१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

चन्द नेतृत्वको नेकपा कार्यकर्ताको गतिविधि बढेपछि सोलुखुम्बुको महाकुलुङमा सुरक्षा सतर्कता बढाइयो

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा आईतबार राति चन्द नेतृत्वको नेकपा कार्यकर्ताको गतिविधि बढे लगत्तै सोमबार बिहानबाटै सुरक्षा सतर्कता बढाइएको छ । उनीहरुले प्रहरी चौकी आक्रमणका लागि आएको हुनसक्ने अनुमान गरिएको थियो ।

चन्द नेतृत्वको नेकपा कार्यकर्ताको गतिविधि बढेपछि सोलुखुम्बुको महाकुलुङमा सुरक्षा सतर्कता बढाइयो

कतिपयले आक्रमण नै भएको दाबी गरेपनि चौकी नजिकै रहेका स्थानीयले आक्रमण नभएको बताएका छन् । ‘दुईवटा समूहको गतिविधि राति देखिएको भन्ने केही प्रत्यक्षदर्शीको कुरा छ,’ एक स्थानीयले टेलिफोनमा भने, ‘ती दुई समूह मध्ये एक समूह राति नै संखुवासभातर्फ लागेको र एक समूह सोलुखुम्बुतर्फ लागेको गाउँलेबाट मैले पनि सुनेको हुँ ।’ तर उनीहरुले चौकीमै आएर आक्रमण नगरेको उनले बताए ।


चन्द समूहका कार्यकर्ताहरुले भने आक्रमणका लागि चौकीमा पुग्दा प्रहरीहरु भागेर कोही नभएको दाबी गरेका छन् । उक्त दाबी पुष्टि भएको छैन । असईको कमाण्डमा रहेको चौकीमा सातजनाको दरबन्दी भएपनि आईतबार चारजना मात्र रहेको जनाइएको छ । प्रहरी र प्रशासनले आक्रमण नभएको तर विप्लव निकट माओवादीको गतिविधि बढेको स्वीकारेका छन् ।


‘आक्रमण भएको हुँदै होइन । उनीहरुको गतिविधि भने बढेको देखेर जिल्लाकै केही सुरक्षाकर्मी त्यता तर्फ पठाइएको मात्र हो,’ प्रमूख जिल्ला अधिकारी नरेन्द्र मगरले भने, ‘नितान्त निगरानीका लागि सुरक्षा पठाइएको हो । विराटनगरतिरबाट सुरक्षा थप गरिएको भन्ने यतिखेरसम्म हैन ।’


केही समयअघिदेखि छेस्काम बजारमा नौलो मान्छेहरुको गतिविधि बढेको स्थानीयको भनाई छ । ति नौलो मान्छेहरु जिल्ला बाहिरकै भएको उनीहरुको अनुमान छ । संखुवासभा जिल्लाको सीमाना नजिक र विकट भएकोले पनि चन्द नेतृत्वका नेकपाका कार्यकर्ताहरुले सेल्टरको रुपमा छेस्कामलाई प्रयोग गरेको हुनसक्ने स्थानीय नेताले बताए ।

प्रकाशित : जेष्ठ २०, २०७६ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?