खाँचीकोट दरबारमा पुरातत्त्वको खेलाँची

पुराना वस्तुको संरक्षण परको कुरा, ऐतिहासिक महफ्वका सम्पदासमेत मासेर धमाधम आधुनिक संरचना ठड्याइादै छ 

कपिलवस्तु र अर्घाखाँची — अर्घाखाँचीको ऐतिहासिक सम्पदा हो– खाँचीकोट दरबार । सन्धिखर्क नगरपालिका–७ स्थित डाँडामा छ यो । बाइसे–चौबीसे राज्यका बेला खाँचीका राजा यही दरबारबाट शासन सञ्चालन गर्थे । यसको बेग्लै ऐतिहासिक महत्त्व छ । अहिले भने यसको अस्तित्व नै मेटिने गरी धमाधम भौतिक संरचना निर्माण भइरहेका छन् । त्यो पनि पुरातात्त्विक मान्यताविपरीत । आधुनिक शैलीमा । 

खाँचीकोट दरबारमा पुरातत्त्वको खेलाँची

डाँडामै छ भगवतीको मन्दिर । दरबार बनाउने भन्दै मन्दिरको दक्षिण–पूर्वमा जग खनिएको छ । त्यहाँ १० मिटर लम्बाइ र ६ मिटर चौडाइका कोठा बनाउन लागिएको छ । जग खन्ने क्रममा पुराना इँटा भेटिएका छन् । तिनलाई क्षति पुर्‍याउँदै जग खनिएको छ । दरबार संरक्षण समितिका सचिव कृष्णलाल पुरीले भने सानो भए पनि यसलाई चिनाउने गरी दरबार बनाउन लागिएको बताए । ‘गाउँले बसेर सल्लाह गर्‍यौं,’ उनले भने, ‘त्यसपछि एक महिनादेखि काम भइरहेको छ ।’


पुरीले भनेजस्तो यहाँको अवस्था छैन । दरबारको कोठा निर्माणस्थलबाहिर प्रशस्त भग्नावशेष देखिन्छन् । त्यसैमाथि खन्ने क्रमले तीव्रता पाएको छ । ‘भग्नावशेषमाथि खन्दा इतिहास नष्ट हुन्छ,’ स्थानीय पदमबहादुर केसीले भने, ‘विज्ञलाई राखेर छलफल गरेर मात्र अघि बढ्नुपर्छ ।’ विस्तृत अध्ययन गरेर मात्र योजना बनाएर निर्माण गर्दा ऐतिहासिक महत्त्व कायम रहने उनले बताए । ‘नत्र हामीमाथि इतिहास मेटेको आरोप लाग्छ,’ उनले भने, ‘पुराना संरचनामाथि नयाँ संरचना निर्माण गरेर इतिहास नष्ट गर्ने श्रेय लिनु हुँदैन ।’


डाँडाभरि दरबारका भग्नावशेष छरपस्ट छन् । दरबार क्षेत्रको अध्ययन–अनुसन्धान भएको छैन । डाँडामा उत्तरतर्फ काठको टिनले छाएको दुईतले पौवा छ । आकर्षक देखिने त्यही घरलाई स्थानीयले दरबारका रूपमा बुझाउने गरेका छन् । मन्दिरको पश्चिमतिर मध्यकालीन प्राचीन इनार छ । चारै दिशामा छड्के जाली बुनेर कंक्रिटको पिलर उठाइएको छ । चिनियाँ इँटाले पर्खाल ठड्याइएको छ । छत छाउन मात्र बाँकी छ ।


सिमेन्ट, बालुवा र गिट्टी उत्तिकै प्रयोग गरिएको छ । ऐतिहासिक र पुरातात्त्विक स्थल संरक्षणमा सिमेन्ट, बालुवा र गिट्टी प्रयोग गर्न पाइँदैन । सुर्की र चुन प्रयोग गर्नुपर्छ । यहाँ यी नियमप्रति त्यति वास्ता गरिएको छैन । ‘ऐतिहासिक ठाउँमा विकास र संरक्षणको काम गर्दा त्यो पुरातत्त्वमैत्री हुनुपर्छ,’ वरिष्ठ पुरातत्त्वविद् वसन्त बिडारीले भने, ‘पुरानो ठाउँमा आधुनिक शैलीमा निर्माण गरिँदा राम्रो मानिँदैन ।’ इतिहासले फुरानो कालक्रम निर्धारण गर्छ ।


