग्दा १० हजार रुपैयाँ मूल्यको हुन्छ । गाँजाका भरियाले २ हजार रुपैयाँदेखि १० हजारसम्म दैनिक पाउने गरेका छन् । दण्ड जरिवानाबारे जानकार नहुँदा पैसाको लोभमा परेर अधिकांश भरियाले काम गर्ने गरेका छन् । रोकथामका लागि प्रहरीले सुराकी परिचालन बढाएको छ ।


‘जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा सरोकारवाला निकायसँग समन्वय गर्न आवश्यक छ,’ डीएसपी शर्माले भने ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?