कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

डाक्टरले लाइसेन्स नवीकरण गर्नुपर्ने

अतुल मिश्र

काठमाडौँ — चिकित्सा पेसामा रहेका डाक्टरहरूले लाइसेन्स नवीकरण गर्नुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलबाट एकपटक लाइसेन्स लिएर सधैंभरि चिकित्सा अभ्यास गर्न पाउने व्यवस्था हटाउन लागिएको हो । 

डाक्टरले लाइसेन्स नवीकरण गर्नुपर्ने

लागू गर्न खोजिएको नयाँ व्यवस्थाअनुसार लाइसेन्स नवीकरणका लागि निरन्तर पेसा उन्नयन (कन्टिन्युइङ प्रोफेसनल डेभलपमेन्ट/सीपीडी) कार्यक्रमबाट ५ वर्षभित्रमा एक सय अंक प्राप्त गर्नुपर्नेछ । ‘यो कार्यक्रम लागू गर्न सैद्घान्तिक सहमति भइसकेको छ,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले कान्तिपुरसँग भने, ‘काउन्सिलले राज्यसँग समन्वय गरेर कार्यक्रम छिट्टै लागू गरिनेछ ।’


सीपीडीअन्तर्गत लिखित वा प्रयोगात्मक परीक्षा भने हुनेछैन । ‘डाक्टरहरूले आफ्नो विषयमा अद्यावधिक रहनुपर्छ, चिकित्सा क्षेत्रको उपलब्धि जान्नुपर्छ,’ डा. शर्माले भने । सीपीडी कार्यक्रम उपभोक्ताको हितमा रहेको रजिस्ट्रार डा. शर्माले दाबी गरे । ‘यो कार्यक्रमले डाक्टरको ज्ञान र सीपलाई अझ परिस्कृत गर्छ । यसबाट चिकित्सक र बिरामीबीच कहिलेकाहीँ हुने असमझदारी न्यूनीकरण हुन सक्छ,’ उनले भने ।


अस्वाभाविक रूपमा लेखिने औषधि र परीक्षणलाई व्यवस्थित गर्नुका साथै चिकित्सा क्षेत्रमा हुन सक्ने संक्रमणलाई न्यूनीकरण गर्न काउन्सिलले सीपीडी कार्यक्रम ल्याउन लागेको हो । ‘हामीले यो कार्यक्रम अनिवार्य लागू गर्न सम्बन्धित सबै पक्षलाई जानकारी गराएका छौं,’ रजिस्ट्रार डा. शर्माले भने, ‘दक्षिण एसियामा यो कार्यक्रम लागू गर्ने भुटानपछि हामी दोस्रो मुलुक हौं ।’


काउन्सिलले यसका लागि विशेष प्रकारको सफ्टवेयर विकास गर्दै छ । डाक्टरहरूले वेबसाइटमार्फत आफूले प्राप्त गरेको अंक थाहा पाउनेछन् । सीपीडी कार्यक्रमअन्तर्गत डाक्टरहरूले ३० अंक अनिवार्य भनेर तोकिएको विषयबाट र ७० अंक आफ्नो व्यावसायिक रुचिको क्षेत्रबाट प्राप्त गर्न सक्छन् ।


अनिवार्य विषयअन्तर्गत बेसिक लाइफ सपोर्ट सिस्टम, मेडिकल इथिक्स, कम्युनिकेसन स्किल, इन्फेक्सन प्रिभेन्सन एन्ड कन्ट्रोल, र्‍यासनल युज अफ ड्रग पर्छन् । काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटाका अनुसार ‘मेडिकल इमर्जेन्सी एन्ड प्राक्टिस मेनेजमेन्ट एन डेन्टिस्ट्री’ विषय थप दन्त चिकित्सकका लागि तय गरिएको छ ।


डाक्टरको रुचिअनुसार कार्यरत चिकित्सा अभ्यासको क्षेत्रलाई व्यावसायिक भनिएको छ । यसअन्तर्गत डाक्टरहरूले प्राप्त गरेका शैक्षिक योग्यता, तालिम, प्रकाशन गरेका लेख/रचना/पुस्तकसँगै नियमित रूपमा सहभागी हुने सम्मेलन, सेमिनार, गोष्ठीलगायतका विषय छन् ।


काउन्सिलले डाक्टरका लागि तालिमसमेत सुरु गर्दर् ैछ । सीपीडी कार्यक्रम लागू गर्न भने करिब डेढ वर्ष लाग्ने डा. बाँस्कोटाले बताए । मेडिकल काउन्सिलमा करिब २३ हजार चिकित्सक दर्ता भए पनि मुलुकमा करिब १४ हजार चिकित्सक कार्यरत रहेको नेपाल मेडिकल एसोसिएसनले जनाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?