कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेंगु संक्रमित १७६ पुगे

प्रदीप मेन्याङ्बो

सुनसरी — नियन्त्रण हुन नसकेपछि धरानमा डेंगु संक्रमितको संख्या १ सय ७६ पुगेको छ । डेंगुको शंका लागेर उपचार गर्न आएका ४ सय ४२ जनामध्ये १ सय ७६ मा डेंगु पोजेटिभ देखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहले जानकारी दिए । 

‘यो संख्या गत वैशाख ३१ देखि जेठ २१ सम्मको हो । संक्रमित सबै धरानका हुन् ।’ प्रि-मनसुनमै धरानमा डेंगुको प्रकोप फैलिएर नियन्त्रणबाहिर पुगेकाले मनसुन सुरु भएपछि महामारी हुन सक्ने चिकित्सकले चेतावनी दिएका छन् ।


पूर्णरूपमा सुरु हुने मनसुनी वर्षापछि एक साता पानी पर्न रोकिए महामारी हुन सक्ने डेंगु नियन्त्रणका लागि गठित र्‍यापिड रेस्पोन्स टिमका संयोजक डा. विजयकुमार खनालले बताए । ‘ठूलो वर्षा लगातार भए डेंगुका अण्डा लार्भा, प्युपा बगेर जान सक्छन् । तर अहिलेको धरानमा फैलिएको डेंगुको प्रकोप बेलैमा नियन्त्रण गर्न नसकिए महामारी हुन सक्छ,’ उनले भने ।


इपिडिमियोलोजीको ट्रेन्डअनुसार मनसुनपछि मात्र देखिनुपर्ने डेंगु धरानमा भने प्रि-मनसुनमै देखिएको उनको भनाइ छ । डेंगु नियन्त्रणबाहिर गएपछि संघीय स्वास्थ्य मन्त्रालय र त्यसका विभाग, प्रदेश सरकार, धरान उपमहानगरपालिकाले प्रि-मनसुनको बेलामै एडिस एजिप्टाइजातको पोथी लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नुपर्नेमा जोड दिन थालेका छन् ।


आइतबार धरान आएका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. समीरकुमार अधिकारीले धरानको अवस्था बुझेका थिए । डेंगु नियन्त्रणबारे प्रतिष्ठानले छलफल गरेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?