३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्यामेरा ट्रयापिङ गर्दा पहिलोपटक हिउँ चितुवा देखियो

राजेन्द्र मानन्धर

दोलखा — गौरीशंकर संरक्षण क्षेत्रभित्र लप्चीको जङ्गलमा पहिलोपटक पटक क्यामेरा ट्रयापिङबाट हिउँ चितुवाको उपस्थिति देखिएको छ । बिगु गाउँपालिका-१ लामाबगरस्थित लप्ची उपत्यकामा खिचिएको तस्बिर विश्व वातावरण दिवसको अवसरमा सार्वजनिक गरिएको हो । संरक्षण क्षेत्रमा हिउँ चितुवा भएको पनि घोषणा गरिएको छ । 

क्यामेरा ट्रयापिङ गर्दा पहिलोपटक हिउँ चितुवा देखियो

लप्ची उपत्यकाका ११ स्थानमा २०७५ साल असोजदेखि ०७६ बैशाखसम्म इन्फ्रारेड क्यामरा राखी अनुसन्धान थालिएको थियो । उक्त अवधिमा समुद्री सतहबाट ४ हजार ८७ मिटरको उचाइमा हिउँ चितुवाको तीनवटा तस्बिर रेकर्ड गरिएको हो ।


लप्ची गाउँबाट ५ किलोमिटर दक्षिण पश्चिम र मुख्य गुम्बाबाट ७ किलोमिटरको दुरीमा चट्टानले घेरिएको घाँटी र खोला छेउमा हिउँको टाउकादेखि ढाडसम्म क्यामेराले खिच्न भ्याएको छ । सुनपाती र धुपीको मसिना बोटहरू भएको उच्च हिमाली घाँसले ढाकेको स्थानमा राखिएको क्यामेराले न्यानोपना र केही वस्तुको चलखेल देख्न साथ मेमोरीमा तस्बिर संरक्षण गर्ने व्यवस्था मिलाइएको थियो ।


उच्च भेगमा ब्याट्रीको खपत गर्न भिडियो खिच्ने व्यवस्था हटाइएकाले तीन वटा तस्बिर मात्रै संरक्षित हुन पुगेको अनुसन्धानमा संलग्न नारायणप्रसाद कोजुले जानकारी दिए ।


उक्त स्थानमा राखिएको क्यामेराहरूले हालसम्म क्यामेरामा रेकर्ड नभएको सुनौलो बिरालो (गोल्डेन क्याट) समेत खिचेको छ । केही तल राखिएका क्यामेराहरूमा भिडियो खिच्ने व्यवस्था मिलाइएकाले सुनौलो बिरालो हिँडेको भिडियो पनि सार्वजनिक गरियो ।


संरक्षण प्रमुख सत्यनारायण शाहले राखिएकामध्ये दुई वटा क्यामेरा हराएकाले अनुसन्धानमा केही बाधा परेको जानकारी दिए । क्यामेराको खोजी भइरहेको उनले बताए ।


हिउँ चितुवा मध्य एसिया र हिमालय पर्वतमा मात्र बसोबास गर्ने प्राणी हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ मा रहेको यस जीवलाई आईयूसीएनले दुर्लभ प्रजातिको रूपमा सूचीकृत गरेको छ ।

प्रकाशित : जेष्ठ २२, २०७६ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?