कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गाउँगाउँमा एककोठे घर

भूकम्प अनुदानमा बनाइएका घरमा बाख्रापालन
प्राविधिकले मापदण्डबारे उचित सल्लाह नदिँदा भद्रगोल 
गाउँ पुग्दैनन् इन्जिनियर

काठमाडौं, काभ्रे, नुवाकोट — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दिएको अनुदानका भरमा आफूखुसी घर बनाउने धेरैजसो ग्रामीण बासिन्दाका घर ‘बस्नै नमिल्ने’ भेटिएका छन् । विनाशकारी भूकम्पको तीन वर्षभित्र क्षतिग्रस्त निजी आवासमध्ये ८० प्रतिशत पुनर्निर्माण भइसकेको प्राधिकरणको दाबी छ ।

गाउँगाउँमा एककोठे घर

तर रसुवा, नुवाकोट, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङलगायत अति प्रभावित जिल्लामा बनेका निजी घर ‘बेकम्मा’ छन् । ‘जसरी पनि तीनकिस्ते अनुदान रकम लिनैका लागि’ बनाइएका यस्ता घरमा तोकिएका प्राविधिकले कडाइका साथ अनुगमन नगरेको र सम्बद्ध स्थानीय निकायसमेत यसबारे ‘मौन’ बसेको पाइएको छ । भूकम्पमा क्षति बहोरेका ४ लाख २७ हजार १७ घरपरिवारले जनही ३ लाख रुपैयाँका दरमा घर निर्माणका लागि सहयोग लिएको प्राधिकरणको वेबसाइटमा उल्लेख छ ।

पुनर्निर्माण प्राधिकरणले पनि गाउँगाउँमा बनेका ‘एककोठे घर’बारे सेवाग्राहीसँग निर्माण सम्झौता भइसकेपछि र तीनकिस्ते अनुदान दिइसकेपछि मात्रै जानकारी पाएको छ । ‘हामीले घर निर्माणका लागि विभिन्न डिजाइन पेस गरेका थियौं,’ प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले कान्तिपुरसँग भने, ‘आफूलाई बस्न मिल्ने खालको संरचना बनाउनू भनेका हौं । तर अहिले अनुदान पाउनकै लागि एककोठे घर बनाइएको जानकारी आएको छ । प्राधिकरण यसबारे गम्भीर छ ।’ एककोठे घरबारेको गुनासो र उजुरी बढी आएपछि हालै प्राधिकरणले आन्तरिक रूपमा एक प्राविधिक समूहको कार्यदल पनि बनाएको छ । यसले नीतिगत कडाइ तथा अबको कार्यदिशामा नीति निर्धारण गर्नेछ ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन अभियानमा संलग्न ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि ‘एककोठे घर’ प्रकरण चर्चामा आएपछि गत माघमा भूकम्प अति प्रभावित केही जिल्लामा अवलोकन भ्रमण गर्दै गलत कार्यशैलीमाथि प्रश्न उठाएको थियो ।


‘कम गुणस्तर र क्षेत्रफल भएका बसोबास गर्न अयोग्य साना एककोठे घर तीव्र रूपमा निर्माण भइरहेकाले यो विकृति रोक्न नीतिगत व्यवस्था जरुरी छ । रसुवा, नुवाकोट, धादिङसमेतका जिल्लाका भूकम्पपीडितको नाममा बनाइएका धेरै घर साना र एककोठे पनि देखिए,’ ट्रान्सपरेन्सीले पुनर्निर्माण प्राधिकरणलगायत निकायमा पठाएको सचेतनापत्रमा भनिएको छ, ‘ती घरमध्ये केही ८/८ वर्गफिटसम्मका पनि रहेको पाइयो । औचित्य र उपादेयताका दृष्टिले घरै भन्न नसुहाउने, दुईवटा खाट पनि नअटाउने, भान्साकोठाबिनाको र न्यूनतम खाद्यान्न तथा सरसामान पनि राख्न नमिल्ने घर निर्माण एवं अनुमोदनमा कहाँ/कसबाट कसरी त्रुटि हुन गयो ? सुधार हुन जरुरी छ ।’

प्राधिकरणसँग अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३ सय ७ घरपरिवारमध्ये झन्डै आधाले घर निर्माण गरिसकेको प्राधिकरणको दाबी छ । २०७२ वैशाख १२ र त्यसपछि गएका परकम्पका कारण देशभर ८ हजार ७ सय ९० व्यक्तिको ज्यान गएको थियो । २२ हजार ३ सय व्यक्ति घाइते भएका थिए । ४ लाख ९८ हजार ८ सय ५२ निजी घर, २ हजार ६ सय ५८ सरकारी भवन र विद्यालयका १९ हजारभन्दा बढी कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए ।

