सुर्खेतमा शाही पक्राउ–'अपमानजन्य’ बोलेपछि 'पक्राउ र यातना’

कलेन्द्र सेजुवाल

सुर्खेत — ‘जेठ १६ गते बिहान ८ बजे बुटवलमा भेटौँ, कान्तिपथ विश्व हिन्दु महासंघको हलमा ।’ फेसबुकमा यस्तो लेखेकै दिन ज्ञानेन्द्र शाही जेठ १५ गते सुर्खेतबाट पक्राउ परे । कारण थियो– एक महिनाअघि एउटा अनलाइनमार्फत सुर्खेत र कर्णालीका पत्रकारलाई गरिएको गालीगलौज तथा अभद्र अभिव्यक्ति ।

‘भ्रष्टाचारविरुद्ध बोलेकै कारण पक्राउ गरिएको भन्ने भ्रम फिँजाइएको रहेछ,’ सोमबार वीरेन्द्रननगरमा पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी महेशविक्रम शाहले भने, ‘ पत्रकार महासंघको उजुरी र सुर्खेत जिल्ला अदालतबाट प्राप्त पक्राउ अनुमतिपत्रका आधारमा गिरफ्तार गरिएको हो ।’


जुम्ला सिँजाका शाही एसएलसीपछि २०६३/६४ सालमा काठमाडौंको त्रिचन्द्र क्याम्पसमा आईएस्सी पढ्न गए । त्यसपछि चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्न भारत गए । दाइ नाता पर्ने टोपबहादुर बुढाका अनुसार भारतको नाकाबन्दीविरुद्ध बोलेकै कारण उनी अध्ययनरत विश्वविद्यालयले त्यहाँबाट निष्कासन गर्‍यो ।


दिल्लीबाट फर्केपछि उनले केही समय ‘राष्ट्रका लागि एक दिन’ अभियान चलाए । विभिन्न जिल्लामा समूह गठन गरे । पछिल्लो समय भ्रष्टाचारविरुद्ध नारासहित शाहीलगायतले ‘नेपालका लागि नेपाली’ अभियान चलाएका छन् । अभियानमा अभिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने पनि छन् । अभियानले जेठ ९ मा काठमाडौं बानेश्वरमा नागरिक सभा गरेको थियो जसमा नायिका रेखा थापा र सुरेन्द्र केसी अतिथि वक्ता थिए । केसीले अभियानको दृष्टिकोण र सञ्चालन प्रक्रिया ‘स्पष्ट’ नपाएपछि आफूले वास्ता गर्न छाडेको बताए ।


शाही पक्राउ प्रकरण यही अभियानसँग जोडिएको छ । सोही अभियान लिएर सुर्खेत आएका उनले वैशाख १८ गते वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरे । पत्रकार महासंघका पदाधिकारअनुसार उनले कसैलाई खबर गरेनन् । साँझ उल्टै एउटा अनलाइनमा भिडियोमार्फत सुर्खेत र कर्णालीका पत्रकार ‘कुकुर हुन्, भ्रष्टाचारीका दलाल हुन्’ भन्ने टिप्पणी गरे । पत्रकार महासंघ कर्णाली प्रदेशले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही माग्दै उजुरी दिएको बताउँदै अध्यक्ष दुर्गा थापाले भने, ‘अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैलाई पनि आघात पुग्ने गरी बोल्ने छुट छैन ।’


यातनाले चर्चा

जेठ १५ गते फक्राउ परेलगत्तै रात्रिबसमा काठमाडौं पठाइएका शाहीको भोलिपल्ट एउटा भिडियो भाइरल भयो । वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार गराइरहेका उनले सुर्खेत प्रहरीले हिरासतमा निर्मम यातना दिएको र बसमा पनि अमानवीय व्यवहार गरेर काठमाडौं पुर्‍याएको बताए ।


‘संकटकालमा समेत कसैले यति धेरै यातना पाउँदैनथे,’ उनले भिडियोमा भने, ‘बसमा उल्टो हत्कडी लगाएर, नांगो खुट्टा काठमाडौं ल्याइयो ।’ उनले भ्रष्टाचारविरुद्ध बोलेकै कारण आफूमाथि अन्याय भएको बताएका छन् । प्रहरीले भने उनलाई यातना नदिएको, बरु पक्राउको क्रममा उल्टै प्रहरीमाथि आक्रमण गरेर भाग्न खोज्दा नियन्क्रणमा लिने त्रममा चोटपटक लागेको बताएको छ ।


सोमबार प्रदेश प्रहरी प्रमुख डीआईजी शाहले शाही र उनका समर्थकको प्रहारबाट प्रहरी निरीक्षक नीरञ्जन घिमिरेसहित ६ प्रहरी घाइते भएका बताए । ‘सुर्खेत प्रहरीले शाहीलाई हिरासत कक्षमा समेत नराखी सोधपुछ गरेर काठमाडौं पठाएको छ, अनि उनलाई हिरासतमा कसरी यातना दिइयो ? उनले नै कानुन हातमा लिई प्रहरीमाथि आक्रमण गरे, भाग्न खोजे ।’


कार्यक्रमस्थलबाट नियन्त्रणमा लिन खोज्दाको भिडियो, जिल्ला प्रहरी कार्यालयभित्र ल्याउँदै गर्दा र हिरासतभित्रको सीसीटीभी फुटेज हेर्दा यसबारे स्पष्ट हुने उनले दाबी गरे ।


पत्रकारमाथि दुर्व्यवहार

शाही पक्राउ परेपछि समर्थकले सामाजिक सञ्जालमार्फत पत्रकारलाई गालीगलौज गरेका छन् । पत्रकार महासंघ कर्णाली अध्यक्ष थापा, सुर्खेत जिल्ला अध्यक्ष गणेशकञ्चन भारती, नागरिक दैनिकका कर्णाली प्रदेश संयोजक नगेन्द्र उपाध्याय र लोकान्तर अनलाइनका शेरबहादुर थापामाथि यस्तो व्यवहार भएको भन्दै महासंघले दोषीमाथि कारबाहीको माग गरेको छ ।


‘ज्ञानेन्द्र शाहीले सामाजिक सञ्चालको दुरुपयोग गरी सार्वजनिक गरिएका सामग्री अभिव्यक्ति स्वतन्त्रताको उपभोगमात्रै हो भनेर भन्न सकिँदैन, उनका अभिव्यक्तिले कर्णाली प्रदेशका पत्रकारको आत्मसम्मानमा चोट पुग्नुका साथै असुरक्षा पैदा भएको छ,’ महासंघका केन्द्रीय महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालबाट अफवाह फैलाउनेविरुद्ध कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षामा ध्यान दिन महासंघ सम्बन्धित निकायसमक्ष माग गर्दछ ।’


नागरिक अधिकारकर्मीले भने उनीमाथि कुटपिटको विरोध गर्दै बोलेकै आधारमा उनीमाथि साइबर अपराध मुद्दा लगाउनु गलत भएको बताएका छन् । फ्रिडम फोरमले काठमाडौंमा भनेअनुसार ‘कसैको गाली बेइज्जती भएको भए सोहीअनुसार देवानी मुद्दा चलाउन सकिन्थ्यो ।’

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?