सीमामा २ हजार नयाँ स्तम्भ

दीपेन्द्र विष्ट

काठमाडौँ — नेपाल–भारत सीमामा २ हजार ३५ वटा नयाँ स्तम्भ निर्माण गरिएका छन् । १ हजार ९ सय ५७ वटा स्तम्भ मर्मत गरिएको नापी विभागले बताएको छ । नेपाल–भारत सीमा सर्वेक्षण टोलीले स्तम्भ निर्माण तीव्र पारेको विभागका महानिर्देशक प्रकाश जोशीले बताए । ‘दुवै देशका नापी, परराष्ट्र, गृहलगायत पदाधिकारी टोलीमा सहभागी छन्,’ उनले भने । 

सीमामा ८ हजार ५ सय ५३ स्तम्भ रहनेछन् । ४ हजार ५ सय ६१ स्तम्भ निर्माण बाँकी रहेको जोशीले जानकारी दिए । बाँकी स्तम्भसमेत निर्माण भइरहेको उनको भनाइ छ । ९ सय १६ वटा मुख्य र ७ हजार ६ सय ३७ वटा सहायक स्तम्भ छन् । ‘बढीमा दुई किमि फरकमा स्तम्भ निर्माण गरिराखेका छौं,’ उनले भने, ‘एक स्तम्भबाट अर्को स्तम्भ देखिनुपर्‍यो, नदेखिने भए कमै दूरीमा पनि स्तम्भ निर्माण गर्छौं ।’


दुवै देशका पदाधिकारी अनुगमन, निरीक्षण र निर्माणमा सहभागी जोशीले जानकारी दिए । सीमाजस्तो अति संवेदनशील विषयमा टोलीले सूक्ष्म तरिकाले अध्ययन गरेर मात्र स्तम्भ निर्माण गर्ने उनको भनाइ छ । सन् १९८० मा सीमासम्बन्धी नेपाल–भारत संयुक्त प्राविधिक समितिले संयुक्त विवरण तयार पार्ने निर्णय भएको थियो । त्यसपछि चरणबद्ध रूपमा विभिन्न पटक भएका बैठक र छलफलबाट काम अघि बढाइएको पाइन्छ । यसअनुसार आर्थिक वर्ष २०७१/७२ मा १ सय ९५ मर्मत र ९ वटा नयाँ स्तम्भ निर्माण भएका छन् ।


आव ०७२/७३ मा ९ सय १७ मर्मत र २ सय ९० वटा नयाँ स्तम्भ निर्मार्ण भएका छन् । ०७३/७४ मा २ सय ७८ वटा मर्मत र ३ सय ४ वटा नयाँ बनेका छन् । ०७४/७५ मा १ सय ८९ वटा मर्मत र ४ सय ३१ वटा नयाँ निर्माण भएको विभागअन्तर्गतको स्थल नापी तथा भू–उपयोग व्यवस्थापन महाशाखाले जनाएको छ । आव ०७५/७६ मा २ सय ७१ मर्मत र १ हजार १ वटा नयाँ स्तम्भ बनाइएका छन् । नेपाल–भारत सीमा १ हजार ८ सय ८० किमि छ । यसमध्ये जमिन सिमानाको भाग १ हजार २ सय ४० र नदीको ६ सय ४० किमि छ । ६ सय किमिमध्ये २ सय किमि महाकाली, २० किमि नारायणी, ८० किमि मेची र ३ सय ४० किमि अन्य स–साना ५४ वटा नदीनालाले छुट्याएका छन् ।


नेपालका ६ प्रदेशका २७ जिल्ला र भारतका ४ प्रदेशका २० वटा जिल्ला नेपाल–भारत सीमासँग जोडिएका छन् । ‘विगतमा काम हुन नसके पनि अहिले केही नयाँ र आधुनिक तरिकाबाट सीमा स्तम्भ बनाइएको छ,’ महानिर्देशक जोशीले भने, ‘जीर्ण सीमास्तम्भ नयाँ तरिकाबाट सोही ठाउँमा पुनर्निर्माण गरिएको छ भने दुई देशको सहमतिअनुसार नयाँ स्थानमा सीमा स्तम्भ निर्माण गरेका छौं ।’ सन् २०२१ सम्ममा सबै स्तम्भ निर्माण तथा मर्मत गरिसकिने जानकारी जोशीले दिए ।


दुई जिल्लामा २ सय ८४

भैरहवा– रूपन्देही र कपिलवस्तुका दशगजा क्षेत्रमा २ सय ८४ सीमा स्तम्भ गाडिएको छ । नेपाल–भारतको संयुक्त बैठकले पुनर्निर्मित स्तम्भको प्रमाणीकरण गरेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेल, रूपन्देहीका उदयबहादुर रानामगर, भारतको सिद्धार्थनगरकी प्रमुख विकास अधिकारी हर्षिता माथुर, बलरामपुरका सहायक जिल्ला अधिकारी अरुणकुमार शुक्ला र महाराजगन्जका सहायक जिल्ला अधिकारी जसधीर सिंहले प्रमाणीकरण गरेका हुन् ।


नेपाल–भारत सीमा सर्वेक्षण टोलीले नवलपरासीदेखि बर्दियासम्म ४ सय १८ किलोमिटर क्षेत्रमा स्तम्भ निर्माण र सर्वेक्षणको जिम्मा पाएको थियो । त्यसमध्ये दुई जिल्लामा स्तम्भ निर्माण गरिएको हो । रूपन्देही सीमामा ३ सय ५१ वटा स्तम्भ बनाउनुपर्नेछ । यस वर्ष ८१ वटा गाडिएको छ । तिनमा नेपालले ४० र ४१ वटा भारत सरकारले निर्माण गरेका हुन् । कपिलवस्तुमा २ सय ४२ बनाउनुपर्नेमा २ सय ३ वटा बनाइएको छ । ३८ वटा निर्माण गर्न बाँकी छन् ।


दुई देशको सहमतिअनुसार नेपालले बिजोर नम्बरका स्तम्भ बनाउनुपर्नेछ । यस वर्ष जंगल, नदी, सुक्खा नदीलगायत अप्ठ्यारो ठाउँमा समेत स्तम्भ निर्माण गरिएको सीमा सर्भे टोलीका नापी अधिकृत उमेश कुमारले बताए । गहिरो नदी परेको ठाउँमा भने निर्माण गरिएको छैन । बाँकी स्तम्भ अर्को वर्ष बनाइनेछ । नेपाल–भारत सर्भे अफिसियल कमिटी (एसओसी) को संयुक्त बैठकले जुनजुन ठाउँमा स्तम्भ बनाउन निर्देशन दिन्छ, त्यहीअनुसार २०१९ को डिसेम्बरबाट पुनर्निर्माण थालिनेछ ।


कहिले कति ?

०७१/७२१९५ मर्मत ९ निर्माण

०७२/७३९१७ मर्मत २९० निर्मार्ण

०७३/७४२७८ मर्मत ३०४ निर्माण

०७४/७५ १८९ मर्मत ४३१ निर्माण

०७५/७६२७१ मर्मत १००१ निर्माण

प्रकाशित : जेष्ठ २०, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?