कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

गाउँमा गर्भपतन सेवा, स्वास्थ्यकर्मी अपर्याप्त

सुरक्षित गर्भपतनको सेवा सुलभ भए पनि सबैतिर तालिमप्राप्त स्वास्थ्यकर्मी पर्याप्त छैनन्
डीआर पन्त

डडेलधुरा — डडेलधुरा अजयमेरु ५ की एक १८ वर्षीया युवतीले छिमेकी गाउँपालिका भागेश्वरको स्वास्थ्यचौकीमा पुगेर गर्भपतन गराइन् । हाडनाता पर्ने पुरुषबाट जबर्जस्ती करणीका कारण गर्भ रहेको थियो । चौकीमा उनले आफ्नो नाम र ठेगाना भने साँचो लेखाइनन् ।

लोकलाजका कारण उनले आफूमाथि भएको घटनाको सुइँको गाउँलेलाई दिइनन् । आफ्नै गाउँपालिकाको स्वास्थ्यचौकीमा गर्भपतन गराउँदा अरूले थाहा पाउलान् भनेर सुटुक्क भागेश्वरको चौकीमा पुगिन् । पाटन नगरपालिका ६ दानखोलाकी १६ वर्षीया एक किशोरीका आफन्तले उपक्षेत्रीय अस्पताल डडेलधुरा पुगेर ४ महिनाको गर्भपतन गराए । टाढाको नाता पर्ने फुपूको घरमा बसेर एसईई परीक्षा दिने क्रममा उनले पनि आफन्तकै गर्भ बोकेकी थिइन् ।


उपक्षेत्रीय अस्पतालमा गर्भपतन गर्न आउँदा उनी अचेत अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताए । पेट दुख्ने रोगका कारण अस्पताल ल्याएको बताउने उनका आफन्तले महिला चिकित्सकबाहेक अरूलाई यथार्थ खोलेनन् । पछिल्लो समय गाउँगाउँमा गर्भपतन सेवा सञ्चालन भएपछि सुरक्षित गर्भपतन गराउन आउने धेरै किशोरी र महिलामध्ये केही प्रतिनिधि घटना मात्र हुन् । सामाजिक सञ्जालका कारण सहज रूपमा पुरुष साथी खोज्ने र असुरक्षित यौन सम्पर्कका कारण रहने गर्भ पतन गराउनेको संख्या बढ्न थालेको स्वास्थ्यकर्मी बताउँछन् ।


जोखिमपूर्ण रूपमा गर्भपतन गराउँदा बर्सेनि २ सय बढी महिलाको मृत्यु हुने सुदूरका पहाडी जिल्लामा पछिल्लो समय यो तथ्यांकमा निकै कमी आएको छ । तथ्यांकमा कम भए पनि जोखिम बढदै जान थालेको स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन् ।


‘सुरक्षित गर्भपतनका नाममा गलत क्रियाकलापले प्रश्रय पाउन थालेको देखिएको छ,’ स्वास्थ्यकर्मी संघका प्रदेश अध्यक्ष प्रेमबहादुर महर भन्छन्, ‘तालिमप्राप्त स्वास्थ्यकर्मीबाट ९ सातासम्मको गर्भपतन गराउन पाउने कानुनी प्रावधानलाई टेकेर जथाभावी औषधिको प्रयोग गर्ने प्रवृत्ति बढेको छ ।’ यसले किशोरी र महिलाहरूको स्वास्थ्यमा दीर्घकालीन असर पर्न थालेको उनले बताए । जोखिमपूर्ण तरिकाले गरिने गर्भपतनपछि अत्यधिक रक्तश्राव भएर अस्पताल पुग्नेको संख्या बढ्न थालेको अध्यक्ष महरको भनाइ छ ।


‘जोखिमपूर्ण गर्भपतनपछि उपचार गराउन आउनेको संख्या केही समययता बढ्न थालेको छ,’ डडेलधुरा उपक्षेत्रीय अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले भने, ‘कानुनी प्रावधानको आडमा जोखिम निम्तिने गरी गर्भपतन गराउनेको संख्या बढ्न थालेको छ ।’

गर्भपतन महिला स्वास्थ्यसँग जोडिएको संवेदनशील विषय भएकाले सूचीकृत स्वास्थ्यचौकीमा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट मात्रै गराइनुपर्ने उनले बताए ।