काभ्रेको चौरीदेउराली–६ स्थित कात्तिकेदेउरालीमा भूकम्पपीडितले निर्माण गरिरहेको २ कोठे घर ।तस्बिर : नगेन्द्र अधिकारी/कान्तिपुर

'एककोठे घरको भीड’

भूकम्पपछि गाउँमा खटिएका प्राविधिकको गलत सल्लाह र अनुदान रकम पचाउने पीडितको नियतका कारण काभ्रेको विकट मानिने खानीखोलामा धेरैजसो ‘एककोठे घर’ बनेका छन् । आवास अनुदानबापतको ३ लाख रुपैयाँ लिएर निकै कम खर्चमा बनेका यस्ता घरमा भूकम्पपीडितले गुजारा चलाउन सक्ने अवस्थासमेत छैन ।

रामेछाप, कोसी पारिदेखि काभ्रे, कोलाँतीसम्मको मार्ग आसपासमा मात्रै ५० भन्दा बढी यस्ता घर देखिए, जसलाई स्थानीयले ‘तीनलाखे धुरी’ भन्ने रहेछन् । काभ्रेको, खानीखोला गाउँपालिका ४ का वडाध्यक्ष वीरबहादुर वाइबाको वडामा मात्रै भूकम्पीडित आवास अनुदान लिएर बनेका करिब २ सय घर एककोठे छन् । ‘प्राविधिक गाउँमा बसेनन्, १२/१२ फिट लम्बाइ चौडाइ भएको बनाए हुन्छ भन्ने सल्लाह दिए,’ वाइबाले भने, ‘खासमा एउटा कोठाको आकार भनेको रहेछ । तर राम्रोसँग सल्लाह नदिइँदा पूरै घर त्यही आकारमा बनेका छन् ।’ एककोठे घरले आवास अनुदानबापतको थप रकम नआउने भएपछि केहीले सोही कोठामा जबर्जस्ती जोडेर अर्को कोठा बनाउन लागेका छन् ।

वडा नं ३ का अध्यक्ष जयबहादुर लुंगेली भने प्राधिकरणले खटाएका प्राविधिक भित्री बस्ती नछिर्दा समस्या उब्जिएको बताउँछन् । ‘मेरो वडामा पनि ८०/८५ वटा घर एककोठे बनेका छन्,’ लुंगेलीले भने । प्राधिकरणले अशक्त, अपांगता भएका व्यक्ति, एकल महिला, पुरुष र ज्येष्ठ नागरिक मात्रै बस्ने परिवारलाई ‘एककोठे घर’ बनाउन स्वीकृति दिने निर्णय गरेको थियो । त्यसैका आडमा हैसियत हुने लाभग्राहीले पनि ‘एककोठे घर’ बनाएका हुन् ।


खानीखोला गाउँपालिकाको १ र २ नम्बर वडामा पनि उस्तै समस्या छ । प्राविधिक गाउँमा नबस्ने र राम्रोसँग कुरा नबुझाउँदा पीडितले एककोठे घर बनाएको वडा नम्बर १ का अध्यक्ष ज्ञानबहादुर लामाको तर्क छ । वडा नम्बर २ की महिला सदस्य बिरानीमाया थिङ आफ्नो वडामा दुईकोठे नै घर बने पनि ती साह्रै सानो भएको तर्क गर्छिन् । ‘एककोठे घर त हाम्रो वडामा बनेका छैनन् तर बनेका २ कोठे घर पनि निकै साना छन्,’ बिरानीमायाले भनिन् ।

'ज्वाइँ’ जस्ता इन्जिनियर

बेथानचोक १,च्याम्राङबेसीका चूडामणि तिमल्सिनाले भूकम्पपछि खटिएका इन्जिनियरलाई ‘ज्वाइँ’को संज्ञा दिए । ‘गाउँमा खटिएका इन्जिनियरलाई ज्वाइँभन्दा बढी सम्मान गर्नुपर्छ, गाउँमा जान्छन् कि जाँदैनन्, त्यो पनि थाहा हुँदैन,’ उनले भने ।

भूकम्पपछिको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका रहने भनिएका इन्जिनियर आफ्नो कार्यशैलीका कारण आलोचित छन् । इन्जिनियरको कार्यशैलीका कारण पीडितले समयमै किस्ता पाएका छैनन् भने कतिपय घर प्राविधिक रूपमै कमजोर बनेका छन् । नियममा, प्राविधिकले मापदण्डअनुसार रहेको प्रमाणित गरेपछि मात्रै किस्ता प्रक्रिया अघि बढ्छ । मापदण्डमा नबनेका कारण अनुदानको किस्तासमेत नपाउने अवस्था छ । तर खानीखोला गाउँपालिकामा प्राविधिकको लापरबाही र गलत सल्लाहकै कारण करिब ४ सय घर एककोठे मात्रै बनेका छन् ।


