३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

ड्रोनबाटै खकार नमुना

गिरुप्रसाद भण्डारी

प्यूठान — स्वास्थ्यचौकीदेखि घर टाढा छ । स्वास्थ्य जँचाउन लैजाने मान्छे छैन । हिंड्डुल गर्न सकिँदैन । अब यस्ता समस्या हुँदैमा क्षयरोग परीक्षण नरोकिने भएको छ । प्यूठानमा ड्रोनले खकारको नमुना स्वास्थ्य संस्थासम्म पुर्‍याउँछ । 

ड्रोनबाटै खकार नमुना

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आइतबार प्यूठान नगरपालिका–४, बिजुवारबाट ड्रोन उडाएर नमुना संकलन कार्यको सुरुआत गरेका छन् । बिजुवारबाट उडेको ड्रोनले १० मिनेटमा प्यूठान नगरपालिका–७ स्थित खप्रेङखोलाको धर्मावती स्वास्थ्यचौकीमा पुगेर बिरामीको खकारको नमुना ल्याएको थियो ।


स्वास्थ्य संस्थाबाट नमुना संकलन गरेपछि ड्रोनले परीक्षणका लागि विशेषज्ञ अस्पतालमा पुर्‍याउने गर्छ । ड्रोनमा खकारका नमुना राख्ने र उडाउने तालिम स्वास्थ्य संस्थाका कर्मचारीलाई दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रमा रहेका क्षयरोगीको पहिचान गरेर उपचार गर्न बिराट नेपाल मेडिकल ट्रस्टको आर्थिक तथा प्राविधिक सहयोगमा ड्रोन प्रयोगमा ल्याइएको जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले बताए । सन् २०५० सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्यअनुसार काम गरिरहेको उनले बताए ।


नयाँ प्रविधिबाट रोग पत्ता लगाउन र उपचार गर्न सहज हुने उनले बताए । ‘क्षयरोग नियन्त्रण गर्न ड्रोन प्रयोगले धेरै फाइदा पुग्ने विश्वास गरेका छौँ,’ उनले भने, ‘यसले स्वास्थ्यकर्मीमा नयाँ उत्साह थपेको छ ।’ एक वर्ष परीक्षण अवधि रहने र सफल भए कार्यक्रम थप गर्ने सुवेदीले बताए । जिल्लाको स्वर्गद्वारी र प्यूठान नगरपालिकामा ड्रोनको प्रयोग भइरहेको सुवेदीले बताए ।


जिल्लामा दुइटा ड्रोनबाट खकार संकलन र औषधि ढुवानी गर्न थालिएको फलाइङ ल्याब ड्रोन नेपाल प्रालिका संयोजक उत्तम पुडासैनीले बताए । उनका अनुसार एउटा ड्रोन जिल्ला अस्पताल बिजुवार र अर्को प्राथमिक स्वाथ्य केन्द्र भिंगृमा रहनेछ । ‘दुवै स्थानीय तहका स्वास्थ्य संस्थामा परीक्षण उडान गरिसकेका छौँ,’ उनले भने, ‘ड्रोन उडाउन समस्या छैन ।’ स्थानीय तह, प्रदेश र केन्द्रको सञ्चार र गृह मन्त्रालयबाट स्वीकृति लिएर जिल्लामा ड्रोनमार्फत औषधि र खकारको नमुना ढुवानी गर्न थालेको उनले बताए ।


ड्रोनले एकपटकमा सात किलोसम्म ढुवानी गर्न सक्ने पुडासैनीले बताए । ‘३० मिनेटसम्म ड्रोन उडाउन सकिन्छ,’ उनले भने, ‘प्रतिमिनेट एक किमि दूरी पार गर्छ ।’ जनस्वास्थ्यको तथ्यांकअनुसार जिल्लामा ३८९ क्षयरोगी छन् । प्यूठान नगरपालिकामा ८१ र स्वर्गद्वारीमा ६१ जना बिरामी छन् ।


प्यूठान अस्पताल बिजुवार र प्राथमिक स्वास्थ केन्द्र भिंगृमा जोन एक्स्पर्ट मेसिनबाट क्षयरोग परीक्षण गर्न थालिएको छ । ‘स्मार्ट पिलबक्समा औषधि राखेर जिल्लाका ५८ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने योजना छ,’ जनस्वास्थ्य प्रमुख विशाल सुवेदीले भने, ‘बक्समा चिप्स प्रयोग गरिने भएकाले बिरामीले औषधि खाए/नखाएको निगरानी गर्न सकिन्छ ।’

प्रकाशित : जेष्ठ २१, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?