चन्द समूहमा अन्तर्विरोध चर्किंदै

दीपेन्द्र विष्ट

काठमाडौँ — नेपाल बन्द आह्वान सफल पार्न बम विस्फोट गराउने क्रममा कार्यकर्ताको मृत्यु भएको घटनालाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपाभित्र नयाँ ‘सेक्टर काण्ड’ का रूपमा अर्थ्याउन थालिएको छ । सैन्य तालिम, सामान्य युद्धको नियमसमेत थाहा नभएका कार्यकर्तालाई विस्फोट गराउन निर्देशन दिँदा ठूलो क्षति पुगेको चन्द समूहको निष्कर्ष छ ।

चन्द समूहमा अन्तर्विरोध चर्किंदै

‘यो कारबाही अपरिपक्व हो । यो नयाँ ‘सेक्टर काण्ड’ जस्तो भएको छ,’ एक स्थायी समिति सदस्यले कान्तिपुरसँग भने ।


२०४४ मा तत्कालीन नेकपा मसालका महासचिव मोहन वैद्यको नेतृत्वमा उपत्यकाका ४/५ प्रहरी सेक्टरमा भएको दोहोरो भिडन्तमा प्रहरी र पार्टी कार्यकर्ता घाइते भएका थिए । पञ्चायती व्यवस्थामा उपत्यकामा प्रहरीमाथि हमला गर्दा कार्यकर्ता पक्राउ परेका थिए । त्यसलाई कम्युनिस्टहरू क्रान्ति गर्दाको असफल प्रयास (सेक्टर काण्ड) का रूपमा चित्रण गर्छन् ।


त्यसको ६ महिनापछि महासचिव वैद्यले पदबाट राजीनामा गरी पुष्पकमल दाहाललाई जिम्मेवारी दिएका थिए । त्यही घटनाको जस्तो अवस्था अहिले देखा परेको भन्दै चन्द समूहभित्र अन्तरविरोधसमेत चर्किएको छ । युद्ध गरेर जित्ने अवस्था नरहेको भन्दै एकथरी नेता र कार्यकर्ता वार्तामा जानुपर्ने पक्षमा छन् ।


गत साता बन्दको पूर्वसन्ध्यामा काठमाडौंमा विस्फोटका लागि सामग्री तयार पार्दा चार कार्यकर्ताको मृत्यु भएको थियो । एक जना घाइते ओम अस्पतालको आईसीयूमा जीवनमरणको दोसाँधमा छन् । उनको अहिलेसम्म ठेगाना पत्ता लागेको छैन । परिवार सदस्य सम्पर्कमा आउन सकेका छैनन् ।


‘सैन्य तालिमसमेत नदिएका कार्यकर्तामार्फत बम विस्फोट गराउँदा ठूलो क्षति भयो,’ ती स्थायी समिति सदस्यले भने, ‘मध्य कमान्ड इन्चार्जले मुख्य पार्टी नेतृत्वलाई स्मार्ट देखाउन जथाभावी कार्यकर्ता पठाए, त्यो नै ठूलो गल्ती थियो, त्यसले गर्दा क्षति भयो, यस्तो क्षति त सेक्टर काण्डमा पनि भएको थिएन ।’ सामान्य बन्दबाहेक अन्य मानवीय क्षति गर्ने पार्टीको नीति नभएको ती सदस्यले बताए । हाल मध्य कमान्डको नेतृत्वको जिम्मा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई दिइएको छ । गत पुसमा हेटौंडाबाट उपत्यका आउँदा छैमलेबाट पक्राउ परेपछि करिब एक महिनापछि उनलाई सरकारले रिहा गरेको थियो ।


रिहाइका लागि आफ्नै पार्टी सम्बद्ध विद्यार्थी नेता चिरिञ्जीवी ढकाललाई पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमार्फत सरकारसँग सम्पर्क सूत्रका रूपमा पठाएको आरोपसमेत उनीमाथि लागेको थियो ।


त्यसले पनि पार्टीमा विवाद चुलिएको थियो । यसरी सूचना चुहाएको, पार्टीको आधिकारिक लाइनविरुद्ध सरकारसँग वार्ता गर्न मौखिक सहमति गरेको आरोपपछि स्थायी कमिटी बैठकले विश्वकर्मालाई मध्य कमान्ड इन्चार्जबाट हटाएको थियो । करिब डेढ महिनाको निलम्बनपछि स्थायी कमिटी बैठकमा आत्मालोचना गरेपछि पुन: विश्वकर्मालाई मध्य कमान्डको जिम्मेवारी दिइएको थियो ।


जिम्मेवारीपछि विश्वकर्माले मध्य कमान्डअन्तर्गतका जिल्लाको जिम्मेवारी पाएका केन्द्रीय सदस्य टेकबहादुर केसी, पुरुषोत्तम विष्ट, नवीन विश्वकर्मा र माइला लामालाई मकवानपुर वरपर बोलाएर अन्य जिल्लाभन्दा उपत्यकामा बन्दको प्रभाव बढी देखाउन निर्देशन दिएका थिए ।


‘उनले (विश्वकर्मा) पार्टी नेतृत्वलाई तत्काल काम देखाउने मनसायअनुसार कार्यकर्ता परिचालन गरे, राजधानीका विभिन्न स्थानमा ठूलो मात्रामा विस्फोटक पदार्थ राखे तर त्यसबाट पार्टीलाई ठूलो क्षति भयो । वास्तवमा यो सेक्टर काण्डभन्दा पनि ठूलो गल्ती थियो, यो कमान्डरको ‘घातक कमब्याक र भयानक ब्याक फायर’ हो,’ ती सदस्यले भने ।


वामपन्थी विश्लेषक ऋषिराज बरालले चन्द समूहले क्रान्तिका नाममा कार्यकर्ताको आहुति दिएको आरोप लगाए । ‘उपत्यकामा होहल्ला गरेर क्रान्तिकारी भइन्छ भन्ने चन्द समूहको भ्रम छ, त्यसका नाममा कार्यकर्ता परिचालन गर्दा क्षति भएको हो,’ उनले भने, ‘चन्द समूहको कार्यदिशा नै स्पष्ट छैन, अमूर्त कार्यदिशामा पार्टी रुमलिएसम्म क्षति हुन्छ ।’ हालसम्म बम विस्फोटमा चन्द समूहका करिब ७ जना कार्यकर्ताको मृत्यु भइसकेको छ । करिब ५ सय जना पक्राउ परेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?