‘सफा उपकरण प्रयोग नगरी औषधि प्रयोग गरेर गर्भपतन गराउँदा हुने जोखिमका विषयमा स्वास्थ्यकर्मी सचेत हुनु आवश्यक छ,’ उनले भने, ‘यस्तै कारण जोखिममा परेका महिला र किशोरीहरू उपचारका लागि उपक्षेत्रीय अस्पतालमा आउने गरेका केस धेरै छन् ।’


उनले भनेजस्तै २ वर्षयता त्यस्तै जोखिममा परेपछि उपचार गराउन अस्पतालमा आउनेको संख्या बढेको विभिन्न अस्पतालको तथ्यांकले देखाएको छ । जोखिममा पर्नेमध्ये २० वर्षमुनिका किशोरीको संख्या बढी रहेको पाइएको छ ।


डडेलधुरा मात्र होइन, बैतडी, डोटी र दार्चुलालगायत दुर्गम पहाडी जिल्लामा पनि जोखियुक्त तरिकाबाट गर्भपतन गराउनेको संख्या बढदो क्रममा छ । विभिन्न स्वास्थ्य शिविरमा अध्ययन गरेका डा. प्रेम पाण्डेय भन्छन्, ‘स्वास्थ्य संस्थामा पनि सुरक्षित गर्भपतनका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीको अभावका कारण समस्या निम्तिने गरेको छ ।’


सरकारले सूचीकृत गरेका अधिकांश स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीको अभाव देखिएको उल्लेख गर्दै उनले भने, ‘एसबीए तालिमप्राप्त स्वास्थ्यकर्मी एक ठाउँबाट अर्को ठाउँमा सरुवा हुँदै जाने भए पनि स्वास्थ्य संस्थाले भने सूचीकृत भएकै आधारमा औषधिको प्रयोग गरेर गर्भपतन सेवा दिइरहने भएकाले यो समस्या गम्भीर बन्दै गएको हो ।’


डडेलधुरामा यसरी सुरक्षित गर्भपतन गराउन पाउने सूचीकृत स्वास्थ्य संस्थाको संख्या १६ छ । तीमध्ये डडेलधुरा उपक्षेत्रीय अस्पताल, सहश्रलिंग स्वास्थ्यचौकी, जोगबुडा अस्पताल, साँदनी र शीर्ष स्वास्थ्यचौकी, आलिताल स्वास्थ्यचौकी, कैलापालमाडौं, गणेशपुर, अशिग्राम स्वास्थ्यचौकी र बेलापुरमा सुरक्षित गर्भपतन गराउने सेवा उपलब्ध छ ।


यस्तै नवदुर्गा स्वास्थ्यचौकी, चमडा, देवल स्वास्थ्यचौकी, रूपाल, बगरकोट र भागेश्वर स्वास्थ्यचौकीमा पनि सुरक्षित गर्भपतन सेवा छ । २ वर्षअघिसम्म सदरमुकाम धाउनुपर्ने वा घरेलु उपचारबाट गर्भपतन गराउने प्रचलनका कारण महिलाको ज्यान जोखिममा पर्दथ्यो । ग्रामीण क्षेत्रसम्म सरकारी संस्थाबाटै निःशुल्क र गोप्य रूपमा सेवा प्रदान हुन थालेपछि महिलाहरूले सेवा लिन जाने क्रम बढे पनि जोखिम भने कम भएको देखिँदैन ।


यसबाट एकातिर सेवा सहज भएको छ भने अर्कोतिर किशोरीहरूको स्वास्थ्यमा दीर्घकालीन समस्या पनि बढ्न थालेको पाइएको स्वास्थ्यकर्मीहरू बताउँछन् । सहज सेवाको गलत प्रयोग रोक्नका लागि पहल नहुँदा २० वर्षमुनिका किशोरीमा गर्भपतन गराउनेको संख्या बढदै जान थालेको देखिएको हो ।


डडेलधुरामा चालु आर्थिक वर्षको नौ महिनामा ७ सय ९२ जनाले सुरक्षित गर्भपतन गराएको तथ्यांक छ । जसमध्ये ग्रामीण क्षेत्रमा गराइएका गर्भपतनमा सेवाग्राही किशोरीको संख्या बढी देखिएको छ । पोहोर १ हजार ७९ ले सुरक्षित गर्भपतन गराएका थिए । यीमध्ये अधिकांश जोखिममा परेपछि उपक्षेत्रीय अस्पताल र कैलालीका विभिन्न अस्पतालमा पुगेको स्वास्थ्यकर्मीहरूले बताए । सुरक्षित गर्भपतनका नाममा औषधिको प्रयोग बढदै जाँदा समस्या र चुनौती पनि त्यत्तिकै थपिएको उनीहरूको भनाइ छ ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?