१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बढे डंगर र सानो खैरो गिद्ध

नेपालमा डंगर गिद्धको संख्या करिब दुई हजार छ भने सानोखैरो करिब ५० देखि ७५ वटा मात्रै छन्
अब्दुल्लाह मियाँ

काठमाडौँ — अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को अति संकटापन्न सूचीमा रहेका दुई प्रजातिका गिद्धको संख्या नेपालमा उल्लेख्य रूपमा बढेको छ । 

बढे डंगर र सानो खैरो गिद्ध

नेपालमा पाइने हाडफोर, सेतो, डंगर, लामो ठुँडे, सानो खैरो, हिमाली, खैरो, राज र सुन गरी ९ प्रजातिका गिद्धमध्ये डंगर र सानो खैरोको संख्या बढेको हो ।

बेलायतस्थित बर्ड कन्जर्भेसन इन्टरनेसनल (बीसीआई) ले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा दुई प्रजातिका गिद्धको संख्या विगत वर्षभन्दा उल्लेख्य ढंगले बढेको उल्लेख छ । डंगर, सानो खैरो, सेतो, हिमाली र हाडफोर गिद्धले नेपालमै गुँड बनाई बच्चा कोरल्छन् । यिनीहरू अग्ला र ठूला रूख तथा पहरामा गुँड बनाएर बस्छन् ।

सन् २००२ देखि सन् २०१२/१३ सम्म डंगर र सानो खैरो गिद्धको संख्या घटदै गएकामा त्यस पछी भने उकालो लागेको देखिएको छ । डाइक्लोफेनेकको प्रयोगमा रोक, संरक्षण लगाव, बासस्थान सुधार र आहारको उपलब्धताका कारण गिद्धको संख्या बढ्न मद्दत पुगेको हो ।


पन्छी संरक्षण संघ (बीसीएन) का विज्ञ कृष्णप्रसाद भुसालका अनुसार सन् २०१२/१३ मा यी गिद्धको संख्या सन् २००२ को तुलनामा ९१ प्रतिशतभन्दा कम भइसकेकामा त्यससपछि घट्ने क्रम रोकिएर क्रमश: संख्या सुधारोन्मुख भएको हो । 'सन् २००२ देखि प्रत्येक वर्ष गरदिँ आाएको सर्वेक्षण र सबै अध्ययनलाई विश्लेषण गरी नयाँ तथ्यांक सार्वजनिक गरिएको हो,’ उनले भने ।


नेपालमा डंगर गिद्धको संख्या करिब दुई हजार छ भने सानोखैरो करिब ५० देखि ७५ वटा मात्रै छन् । दक्षिण एसियाली मुलुकमध्ये गिद्धको संख्या उकालो लाग्नेमा नेपाल पहिलो रहेको भुसालले बताए । 'भारत र पाकिस्तानसहित अरू मुलुकमा यहाँजस्तो सुधार भएको देखिन्न,' उनले भने, 'प्रयास जारी भए पनि हामीकहाँ जस्तो उकालो लागेको अवस्था छैन ।'

समग्रमा डंगर गिद्धको वाषिर्क वृद्धिदर २२ र सानोखैरो गिद्धको ४१ प्रतिशत छ । सन् २००२ देखि २०१२ सम्म यिनीहरूको संख्या घट्ने दर क्रमशः १४ र २५ प्रतिशत थियो । बीसीएनले हरेक वर्ष पूर्वदेखि पश्चिमसम्मको राजमार्ग वरपर गिद्धको अध्ययन/सर्वेक्षण गर्दै आएको छ । त्यसक्रममा डंगर र सानो खैरो गिद्धसमेत गणना गरिने गरिन्छ ।

बीसीएनले सन् २००६ देखि स्थानीय समुदायको पहल र सक्रियतामा स्थानीय सरोकारवाला सरकारी निकाय, गैरसरकारी संस्था र संरक्षणकर्मीको सहकार्यमा गिद्ध सुरक्षित क्षेत्र (भल्चर सेभ जोन) कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यो कार्यक्रम विश्वमा जैविक विविधता र संरक्षणमा काम गर्ने संरक्षणकर्मीका लागि अनुकरणीय, चासो र अनुसन्धानको विषय बनेको छ ।

बीसीएनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) इसाना थापा मुलुकका विभिन्न स्थानमा खोलिएका जटायु (गिद्ध) रेस्टुरेन्टले गिद्धको संख्या वृद्धि गर्न सहयोग पुगेको बताउँछिन् । राष्ट्रिय निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र बीसीएनले गिद्ध प्रजनन केन्द्रमा प्रजननमार्फत हुर्कार्एका गिद्धलाई समेत प्राकृतिक बासस्थानमा छोडदै आएको छ । ती गिद्धमा स्याटेलाइट जडान गरिएको छ । त्यसले गर्दा तिनको विचरणसमेत सहजै थाहा पाउन सकिन्छ । गत वर्ष त्यसैमध्येको एक गिद्ध भारतीय भाग हुँदै पाकिस्तानसम्म पुगेर फर्किएको पत्ता लागेको थियो ।

जानकारहरूका अनुसार गिद्ध सिनो (आहार) खोज्न तीन सय किलोमिटरभन्दा टाढासम्म पुग्छ । एउटा गिद्धले तीन दिनमा एक केजीजति सिनो खान्छ । गिद्धको हेर्न सक्ने क्षमता मान्छेको भन्दा आठ गुणा बढी हुन्छ ।

सन् १९९० देखि दक्षिण एसियामा गिद्धको संख्यामा ह्रास आउन थालेको हो । १५ वर्ष अघिसम्म हामीकहाँ हिमालदेखि तराईसम्मै सयौंका संख्यामा गिद्ध देख्न सकिन्थ्यो । अहिले गिद्धको संख्या घटिरहेको छ । स्वस्थ आहारको कमी र बासस्थान विनाश लोप हुनुका कारण हुन् ।

सन् १९९० को मध्यदेखि नेपाल, भारत र पाकिस्तानमा गिद्धको संख्या घट्नुको मुख्य कारण घरपालुवा पशुको उपचारमा प्रयोग हुने 'डाइक्लोफेनेक' भएको सन् २००४ मा पुष्टि भएको थियो । पेरिग्राइन कोषले भारतका जंगलमा मरेका २ सय १९ वटा गिद्धको अनुसन्धान गर्दा ८५ प्रतिशतको भित्री अंगमा युरिक एसिडका पत्थर जम्मा भएर मिर्गौलाले काम गर्न नसकेपछि मृत्यु भएको पुष्टि भएको थियो ।

सरकारले २०६३ जेठ २३ देखि डाइक्लोफेनेकको आयातमा रोक लगाएको छ । त्यो बेच्ने, उत्पादन गर्ने र भण्डारण गर्नेलाई ५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ । त्यसको सट्टामा सन् २००६ देखि नै 'मेलोक्सिक्याम' को आविष्कार गरी प्रवर्द्धन गरिएको छ । त्यसले गिद्धलगायत चराचुरुंगीलाई कुनै असर गर्दैन ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?