काम नसकिएका १८ सय ठेक्का भंग हुँदै 

विमल खतिवडा

काठमाडौँ — समयमै काम नसकिएका करिब १८ सय सार्वजनिक निर्माण ठेक्का सम्झौता भंग हुने भएका छन् । छैटौँ पटक संशोधित सार्वजनिक खरिद नियमावलीमा ठेक्का अवधिको ५० प्रतिशतभन्दा बढी समय थप गर्न नमिल्ने व्यवस्था गरिएपछि यी ठेक्कामा काम अघि बढाउन समस्या परेको नेपाल निर्माण व्यवसायी महासंघको भनाइ छ । संशोधित नियमावली वैशाख ३० देखि लागू भइसकेको छ ।

काम नसकिएका १८ सय ठेक्का भंग हुँदै 

अहिलेसम्म एक हजार ठेक्का सम्झौता भंग हुने अवस्थामा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले जानकारी दिए । बाँकी ठेक्काका विषयमा अध्ययन भइरहेको उनले बताए । ‘सुरु सम्झौताको ५० प्रतिशतभन्दा बढी हुने गरी म्याद थप्न पाइँदैन,’ नियमावलीमा भनिएको छ । म्याद थप नहुने ठेक्का स्वतः खारेजीमा जानेछन् । ‘समयमै काम नसकिएका ठेक्का सम्झौता भंग गर्नुको विकल्प छैन,’ सचिव कार्कीले भने ।


निर्माण व्यवसायी भने नयाँ व्यवस्था सच्याउनुपर्ने मागसहित आन्दोलित भएका छन् । नियमावलीका धेरैजसो बुँदा राम्रा भए पनि ५० प्रतिशतभन्दा बढी समय नथप्नेलगायत केही बुँदाले अप्ठ्यारो पारेको उनीहरू बताउँछन् । ‘संशोधित अधिकांश बुँदा ठीक भए पनि ५/६ वटाले निर्माण अघि बढाउन सकिँदैन,’ महासंघका अध्यक्ष रवि सिंहले भने, ‘नियमावलीमा निर्माण कम्पनीको अस्तित्व नै नरहनेसम्मका व्यवस्था छन् ।’


नियमावली लागू भएपछि धेरै निर्माण व्यवसायी कालोसूचीमा पर्ने उनको भनाइ छ । नयाँ ठेक्काका लागि मात्रै संशोधित नियमावली लागू गर्नुपर्ने उनको धारणा छ । ‘पुराना ठेक्कामा पनि यो नियम लागू गर्दा व्यवसायी संकटमा पर्छन्,’ उनले भने । नियमावलीले पहिलाका केही ठेक्कालाई असर गरे पनि नयाँलाई समस्या नपर्ने कार्कीले बताए । ‘नयाँ काममा कुनै असर हुँदैन,’ उनले भने, ‘समस्या पुराना ठेक्कालाई मात्र हो ।’


सडक विभागअन्तर्गतका मात्रै करिब १ हजार निर्माण कार्यको समय कुल अवधिको ५० प्रतिशतभन्दा बढी रहेको अनुमान गरिएको छ । ‘संशोधित नियमावलीले निर्माण व्यवसायीको क्षमतासमेत तोकिदिएको छ । एउटै व्यवसायीले ५/१० वटा ठेक्का लिन नपाउने व्यवस्था गरेको छ,’ सचिव कार्कीले भने, ‘यसअघि एउटै निर्माण व्यवसायीले थोरै निर्माण उपकरण भए पनि धेरैतिर ठेक्का पाउँथे । अब एउटैले चार/पाँचवटा ठेक्का लिने प्रवृत्ति अन्त्य हुनेछ ।’


पहिले पूर्वतयारी नहुने, निर्माण क्षेत्र स्पष्ट नगर्ने, निर्माण व्यवसायीले ढिलाइ गर्ने जस्ता समस्या थिए । सार्वजनिक खरिद ऐन एवं नियमावलीले त्यस्ता ठेक्कालाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रस्ट्याएको थिएन । त्यसैले धेरै ठेक्का लामो समयदेखि अलपत्र परेको र त्यसले समग्र पुँजीगत खर्च हुन नसकेको सरकारको निष्कर्ष छ ।


‘यसलाई नियन्त्रण गर्न नियमावली ल्याइएको हो, केही कमजोरी भए वार्ताबाट समाधान गर्ने उपाय छँदै छ,’ उनले भने, ‘तर संशोधित नियमावलीअनुसार काम गर्नै नसक्ने अवस्था भने होइन ।’ ठेक्का सम्झौता अवधिबारे मातहतका कार्यालयबाट जानकारी लिने काम भइरहेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए ।


महासंघले नियमावलीका केही बुँदाको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नयाँ बोलपत्र बहिष्कार गर्दै इजाजतपत्र सरकारलाई बुझाउने उसको चेतावनी छ । ‘व्यवसायीले आ–आफ्नो इजाजतपत्र महासंघमार्फत भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र सम्बन्धित जिल्ला संघले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई बुझाउने भएका छन्,’ केही दिनअघि महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


यसबारे प्रधानमन्त्रीलाई समेत जानकारी गराइसकेको महासंघ अध्यक्ष सिंहले बताए । ‘प्रधानमन्त्रीज्यूले तपाईंहरूसँग सहकार्य नगरेर गल्ती भयो । तर कामै नगर्नेलाई कारबाही गर्नुपर्छ भनेर यस्तो नियम ल्याएको भन्नुभएको छ,’ उनले भने । सम्झौता भंग गर्ने भनिएका ठेक्काको भुक्तानी नपाएर उल्टै समस्या परिरहेको उनको भनाइ छ । म्याद सकिएका ठेक्कामा करिब ६५ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ २०, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?