गाउँमा खटिएका प्राविधिक (इन्जिनियर) को हाजिर प्रमाणित गर्ने स्थानीय वडाध्यक्षले नै इन्जिनियर गाउँमा नबस्ने बताए । ‘गाउँमा खटिएका इन्जिनियर काठमाडौं बस्नुहुन्छ, महिनामा एक पटक मात्रै आउनुहुन्छ,’ खानीखोला ४ का अध्यक्ष वीरबहादुर वाइबा भन्छन्, ‘वडाले हाजिर प्रमाणित नगरिदिए पनि गाउँपालिकाबाट गराउँछौं भन्नुहुन्छ । र, त्यसरी नै तलब बुझिरहनुभएको छ ।’

प्राधिकरणले जिल्लाका १३ वटै स्थानीय तहसँग इन्जिनियरको खटनपटन र स्थानीय तहले गर्ने सम्झौता गरे पनि त्यो कार्यान्वयन नभएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईंले सुनाए । ‘सम्पूर्ण अधिकार स्थानीय तहलाई हुने भन्ने सम्झौता गरे पनि प्राधिकरणले पालना गरेको छैन,’ चापागाईंले भने, ‘एक त पर्याप्त जनशक्ति छैन, अर्कोतिर वडा नै खाली गराएर इन्जिनियर सरुवा भइसक्दा पनि नगरपालिकालाई जानकारी हुँदैन ।’

स्थानीय तह मातहत रहे पनि जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) ले नै इन्जिनियरको खटनपटन गर्दै आएको छ । हाजिर प्रमाणित गर्ने जिम्मेवारी वडाध्यक्षको भएकाले काम नगर्ने प्राविधिकको ‘हाजिर प्रमाणित नगरिदिन’ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख लोकनाथ रेग्मीको अनुरोध छ । ‘काम नगर्ने इन्जिनियरको हाजिर प्रमाणित नगरिदिनुस्, हामी तलब रोकिदिन्छौं,’ उनले भने ।

इन्जिनियरहरू भने काम गरेको दाबी गर्दै बस्न र खानै समस्या भएको दाबी गर्छन् । ‘बस्नेखाने ठाउँ छैन, कागजपत्र राख्ने कार्यालयसमेत छैन, हामी कहाँ बसेर काम गर्ने ?’ खानीखोलामा खटिएका सब इन्जिनियर मीनबहादुर भण्डारीले भने, ‘इन्जिनियरका कारण मात्रै समस्या भएको होइन, प्रक्रियाका कारण किस्ता पाउन नै ३ महिना लाग्छ ।’ नमोबुद्ध नगरपालिकामा खटिएका फोकल इन्जिनियर संस्कार श्रेष्ठले पढाइ र कार्यक्षेत्रको ज्ञानमा कमी हुँदा केही समस्या भएको हुन सक्ने स्विकारे ।

एकल महिला : एक कोठा

नुवाकोटको सूर्यगढी गाउँपालिका ३ की ४८ वर्षीया उर्मिला तामाङ भूकम्पपछि बनाएको घर साँघुरो भएपछि नजिकै रहेको पुरानै भत्किएको घरमा बसिरहेकी छन् । उर्मिला एकल महिला हुन् । उनको ६ जनाको परिवारमा छोरीहरू बिहे गरेर गइसके । साना छोरा लिएर भत्केको घरमा उनी बस्दै आएकी छन् ।

उनका श्रीमान् च्यासे तामाङ बितेको ३ वर्ष भयो । दुःखजिलो गरेर परिवार पाल्दै आएको उनी बताउँछिन् । ‘बल्लतल्ल घर त बनाएँ,’ उनले भनिन्, ‘तर साँघुरो भएकाले नयाँ घरमा सर्न सकेकी छैन ।’ एककोठे घरमा आफू सुत्दा मकै, कोदो राख्नकै समस्या भएको उनले सुनाइन् ।


सोही वडाकी ५५ वर्षीया नीरमाया तामाङ पनि एकल महिला हुन् । रंगीन नीलो जस्ताले छाएको घर सानो भए पनि उनले बाख्रासमेत बाँधेकी थिइन् । उनको घरभित्र डोरीमा लसुन सुकाइएको देखिन्थ्यो । तल ओछ्यान र नजिक चिसो लाग्छ भनेर डोकाको फ्ल्याक हालेर बाख्रा बाँधिएको थियो । ‘घर राम्रो बनाएँ जस्तो लाग्छ,’ भूकम्पपछि पाएको अनुदान सहयोगका भरमा बनेको एककोठे घरबारे उनले भनिन्, ‘एकल महिलालाई एक कोठा भए हुन्छ भनेर भनिएको थियो, अलिक हतारमै बनाएछु जस्तो लाग्दै छ ।’

