कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

धरानका दुई वडामा डेंगु ‘महामारी’

प्रदीप मेन्याङ्बो

सुनसरी — प्रदेश १ स्वास्थ्य निर्देशनालयको टोलीले २५ दिनदेखि फैलिएको डेंगु भाइरल प्रकोप नभएर महामारी भएको जनाएको छ । धरान उपमहानगरपालिकाले बिहीबार वडा १५ र वडा ८ लाई स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष र ट्रपिकल वार्डमा बिहीबारसम्म १ सय ८८ जना डेंगु संक्रमितको उपचार भएको छ । बिहीबार मात्र २६ जना भर्ना भएका छन् । अन्यको रगत जाँचको रिपोर्ट आइसकेको छैन ।


प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. भोगेन्द्र डोटेलसहितको टोलीले डेंगु प्रभावित क्षेत्रको स्थलगत अध्ययन गर्नुका साथै संक्रमितलाई भेटेको छ । टोलीले धरानलाई स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गर्न ढिलो भएको बताएको छ । ‘स्वास्थ्य संकटग्रस्त घोषणा गरेपछि मात्र आम समुदायले सजगता अपनाउने र राज्यले केही दबाब दिएर भए पनि घरमा जम्मा गरेको पानी फाल्न र लार्भा नष्ट गर्न लगाउन सक्छ,’ डोटेलले भने ।


टोलीको सुझावपछि तत्कालका लागि धरानमा सबैभन्दा बढी संक्रमित भएको वडा १५ र वडा ८ लाई स्वास्थ्य संकटग्रस्त वडा घोषणा गरेको उपमहानगर कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।


‘धरानमा डेंगु महामारी नै भइसक्यो, अब पनि नियन्त्रण गर्न ढिला भए मानवीय जोखिम बढ्नेछ,’ डा. डोटेलले भने, ‘महामारी नियन्त्रण गर्न स्थानीय जनसमुदायलाई परिचालन गर्नुपर्छ । नबुझेमा वा नमानेमा केही सेन्सेटाइजेसन गरेर भए पनि घरघरमा भएका डेंगुको अण्डा, लार्भा र प्युपा नष्ट गर्नु जरुरी छ ।’ उनले धरानका हरेकजसो घरमा डेंगुको अण्डा, लार्भा र प्युपा पाइएको उल्लेख गर्दै त्यसलाई मनसुन सुरु हुनुअगावै नष्ट गरिसक्नुपर्ने सुझाव दिए ।


डेंगु नियन्त्रणका लागि गठन भएको चिकित्सकसहितको र्‍यापिड रेस्पोन्स टिमसँग उपमहानगरले पटकपटक छलफल गरेर बृहत् जनपरिचालन गर्ने निर्णय गरे पनि धरानका सबै वडाका जनप्रतिनिधि, स्थानीय समुदाय, टोल विकास समितिका सदस्य जागरुक हुन सकिरहेका छैनन् । निर्देशक डा. डोटेलले डेंगु महामारी नियन्त्रणका लागि प्रदेश स्वास्थ्य निर्देशनालयले बढीभन्दा बढी प्राविधिक सहयोग गर्ने तर त्यसलाई स्थानीय तहले नेतृत्व गर्न सके मात्र प्रभावकारी हुने बताए ।


डेंगुको प्रकोप नियन्त्रणबाहिर गएकाले प्रदेश १ को सामाजिक विकास समितिकी सभापति सरिता खडकाको नेतृत्वमा प्रदेश सांसदहरू केदार कार्की, लक्ष्मण तिवारी, उर्मिला बराइलीलगायतले जनमानसको स्वास्थ्य अवस्थाबारे बुझेका थिए । उनीहरूले संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने, बीपी प्रतिष्ठानमा हेल्प डेस्कको व्यवस्था हुनुपर्नेलगायत माग राखेका थिए ।


‘प्रतिष्ठानमा डेंगु संक्रमितको संख्या बढेकाले इमर्जेन्सीमा भीड बढेको छ, इमर्जेन्सीबाट अब्जर्भ गर्न ट्रपिकल वार्डमा १२ बेड व्यवस्था गरिएको छ,’ प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास साहले भने, ‘कतिपयलाई इमर्जेन्सीमै उपचार गरेर डिस्चार्ज गरिरहेका छौं ।’


इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु रोग पहिचानका लागि चार दिनअघि पठाएको ५ सय किट सकिएकाले बिहीबारै महाशाखामा थप हजार किट पठाइदिन माग गरेको पनि उनले बताए । कार्यवाहक प्रमुख भण्डारीले वडा १५ र ८ लाई डेंगु संकटग्रस्त वडा घोषणा गरेकाले त्यहाँ तत्काल घरदैलो अभियान तीव्र पारिने बताइन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?