कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

होटलको फोहोर सिधै फेवामा

आकाशे पानी मात्र बगाउन बनाइएको नालामा घरघरका बाथरूम मात्र नभई शौचालयको फोहोरसमेत पठाउँदा ताल प्रदूषणको चपेटामा परेको छ । 
दीपक परियार

लेखनाथ — दर्केर पानी पर्‍यो कि पोखराका सडकमा ठूलै भल बग्छ । त्यसको मौका छोप्न स्थानीय छतमा निस्कन्छन् र बोराका बोरा फोहोर मिल्काउँछन् । फोहोर बग्दैबग्दै तलतल पुग्छ । पोखराको जमिन केही भिरालो भएकाले कुनै सडकका भल सेतीमा मिसिन्छन्, कुनै फिर्के र बुलौंदी खोलामा ।

होटलको फोहोर सिधै फेवामा

फिर्के र बुलौंदी खोला फेवातालमा मिसिन्छन् । यिनै दुई खोलाले फेवाताललाई प्रदूषित बनाएका छन् । सराङकोटको फेदीबाट सुरु हुने फिर्केखोला पोखराको मध्यभाग हुँदै फेवातालमा मिसिन्छ । खोला छेउमा घर हुने वडा नम्बर १८, २, ४, ५, ६, ७, ८ र १७ का स्थानीयले ढल मिसाउँछन् ।


फोहोर खोलामै फ्याँक्छन् । घरघरबाट जोडिएका शौचालय, बाथरुम र भान्साको पानी, प्लास्टिकजन्य फोहोर फिर्के हुँदै फेवा पुग्छन् । फिर्के मिसिने गाईघाटनिर फोहोरको पहाड नै बनेको छ । गाईघाटमै रहेको वडा प्रहरी कार्यालय बैदाम र प्रहरी गणबाट निस्कने फोहोर पानी फेवामै मिसाइन्छ ।


फेवा संरक्षणसम्बन्धी सर्वोच्चको फैसलामा अतिक्रमण हटाउने आदेश मात्र छैन, फेवालाई प्रदूषित हुनबाट बचाउन पनि भनिएको छ । तालमा मिसिने खोला, नहर, ढलको पानी शुद्धीकरण गरेर मात्रै फेवामा झार्न आदेश छ । पोखरा महानगरले हालै तालको ६५ मिटर मापदण्डभित्र निर्मित संरचना हटाउन सूचना जारी गरे पनि प्रदूषण रोक्न कुनै कदम चालेको छैन ।


नागरिक समाजको अगुवाइमा दुई वर्षअघि सुरु भएको फिर्के बुलौंदी बृहत् सफाइ अभियान १८ हप्तासम्म चल्यो । अभियान चलुन्जेल सफा भयो । अभियान सकिएपछि पुरानै रूपमा फर्कियो । अभियानकै क्रममा फिर्के बुलौंदीमा ढल मिसाउनेको नालीबेली महानगरलाई बुझाउँदा बेवास्ता गरेको नागरिक समाजका अगुवा रामबहादुर पौडेलले बताए । ‘महानगरलाई पटकपटक ध्यानाकर्षण गरायौं,’ उनले भने, ‘हाम्रो सुनुवाइ भएन ।’ उक्त अभियान हाल पोखरा बृहत् सफाइ अभियानमा परिणत भएर १ सय ५७ हप्ता पूरा गरिसकेको छ ।


होटलको ढल तालमा

मालेपाटनबाट सिँचाइ कुलो लेकसाइड हुँदै फेवामा मिसिन्छ । आकासे पानी मात्रै बगाउन निर्मित नाला फेवातालमै सोझिएको छ । पानी परेको मौका लेकसाइडका होटलले पनि छोप्छन् । जब पानी परेर सडकमा भल बग्न थाल्छ, तब होटल, रेस्टुरेन्ट र घरले ढल बाटामा सोझ्याउँछन् । कसैले सिँचाइ कुलो र त्यही नालामा मिसाउँछन् ।


आकासे पानी मात्र बगाउन बनाइएको नालामा घरघरका बाथरुम मात्र नभई शौचालयको फोहोरसमेत पठाउँदा ताल प्रदूषणको चपेटामा परेको छ । फोहोर पानी ढलमा मिसाइँदा ताल किनारमा बस्नै नसक्ने गरी दुर्गन्ध फैलिएको छ । ताल किनारमा ढलको पानी फिल्टर गर्न बनाइएको पोखरी पनि दुर्गन्धित छ । फिल्टर गर्न बनाइएको पोखरीमा ट्रिटमेन्ट प्लान्ट नहुँदा फोहोर सोझै तालमा मिसिन्छ ।