रसुवाको आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार उनको गाउँ क्षेत्रमा पनि एककोठे घर बनाउनेहरू छ्यापछ्याप्ती छन् । अति प्रभावित भेगका रूपमा चिनिएको रसुवाको हाकु गाउँमा रहेको सिंगो बस्तीलाई स्थानान्तरण गर्नुपर्ने भनेर खानी तथा भूगर्भ विभागको अध्ययनले देखाएको छ ।

तर पनि हाकुको बस्ती र स्थानीय स्कुलसमेत त्यहीँ रहेको अध्यक्ष तामाङले जानकारी दिए । ट्रान्सपरेन्सी नेपालले पनि हाकु बस्तीमा स्कुल सञ्चालन भइरहेको अवस्था ‘डरलाग्दो’ रहेको बताएको छ । ‘जोखिमयुक्त स्थलबाट बस्ती स्थानान्तरण गर्ने व्यवस्थालाई थप व्यावहारिक बनाउन जरुरी छ,’ ट्रान्सपरेन्सी रिपोर्टमा उल्लेख छ ।


'भ्रष्ट कार्यशैलीको परिणाम'


खेमराज रेग्मी

अध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनल


भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमअन्तर्गत अति प्रभावित १४ जिल्लामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसहित सम्बन्धित निकायको सहयोग र समन्वयमा पारदर्शिता बढाउने, गुणस्तरीयता कायम गर्ने तथा सम्बन्धित कर्मचारी एवं पदाधिकारीलाई जवाफदेही बनाउनेलगायत अभियानमा हामी पनि संलग्न थियौं ।


गत माघमा रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोकलगायत जिल्लामा हामीले गरेको स्थलगत भ्रमणमा त्यहाँ प्राधिकरणको अनुदानमा बनेका ‘एककोठे घर’ अवलोकन गर्न पायौं ।


प्राधिकरणले तय गरेको कार्यविधि र निर्देशनमा जिल्लामा गएर ‘एकल महिलाका लागि एककोठे घर भए हुन्छ’ भन्ने खालका सूचना बाँडिएको रहेछ । नुवाकोटमा भूकम्पलगत्तैको क्षतिग्रस्त घरको लगतमा ५५ हजार घरधुरी निस्किएका रहेछन् । त्यसमा ‘एककोठे घर’ बनाउने निकै रहेछन् । नुवाकोटमा मात्रै यो घरधुरी संख्या ८५ हजार पुगेको रहेछ । प्राधिकरण र भूकम्पपीडित दुवैमा गलत आशय र मनसाय झल्काउने प्रवृत्ति बढिसकेको रहेछ ।


भएको प्रावधानलाई अपव्याख्या गर्ने र प्रावधानमा जे गरे पनि हुन्छ भन्दै ३ लाख रुपैयाँ किस्तामा दिने प्रवृत्तिमा न अनुगमन भएको देखियो, न मूल्यांकन नै । प्राधिकरणमा गएर कुरा गर्दा ‘खोइ, बीचमा म थिइनँ, के भयो कुन्नि’ भन्ने खालका अनधिकृत जवाफ मात्रै पाइयो । प्राधिकरणले निजी आवास निर्माणतर्फ ८० प्रतिशत काम सकेको दाबी गर्‍यो । उपलब्धि पनि देखायो ।


तर उपादेयता देखिएन । थुप्रै भूकम्पपीडित नयाँ घरमा बस्नै सक्दैनन् । भत्केको पुरानै घरमा कतिपय बसिरहेका छन् । कतिपयले नयाँ घरमा बाख्रापालन गरेका छन् । कतिपयमा सामान भण्डारण गरिएको छ । यी जिल्लामा झन्डै ५० प्रतिशतको अनुपातमा ‘एककोठे घर’ बने कि भन्ने लाग्छ, जुन बसाइका लागि उपयोगहीन छन् ।


सामाजिक र आर्थिक पारदर्शिताको पाटोमा हामीले पहिलेपहिले उद्योग व्यापार, साहुजीहरूलाई नाफाघाटा वा लाभहानि र ठगीको अर्थमा बुझ्थ्यौं, बुझाउँथ्यौं होला । तर पीडत नागरिकको हकमा समेत हाम्रो कार्यशैली भ्रष्ट देखिएको छ । यो समाज भ्रष्टीकरणको दुःखद पक्ष हो ।

प्रकाशित : जेष्ठ २५, २०७६ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?