१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पानी माग्ने परम्परा : गाेरु भ्याउने खेल र भ्यागुताे नाच

मोहन बुढाऐर

हसुलिया, कैलाली — बादल उमरी आयल बडारिया रे, कुहुसे हुरीबतास कुहुसे बादल बडारिया झमझम पानी आइल, हमारा पुर्खा चलन सफल होइन
थारू महिलाका गीतले बादल बोलायो, वर्षा निम्त्यायो । ढिला वर्षा भएर खेती लगाउन गाह्रो परेका वर्ष गर्ने गरिएका परम्परागत भ्यागुतो नाच र गोरु भ्याउने खेल यतिबेला कैलालीका विभिन्न थारू बहुल बस्तीमा भइरहेका छन् ।

पानी माग्ने परम्परा : गाेरु भ्याउने खेल र भ्यागुताे नाच

लामो समयदेखि पानी परेको छैन । खेत सुकेर चिराचिरा पर्न थालेपछि देउतासँग पानी माग्दै थारू किसानले परम्परागत खेल खेल्न सुरु गरेका हुन् ।


‘यसपालि पानी पर्न ढिला भयो । धानको ब्याड राख्न पाइएन,’ कैलाली हसुलियाका भागिराम चौधरीले भने, ‘गहुँ काटेर भित्र्याएपछि माटो खुकुलो पार्न एकसरो खेत जोत्ने चलन छ । जमिन साह्रो भएर जोत्न पनि सकिएको छैन ।’ एक झमट पानी नपर्दासम्म हलगोरु लगाएर खेत जोत्न मुस्किल भइरहेको उनले बताए ।


‘ट्याक्टरको जोताइमा पनि डल्ला बढी आउँछ,’ उनले भने, ‘चिम्टाइलो खेतको माटो सुकेर ढुंगाजस्तो भएको छ ।’ त्यसैले थारूहरू वर्षाका देवता इन्द्रसँग पानी माग्न परम्परागत कर्म गरिरहेको उनले बताए ।


उनका अनुसार यतिबेला थारू बस्तीहरूमा गोरु भ्याउने खेल भइरहेका छन् । हसुलिया र नवलपुरका दुई बस्तीमा स्थानीयले शनिबार गोरु भ्याउने खेल खेले । हसुलिया गाउँका केही महिला थारू पुरुषका परम्परागत वेशभूषामा नवलपुर गाउँमा पसे । त्यहाँबाट दुई महिलालाई अपहरण शैलीमा चोरेर ल्याए । त्यसलाई उनीहरूले ‘हल चोर्ने’ भन्छन् ।


चोरेर ल्याएकी महिलालाई पहिला मिठोमिठो भोजन गराइयो । त्यसपछि गाउँको खेतमा लगियो । खेतमा हलो तान्न लगाइयो । गाउँकी एक महिलाले हलो समातिन् । केहीबेरमा हराएकी महिलालाई खोज्दै नवलपुर गाउँका अरू महिलाहरू आए । त्यसपछि दुवै पक्षका महिलाबीच दोहोरी चल्यो ।


इन्द्र देवतालाई खुसी पार्न रागजस्तै मानिने लोकगीतलाई थारूहरू ‘साजना’ गाउने भन्छन् । साजना गाएर गाउँका महिलाले रात बिताए । बिहानपख भलमन्साको घरआँगनमा आए । त्यहाँ चोरेर ल्याएकी महिलाको सेवा–सत्कार गरियो । मिठो खानेकुरा दिइयो । खेलमा सहभागी महिलाहरूले पनि खानेकुरा खाइसकेपछि सामूहिक नाचगान आइतबार दिउँसोसम्म चल्यो ।


दिउँसो महिलाहरूले पुनः ‘बादल उमरी आयल...’ गाउँदै घरखेत चहार्न गए । उनीहरूले हरियो जे भेट्टाए, त्यो टिपेर ल्याए । ‘थारू महिला मात्रै सहभागी हुने यो खेल आफैंमा रमाइलो भए पनि वर्षा बोलाउने संस्कृति हो,’ स्थानीय आशा चौधरी भन्छिन्, ‘गाउँघरबाट हरियो तरकारी, खरबुजा काँक्रा र केरालगायत फलफूल टिपेर लिएर पुनः भलमन्साको घरमा सामूहिक भोज गरी गोरु भ्याउने खेल समापन गरियो ।’


पानी पार्नका लागि हसुलियाका कुलदीप थारूको टोलमा भने भ्यागुता नाचको आयोजना गरियो । ‘भ्यागुतासँग नाचियो, अब पानी पर्छ होला,’ उनले भने, ‘पानी पर्न ढिला भएका वर्ष भ्यागुना नाच हामी छुटाउँदैनौं ।’ उनका अनुसार नाचका लागि गाउँले युवकहरूले एउटा भ्यागुतोलाई छोपेर ल्याउँछन् । ‘भ्यागुताको जस्तै ट्यारट्यार आवाज गर्दै नाचेपछि पानी पक्का पर्ने भन्ने हाम्रो विश्वास हो,’ उनले भने, ‘हाम्रा पुर्खादेखि पानी पार्न यस्तै गर्दै आएका थिए ।’

प्रकाशित : जेष्ठ २०, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?