पानी परेपछि ढलमा शौचालयको फोहोर आउने गरेको सामुदायिक सेवा केन्द्र बैदामका पूर्वअध्यक्ष भीम पराजुली बताउँछन् । तीन वर्षअघि पराजुलीकै कार्यकालमा केन्द्रले तालमा ढल मिसाउने ३५ होटल, रेस्टुरेन्ट र स्थानीयको नाम र ठेगाना महानगरलाई बुझाएको थियो ।


तिनलाई कारबाही गर्न महानगरले खासै चासो नदेखाएको उनले बताए । ‘ठूलै र नाम चलेका होटलले पनि फोहोर पानी ढलमा मिसाएका छन्,’ उनले भने, ‘ढलमा सोझ्याइएका पाइप काट्ने र उनीहरूलाई कारबाही गरे अरूले मिसाउने आँट गर्ने थिएनन् ।’ त्यसबाहेक तालमा नुहाउने, कपडा धुने, पौडी खेल्ने, गाईभैंसीलाई पानी खुवाउने र नुहाइदिने कार्यले पनि प्रदूषण बढेको छ ।


वडा नम्बर ६ का अध्यक्ष जगतबहादुर पहारी लेकसाइडका होटलले लुकीछिपी ढल तालमा मिसाएको स्विकार्छन् । उनले केही महिनाअघि अनुगमन गर्दा आधा रातमा होटल, रेस्टुरेन्ट र स्थानीयको घरघरबाट तालमा ढल मिसाएको पाइएको बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण भट्टराई व्यवस्थित ढल विकास नहुँदासम्म दीर्घकालीन रूपमा फेवाको प्रदूषण रोक्न नसकिने बताउँछन् ।


‘महानगरपालिकाले बृहत् ढल विकास योजना प्रस्ताव तयार गरेर कुरा अघि बढिरहेको छ,’ उनले भने, ‘संघ सरकार र दातृ निकायसँग छलफल गरिरहेका छौं । त्यसले मात्रै दीर्घकालीन निकास दिन्छ ।’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गत चैतमा फेवातालको पानी परीक्षण गर्‍यो । पौडी स्पर्धाका लागि गुणस्तर थाहा पाउन पानी परीक्षण गर्दा मलमूत्र अधिक रहेको देखियो ।


तालको पानी पिउन योग्य नभएको निष्कर्ष खानेपानी तथा ढल निकास विभागले निकालेको छ । आयोजनाका प्राविधिक सुनील चौधरीका अनुसार फेवातालको बीचबाट पानी निकालेर प्रयोगशालामा परीक्षण गरिएको थियो । ‘फेवातालको पानीमा कोलिफर्म र इकोलीको मात्रा देखिएकाले मानिस र गाईबस्तुले पिउन मिल्दैन,’ उनले भने, ‘माछाका लागि समेत यो पानी हानिकारक छ ।’


सन् २००७ मै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तालको पानी पिउन अयोग्य रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो तर यसको शुद्धीकरणमा कुनै निकायले चासो दिएनन् । अघिल्लो वर्षभन्दा अहिलेको परीक्षणले पानी केही शुद्ध देखाएको छ । सामान्यतः पानीमा ६.५ देखि ८.५ सम्मको क्षार हुनुपर्ने प्राविधिक बताउँछन् । अघिल्लो वर्ष ८.७ रहेकामा यो वर्ष ८.१ पीएच क्षार देखिएको छ ।


पानीमा धमिलोपनको मात्रा सामान्यभन्दा निकै धेरै रहेको प्राविधिक चौधरीले जनाए । महानगरअन्तर्गत फेवाताल संरक्षण तथा व्यवस्थापन कार्यालय छ । कार्यालयले तालको प्रदूषण नियन्त्रणमा कुनै भूमिका खेल्न नसकेको सरोकारवालाको गुनासो छ ।


बेगनास र रूपा फेवाभन्दा सफा

कास्कीमा फेवाबाहेक बेगनास र रूपा दुई ठूला ताल छन् । दुवै ताल फेवातालभन्दा सफा छन् । फेवाजत्तिकै सुन्दर छन् । बेगनास तालमा केही विदेशी र आन्तरिक पर्यटक पुग्छन् । रूपातालमा नगन्य मात्रामा पर्यटक पुग्छन् ।


केही स्थानीयकै कमीकमजोरी र धेरै केन्द्रीकृत सोचका कारण लेकसाइडबाहिरको पर्यटन फस्टाउन नसकेको बताउँछन् स्थानीय होटल व्यवसायी दामोदरभक्त थापा । ‘सबै लेकसाइड मात्रै हो भन्ने गर्दा पर्यटकको बसाइ छोटिएको छ,’ उनी भन्छन्, ‘विकेन्द्रित मानसिकता अझै भएन ।’ बेगनास ताल, रूपाताल रोयल ट्रेक, काहुँडाँडालगायतको प्रवर्द्धन गर्नसके दुई दिनसम्म पर्यटकको बसाइ लम्ब्याउन सकिने उनी देख्छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?