१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

शिक्षिकाद्वारा विद्यार्थी कुटपिट, १० दिन म्याद थपेर अनुसन्धान 

काशीराम डाँगी

रोल्पा — अन्धाधुन्ध विद्यार्थी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनविरुद्ध प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले पुनलाई मंगलबार सदरमुकाम लिबाङस्थित जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको हो । इलाका प्रहरी कार्यालय होलेरीका इञ्चार्ज प्रहरी निरीक्षक मेघनाथ चापागाइर्ंले अनुसन्धानपछि अदालतमा मुद्दा चलाइने जानकारी दिए ।

शिक्षिकाद्वारा विद्यार्थी कुटपिट, १० दिन म्याद थपेर अनुसन्धान 

म्याद थपपछि पुनलाई मंगलबार करिब ६० किलोमिटर टाढाको इलाका प्रहरी कार्यालय होलेरीमै फर्काइएको छ ।


रुन्टीगढी गाउँपालिका-८ मगरगोरी झेनामस्थित भानु आधारभूत विद्यालयकी शिक्षिका पुनले जेठ १२ गते प्रार्थनापछि १४ विद्यार्थीमाथि कुटपिट गरेकी थिइन् । प्रधानाध्यापक झगबहादुर भण्डारी तालिममा गएकाले निमित्त प्रधानाध्यापक भएकै दिन पुनले विद्यार्थी कुटेकी थिइन् । घाइतेमध्ये भीमकुमारी बाँठामगर, निर्मला पुनमगर, गौरी घर्तीमगर, शान्ता नेपाली र विमला रोकाको हात भाँचिएको छ । घाइतेको उपचार दाङमा गरिएको छ भने अन्यको उपचार होलेरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको थियो । कुटपिटको आरोप लागेपछि शिक्षिका पुनलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो ।


शिक्षिका पुन निजी स्रोतबाट नियुक्त भएकी हुन् । उनी विद्यालयमा लामो समयदेखि पढाउँदै आएकी थिइन् । स्थानीयका अनुसार उनले पहिले पनि विद्यार्थीमाथि कुटपिट गर्थिन् । 'उहाँ सधैं उग्र स्वभावकी देखिनुहुन्थ्यो,' एक शिक्षकले भने ।


प्रहरी-जनप्रतिनिधिबाट मेलमिलाप


गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले विद्यार्थी कुटपिटको घटनामा छलफलमार्फत मिलापत्र गराइएको बताए । 'घटनाबारे मैले १४ गते जानकारी पाएँ,' उनले भने, 'त्यसपछि स्थानीय न्यायिक समितिमार्फत छलफल गराउने प्रयास भएको थियो ।' उनका अनुसार पीडितले समितिमा उजुरी दिएका थिए । सम्बन्धित वडाका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर पुनमगर र प्रहरीसमेतको सक्रियता र उपस्थितिमा छलफल चलाइएको थियो । तर घटना गुपचुपमा राखिएको थियो ।


गाउँपालिकाका अध्यक्ष बुढामगरले घटनालाई गम्भीर रूपमा लिएको बताए । 'अब कानुनी कारबाही हुन्छ । शिक्षिकाले बालबालिका कुट्नुभएन,' उनले भने । सुरुमा पीडित विद्यार्थीको उपचार खर्च शिक्षिकाले बेहोर्ने सर्तमा छलफल टुंगिएको थियो । छलफलमा सहभागी कांग्रेसका स्थानीय नेता जनक पुनले सुरुमा घटनालाई स्थानीयले सामान्य रूपमा लिएकाले छलफल चलाइएको बताए । 'जनप्रतिनिधि, प्रहरी, अभिभावक र शिक्षिका पुनबीच उपचार खर्च बेहोर्ने सर्तमा छलफल भएको थियो,' उनले भने ।


यो पनि ।

शिक्षिकाको पिटाइले ५ छात्राको हात भाँचियो

प्रकाशित : जेष्ठ २१, २०७६ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?