आधुनिक संरक्षणको कामले नयाँ कालत्रम झल्काउँछ । पुरानो ठाउँमा नयाँ कामले अन्योल बढ्छ । ‘त्यही भएर सावधानी अपनाई योजना बनाएर मात्र काम थाल्नु राम्रो हुन्छ,’ उनले भने, ‘यस्तो ठाउँमा काम गर्दा हेरिटेज इम्प्याक्ट एसिस्मेन्ट (एचआईए) गर्नुपर्छ । कुन ठाउँमा कस्तो संरचना बनाउने, कसरी बनाउने भन्ने कुरा त्यसमा उल्लेख हुन्छ । यसले पुरातात्त्विक मूल्यमान्यता बढाउँछ ।’


दरबार पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ । सँगै जीर्ण पनि बनेको छ । यहाँका पुरातात्त्विक सामग्री हराएका छन् । संरचना भत्किँदै छन् । संरक्षणमा पुरातत्त्व विभागले चासो नदिएको स्थानीयको गुनासो छ । कोट परिसरमा ढुंगाको पर्खाल र तत्कालीन लडाइँका लागि निर्मित बंकर पनि बेवारिसे छन् ।


भाला, खुकुरी र धातुलगायत सामान हराउँदै गएका छन् । शत्रुमाथि आक्रमण गर्न र सजिलै जोगिन बनाइएका ढुंगाका खोपा भत्किएका छन् । केही मात्रामा ढाल, तरबार, खुँडा र बन्दुक बचेका छन् । ‘पहिले कोटको विस्तृत अध्ययन/अनुसन्धान गरौं,’ पुरातत्त्व तथा संस्कृतिविद् डा. गीतु गिरीले भने, ‘त्यसपछि निर्माणको काम गरेर आकर्षण थप्न सकिन्छ ।’ अध्ययन नगरी जहाँ पायो, त्यहीँ निर्माण गर्दा इतिहास बिग्रने उनको भनाइ छ ।


यस पटक दरबार संरक्षण र विकासमा प्रदेश र संघ सरकारले ३० लाख रुपैयाँ पठाएका छन् । बजेट निकासा भएपछि निर्माणलाई तीव्रता दिइएको हो । उक्त बजेटले भगवती मन्दिर र दरबारका कोठा बनाइँदै छ । ८/१० मजदुरले काम गरिरहेका छन् । वैशाख ५ गते स्थानीय फर्सबहादुर केसीको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन भएको थियो ।


समितिले अहिले भौतिक निर्माणको कामलाई तीव्रता दिएको छ । यसअघि पर्यटन कार्यालय भैरहवाबाट १५ लाख रुपैयाँ निकासा लगेर खाँचीकोट चढ्ने सिँढी निर्माण गरिएको थियो । ‘दुई/तीन वर्षमा गरेर उक्त बजेट आयो,’ सचिव पुरीले भने, ‘तलदेखि माथिसम्म ढलान गरेर सिँढी बनायौं, अहिले आवतजावतलाई सजिलो भएको छ ।’


गौरवशाली विगत

१५ औं शताब्दीदेखि खाँचीकोट राज्य अस्तित्वमा थियो । उक्त अवधिमा विभिन्न राजाले शासन चलाएको इतिहास छ । स्थानीय काठ, ढुंगा, इँटा, टायल र धातुको संयोजनले दरबार बनाइएको थियो । १५ फिट लामो, १५ फिट चौडा र १९ फिट उचाइको तेलिया इँटले बनाएको मुख्य दरबार ४० सालसम्म अस्तित्वमा थियो । आवासीय शैलीको दुईतले २२ फिट लामो, १० फिट चौडा र ९ फिट अग्लो इँटाले बनाएको पौवा छ ।


