कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कोइराला निवासका सुरक्षाकर्मी हटाइए

विनोद भण्डारी

विराटनगर — कोइराला निवासबाट सरकारले सुरक्षाकर्मीको युनिट हटाएको छ । मातृका, बीपी र गिरिजाप्रसाद कोइरालालगायत देशलाई विभिन्न समय तीन प्रधानमन्त्री दिने निवासलाई दुई दशकदेखि सशस्त्र प्रहरीको एक टुकडीले सुरक्षा दिँदै आएको थियो ।

कोइराला निवासका सुरक्षाकर्मी हटाइए

सशस्त्र द्वन्द्वका बेला २०५४ मा निवासको पश्चिम क्षेत्रमा सुतली बम विस्फोट गराइएको घटनापछि सशस्त्र प्रहरीले सुरक्षा दिन थालेको थियो । नेपाली प्रजातान्त्रिक आन्दोलन र कांग्रेसको इतिहासको धरोहरका रूपमा रहेको कोइराला निवासबाट सुरक्षाकर्मीलाई हटाउनु उचित नभएको मोरङ कांग्रेस सचिव नागेश कोइरालाले बताए ।


कांग्रेसलाई शृंखलाबद्ध रूपमा प्रहारको एउटा पाटोका रूपमा निवासबाट सुरक्षा युनिट हटाउनु पनि रहेको आरोप उनको छ । ‘सरकारको यो प्रकरण कांग्रेसमाथिको नियोजित प्रहार हो,’ उनले भने । सुरक्षा युनिट फिर्ताको निर्णयबारे स्थानीय प्रहरी–प्रशासनले भने अनभिज्ञता जनाएका छन् ।


‘स्थानीय प्रशासनले सशस्त्र प्रहरीको टुकडीलाई हटाएको होइन,’ मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले भने, ‘गृह मन्त्रालयले हटाएको होला । यसबारे हामीलाई केही पनि थाहा छैन ।’ उनले स्थानीयस्तरबाट कोइराला निवासको सुरक्षार्थ प्रहरीको पिकेट परिचालन गर्ने तयारी गरेको जनाए ।


सशस्त्र प्रहरीको असईको नेतृत्वमा १४ जनाले निवासको सुरक्षा गर्दै आएका थिए । निवासकी सहयोगी लक्ष्मी सुवेदीले भनिन्, ‘गएको बिहीबार सशस्त्र प्रहरी सरकारले फिर्ता बोलाएको भन्दै सामान लिएर हिंडेपछि निवास सुरक्षाविहीन भएको छ ।’


यो निवासलाई कांग्रेस र अन्य राजनीतिक दलका नेता/कार्यकर्ताले ऐतिहासिक धरोहरका रूपमा लिँदै आएका छन् । यही निवासबाट पिताजी कृष्णप्रसाद कोइरालाले तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणालाई नेपाली जनताको वास्तविक अवस्था देखाउन फाटेको भोटोको पार्सल गरेर पठाएको र प्रजातान्त्रिक आन्दोलनको सुरुवात गरेको मानिन्छ ।


पिताजीका तीनवटै छोरा विश्वेश्वर, मातृका र गिरिजाप्रसाद प्रधानमन्त्री भएका थिए । सशस्त्र प्रहरीको युनिट हटाइएपछि निवासमा हाल सुरक्षाका लागि कोइराला परिवारका सहयोगी लक्ष्मीसहित चार जना बस्दै आएका छन् । ‘निवासका कुनै पनि कोठामा कहिल्यै साँचो लाग्दैनथ्यो । लक्ष्मीले भनिन्, ‘प्रहरी हटाएपछि आमा नोना, गिरिजाबाबु र अहिले शेखर कोइरालाले प्रयोग गर्ने कोठामा साँचो लगाइएको छ ।’


निवास कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले प्रयोग गर्दै आएका छन् । कांग्रेसका कतिपय नेताहरू विराटनगर आउँदा यही निवासमा अझै पनि बस्ने गर्छन् । मुलुकका विभिन्न भागबाट विराटनगर घुम्न र शैक्षिक भ्रमणमा आउने टोली एकपटक यो निवासमा पुगेकै हुन्छन् ।


पिताजी कृष्णप्रसादको नासोका रूपमा मानिएको निवास र यसको जग्गाजमिन नोना र गिरिजाप्रसादको निधनपछि पारिवारिक अंशबण्डाका कारण पहिलेभन्दा केही खुम्चिएको छ । निवासको दक्षिणपट्टि रहेको आफ्नो भागमा परेको ८ कट्ठा जमिन बीपीका सन्तान प्रकाश, शशांक, श्रीहर्ष र छोरी चेतनाले बिक्री गरेपछि तिनमा अहिले व्यापारिक भवन निर्माण गरिएका छन् ।


निवासको उत्तरपट्टिको जमिन तारिणीप्रसाद कोइरालाको भागमा परेको छ । पूर्वपट्टिको जमिन गिरिजाप्रसादकी छोरी सुजाताको भागमा परेको छ । आफ्नो भागको जग्गामा उनले भवन निर्माण गर्न लगाएर जीपी फाउन्डेसनको कार्यालय राखेकी छन् । पुरानो निवासको स्वामित्व हाल केशव–नोनापुत्र डा. शेखर र नीरञ्जनको नाममा छ ।


कोइराला निवास संग्रहालय जस्तो छ । घुम्न पुग्नेहरूका लागि सधैँ खुला छ । सुरक्षा युनिट फिर्ता गर्न गृह मन्त्रालयको पत्र आएको सशस्त्र प्रहरी प्रवक्ता डीआईजी सुरजकुमार श्रेष्ठले बताए । ‘दिवंगत उच्चपदस्थका घरबाट सेक्युरिटी युनिट फिर्ता बोलाएर नियमित काममा लगाउनु भन्ने परिपत्र छ,’ उनले भने, ‘त्यसअनुसार अरू ठाउँमा पनि हामीले सुरक्षा दिएका युनिटलाई व्यवस्थापन गर्दै लैजान्छौं ।’

प्रकाशित : जेष्ठ २०, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?