खकारको नमुना संकलन गर्न ड्रोन

क्षयरोग पत्ता लगाउन ड्रोनले खकारको नमुना स्वास्थ्य संस्थामा पुर्‍याउन थालेपछि बिरामीलाई सहज ।
गिरुप्रसाद भण्डारी

प्यूठान — स्वास्थ्यचौकीदेखि घर टाढा छ । स्वास्थ्य जँचाउन लैजाने मान्छे छैन । हिंड्डुल गर्न सकिँदैन । अब यस्ता समस्या हुँदैमा क्षयरोग परीक्षण नरोकिने भएको छ । प्यूठानमा ड्रोनले खकारको नमुना स्वास्थ्य संस्थासम्म पुर्‍याउँछ ।

प्यूठान नगरपालिका–४ मा आइतबार ड्रोनमार्फत ढुवानी गरेर ल्याइएको बिरामीको नमुना खकार निकाल्दै स्वास्थ्यकर्मी । तस्बिर: गिरुप्रसाद/कान्तिपुर 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आइतबार प्यूठान नगरपालिका–४, बिजुवारबाट ड्रोन उडाएर नमुना संकलन कार्यको सुरुआत गरेका छन् । बिजुवारबाट उडेको ड्रोनले १० मिनेटमा प्यूठान नगरपालिका–७ स्थित खप्रेङखोलाको धर्मावती स्वास्थ्यचौकीमा पुगेर बिरामीको खकारको नमुना ल्याएको थियो ।

स्वास्थ्य संस्थाबाट नमुना संकलन गरेपछि ड्रोनले परीक्षणका लागि विशेषज्ञ अस्पतालमा पुर्‍याउने गर्छ । ड्रोनमा खकारका नमुना राख्ने र उडाउने तालिम स्वास्थ्य संस्थाका कर्मचारीलाई दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रमा रहेका क्षयरोगीको पहिचान गरेर उपचार गर्न बिराट नेपाल मेडिकल ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोगमा ड्रोन प्रयोगमा ल्याइएको जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले बताए । सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुसार काम गरिरहेको उनले बताए ।

नयाँ प्रविधिबाट रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने उनले बताए । ‘क्षयरोग नियन्त्रण गर्न ड्रोन प्रयोगले धेरै फाइदा पुग्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘यसले स्वास्थ्यकर्मीमा नयाँ उत्साह थपेको छ ।’ एक वर्ष परीक्षण अवधि रहने र सफल भए कार्यक्रम थप गर्ने सुवेदीले बताए । जिल्लाको स्वर्गद्वारी र प्यूठान नगरपालिकामा ड्रोनको प्रयोग भइरहेको सुवेदीले बताए ।

जिल्लामा दुइटा ड्रोनबाट खकार संकलन र औषधि ढुवानी गर्न थालिएको फलाइङ ल्याब ड्रोन नेपाल प्रालिका संयोजक उत्तम पुडासैनीले बताए । उनका अनुसार एउटा ड्रोन जिल्ला अस्पताल बिजुवार र अर्को प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा रहनेछ । ‘दुवै स्थानीय तहका स्वास्थ्य संस्थामा परीक्षण उडान गरिसकेका छौँ,’ उनले भने, ‘ड्रोन उडाउन समस्या छैन ।’ स्थानीय तह, प्रदेश र केन्द्रको सञ्चार र गृह मन्त्रालयबाट स्वीकृति लिएर जिल्लामा ड्रोनमार्फत औषधि र खकारको नमुना ढुवानी गर्न थालेको उनले बताए ।

ड्रोनले एकपटकमा सात किलोसम्म ढुवानी गर्न सक्ने पुडासैनीले बताए । ‘३० मिनेटसम्म ड्रोन उडाउन सकिन्छ,’ उनले भने, ‘प्रतिमिनेट एक किलोमिटर दूरी पार गर्छ ।’ जिल्ला जनस्वास्थ्यको तथ्यांकअनुसार जिल्लामा ३ सय ८९ क्षयरोगी छन् ।

प्यूठान नगरपालिकामा ८१ र स्वर्गद्वारीमा ६१ जना बिरामी छन् । प्यूठान अस्पताल बिजुवार र प्राथमिक स्वास्थ केन्द्र भिंगृमा जोन एक्स्पर्ट मेसिनबाट क्षयरोग परीक्षण गर्न थालिएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘स्मार्ट पिलबक्समा औषधि राखेर जिल्लाका ५८ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने योजना छ,’ जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले भने, ‘त्यस बक्समा चिप्स प्रयोग गरिने भएकाले बिरामीले औषधि खाए/नखाएको निगरानी गर्न सकिन्छ ।’

प्रकाशित : जेष्ठ २०, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्

चट्याङ लागेर एक महिलाको मृत्यु 

७ बाख्रा समेत परे
गिरुप्रसाद भण्डारी

प्यूठान — नौबहिनी गाउँपालिका–५,डाम्रीमा च्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार स्थानीय काढे जंगलमा बाख्रा चराउन गएकी  ६४ वर्षीय गोठी बुढामगरको मृत्यु भएको हो । 

चट्याङ लागेर घाइते भएकी बुढालाई घरमा ल्याएर उपचार गर्न लैजाने तयारी गर्दागर्दै राति मृत्यु भएको इलाका प्रहरी कार्यालय बहानेका प्रहरी सहायक निरीक्षक तिलक रोकाले बताए ।

चट्याङमा परेर ३ बोका र ४ बाख्रा समेत मरेको रोकाले बताए । दुई वटा बाख्रा घाइते भएका छन् ।

प्रकाशित : जेष्ठ २०, २०७६ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्