मन्दिरको एक कुनामा माटाका विभिन्न आकृति बनाइन्छ । तरबार समाएको राक्षस, घोडा र महिषासुरलगायतको आकृति बनाउने प्रचलन छ । ती आकृतिमा देखिएका सबै महिषासुरका फौज हुन् भन्ने मान्यता छ । प्रत्येक वर्ष दसैंका दिन ती आकृति काट्ने परम्परा छ । ‘राक्षस भनेर ती सबै आकृति काट्ने गरिन्छ,’ स्थानीय गोपाल पौडेलले भने, ‘रथयात्रा, सराय नाचलगायत गतिविधि गर्दै पूर्णिमाका दिन देवीको विसर्जन गरिन्छ ।’


१३ औं राजा दलजित शाहको खाँचीकोट दरबारमा जन्मिएकी छोरी चन्द्र प्रभावतीको गोरखाका राजा नरभूपाल शाहसँग बिहे भएको थियो । त्यसैले पनि यो दरबारलाई विशेष महत्त्वका रूपमा लिइन्छ । उनले पृथ्वीनारायण शाहलाई राजकीय व्यवहार, शासन पद्धति, हतियार सञ्चालन गर्न र बाइसे–चौबीसे राज्यलाई एकीकरण गर्न उत्प्रेरित गरेकी थिइन् । फलस्वरूप अहिलेको एकीकृत नेपाल देख्न पाइएको स्थानीय बताउँछन् ।


कपिलवस्तुमा भने भत्काइयो

पुरातत्त्व विभागले कपिलवस्तुस्थित कन्थक स्तूप र निग्रोधराममा निर्माण गर्न लागिएका संरचना भत्काएको छ । ती संरचना नेपाल प्राचीन स्मारक संरक्षण ऐन, २०१३ विपरीत भएकाले भत्काइएको विभागको भनाइ छ । ‘उक्त स्थानमा कुनै पनि संरचना निर्माण गर्न पाइँदैन,’ विभागका प्रवक्ता तथा प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवरले भने, ‘त्यस्ता निर्माण पुरातात्त्विक मूल्यमान्यताविपरीत हुन्, त्यही भएर भत्काइदियौं ।’


लुम्बिनी विकास कोषले काठमाडौंस्थित बोधीग्राम फाउन्डेसनलाई कपिलवस्तु नगरपालिका–३ स्थित स्तूपमा कन्थक पार्क बनाउन अनुमति दिएको थियो । फाउन्डेसनले पार्कको शिलान्याससमेत गरिसकेको थियो । पूर्वतिर एक मिटर उचो र आधा मिटर चौडा पर्खाल बनाएर धार्मिक विधिपूर्वक पूजा गरेर काम सुरु गरिएको थियो ।


विभागले मजदुर बस्न बनाइएको अस्थायी टेन्ट भत्काएको थियो । राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गर्न जाँदा सँगै लगेको घोडा कन्थक र सारथि छन्दलाई अनुमा नदीबाट राजदरबार फर्काएका थिए । ती घोडा आउँदा आउँदै तिलौराकोट दरबार नजिक मरेका थिए । त्यही ठाउँलाई अहिले कन्थक स्तूप भनिन्छ ।


सन् १८९८ मा बेलायती नागरिक वाडेलले उक्त स्थान पत्ता लगाएका थिए । त्यसपछि पीसी मुखर्जीले १८९९ मा उक्त स्थानको चित्र बनाएर छाडेका थिए । त्यसयता उत्खनन भएको छैन । करिब १७ कट्ठामा रहेको कन्थक स्तूप आसपास तीन वर्षअघि भूभौतिक सर्भे हुँदा विहार र पोखरीको ठूलो भग्नावशेष पाइएको थियो । उत्खनन क्रममा ४ सय ९७ पञ्चमार्क मुद्रा भेटिएका थिए ।


निग्रोधराममा निर्माण गर्न लागिएको प्रतीक्षालय पनि भत्काइएको छ । ज्ञान प्राप्त गरेर गौतम बुद्ध राजधानी कपिलवस्तु फर्कने क्रममा आमा–बुबासँग पहिलो पटक भेटघाट गरेको निग्रोधराममा पनि कोषले गत वर्ष भौतिक संरचना बनाउन लागेको थियो । त्यति बेला विभागले असहमति जनाएर रोक लगाएको थियो । त्यसपछि पिलर र जग खडा गरिसकिएको संरचना कोषले आफैं भत्काएको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?