कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

चुरे क्षेत्रका वनमा डढेलो

डढेलोका अधिकांश घटनामा जिल्ला वन कार्यालय नै किन र कसरी भन्नेमा अनभिज्ञ हुने गरेको छ । डढेलो प्राकृतिक कारणले मात्र भइरहेको छैन, मान्छेले पनि आगो लगाउने गरेका छन् ।
डीआर पन्त

डडेलधुरा — जिल्लाका २ दर्जन सामुदायिक र कबुलियती वनमा डढेलो सल्किएको छ । डढेलो कहाँ–कहाँ लागेको भन्ने वन कार्यालयलाई समेत जानकारी छैन । चुरे क्षेत्रका घना सल्ला र सालका ४ दर्जनभन्दा बढी वन डढेलोको जोखिममा छन् ।

चुरे क्षेत्रका वनमा डढेलो

जिल्लाका ४ सय ८५ सामुदायिक, १ सय १७ कबुलियती, ७ धार्मिक र ३ निजी वनमा गर्मी मौसमसँगै डढेलोका घटना दोहोरिन्छन् । हुर्कंदै थालेका पोथ्रा र नयांँ बिरुवा डढेलोले सखाप बनाएको छ । बूढा र ठूला रूख पनि डढेलोले हरेक वर्ष मासिँदै गएका छन् ।

विज्ञहरूका अनुसार २ दशकयता वनमा नयांँ बिरुवा हुर्कन पाएका छैनन् । ‘हरेक वर्ष डढेलो लाग्छ, संरक्षणको प्रयास भएको छैन,’ वनकर्मी धर्म चन्द भन्छन्, ‘डढेलोले अर्को वर्ष ढलापडा र सुकेका रूख भन्दै कटानी गर्न सजिलो हुने भएकाले कसैले चासो राख्दैनन् ।’


डढेलोले जताततै धूवाँको मुस्लो देखिने वन तथा वातावरणका क्षेक्रमा त्रियाशील डिल्ली जोशीको भनाइ छ । कबुलियती वनमा समेत उपभोक्ता स्वयंले नै डढेलो सल्काउने गरेको उनको दाबी छ । हरेक सामुदायिक वनले आफ्नो आम्दानीको २५ प्रतिशत संरक्षणमा खर्च गर्नुपर्ने प्रावधान छ । सरकारले पनि बर्सेनि वन संरक्षणका लागि भन्दै हरेक जिल्लाका वन कार्यालय मार्फत करोडौं खर्च गरिरहेको छ ।


वन कार्यालयको तथ्यांकअनुसार एउटा सामुदायिक वनले बर्सेनि ५ देखि ७ लाखसम्मको पैदावारबाट आम्दानी गर्छन् । ‘यस वर्ष डढेलो धेरै लागेको छ,’ कल्तडे सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर माली भन्छन्, ‘हरेक वनबाट बर्सेनि हजारदेखि ७ हजार क्युफिटसम्म काठ कटानी भएर बिक्री भइरहेको छ । अधिकांश सामुदायिक वनले आयको २५ प्रतिशत कागजमा मात्र खर्च गर्छन्, संरक्षणमा एक सुको पनि खर्च भएको पाइँदैन ।’ उपभोक्ताले गाईबस्तुका लागि घाँसको लोभमा डढेलो लगाउने चलन पुरानै हो ।


‘सल्ला र सालको हैसियत बिगार्न, सुकाउन र ढलापडा बनाउन अधिकांश वनमा डढेलो लगाइन्छ,’ महाभारत संरक्षण अभियानका संयोजक जयराज पनेरूले भने, ‘वन संरक्षणका लागि आउने बजेट कागजमा मात्र खर्च भएको देखाएर अनियमितता गर्ने र काठ बिक्रीबाट पनि कमिसन आउने भएकाले डढेलोका विषयमा कसैको चासो रहँदैन ।’


वन डिभिजन डडेलधुराका सहायक वन अधिकृत प्रकाश जोशी पनि उपभोक्ताको लापरबाहीले डढेलो लागेको स्विकार्छन् । जोशी भन्छन्, ‘वन एकाइहरूले आगलागी नियन्त्रण गर्न उभोक्तालाई समय–समयमा सचेत गराउनुका साथै नियन्त्रण रेखासमेत बनाउने गरिएको छ ।’ सामुदायिक वनमा हेरालो राख्ने, समय–समयमा सचेतना कार्यक्रम चलाइएको उनको दाबी छ ।


वन डिभिजन कार्यालयले वन विकास र संरक्षणका लागि आएको बजेट कुन–कुन शीर्षकमा खर्च हुन्छ भन्ने बताउन चाहँदैन । नर्सरी बनाएको, सचेतना गोष्ठीबाहेक डिभिजन कार्यालयका अधिकारीहरूसँग यसको उत्तर छैन । कार्यालयको तथ्यांकअनुसार जिल्लामा कुल भूभागको ७५ प्रतिशत बढी क्षेत्रफल वनले ओगटेको छ । १ लाख ५३ हजार ८ हेक्टरमध्ये १ लाख १५ हजार १ सय ५९ हेक्टरमा वन छ ।

प्रकाशित : जेष्ठ १९, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?