कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिविको अन्तर्राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा राष्ट्रपति चिन्तित

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको आयोजनामा आइतबारबाट ललितपुरमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । 'विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण' नाम दिइएको सम्मेलनमा सहभागी विदेशी विश्वविद्यालयहरुका प्राध्यापकहरुले त्रिविलाई पाठ्यक्रम सुधार्न सुझाव दिएका छन् ।

त्रिविको अन्तर्राष्ट्रिय सम्मेलन सुरु, उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा राष्ट्रपति चिन्तित

कार्यपत्र प्रस्तुत गर्ने अमेरिका, बेलायत, फिनल्याण्ड, भारत, सिंगापुर जापानस्थित त्यहाँका विश्वविद्यालयका प्रतिनिधिहरुले बजारको आवश्यकतालाई मध्यनजर गरेर उच्च शिक्षाको पाठ्यक्रम तयार पार्नुपर्ने बताएका थिए । विदेशी विश्वविद्यालयहरु र त्रिविबीच विद्यार्थी र शिक्षक आदानप्रदान गर्नसके उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणमा टेवा पुग्ने उनीहरुको भनाइ छ ।


दुई दिने सम्मेलनको पहिलो दिन पाठ्यक्रम र शिक्षण, अनुसन्धान र आविष्कार, उद्यमशीलता र व्यवस्थापनसम्बन्धी बिषयमा ५ वटा कार्यपत्र पस्तुत गरिएको छ । ती देशका १७ प्राध्यापकसहित त्रिविका पदाधिकारी, अध्ययन संस्थानका र विभागका प्राध्यापकहरु गरी करिब १ सय ५० जनाको सम्मेलनमा सहभागिता छ । छलफलमा विश्वविद्यालयहरुको विश्वव्यापीकरणका विषयमा समेत चर्चा भएको थियो ।


छलफलअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको निवासमै उद्घाटन गरेकी थिइन । उनले त्रिविलाई प्राकृतिक स्रोत साधन र प्राज्ञिक क्षेत्रको तालमेल मिलाएर विश्वकै छुट्टै विश्वविद्यालयको रुपमा पहिचान बनाउन सुझाव दिइन् । पछिल्लो समय उच्च शिक्षाको स्तर खस्कँदै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विश्वविद्यालयका शिक्षकको गुणस्तरमा जोड दिन आग्रह गरिन् ।


विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भिमप्रसाद सुवेदीले मूलुकमा सञ्चालित ११ वटै विश्वविद्यालयले छुट्टाछुट्टै विषयमा विशिष्टिकरण हासिल गर्नुपर्ने जनाए । त्यसका लागि विश्वविद्यालयहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सम्पर्कहरु विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए । सम्मेलनबाट आएका सुझावलाई संकलन गरेर आगामी दिनमा त्रिविले योजना निर्माण गर्दै कार्यान्वयनमा जाने उपकुलपति तीर्थराज खनियाँले जानकारी दिए ।


त्रिविलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गरेर विदेशी विद्यार्थी आकर्षित गर्ने लक्ष्य राखिएको उनले जनाए । त्यसका लागि विश्वविद्यालयको पाठ्यक्रम, भौतिक पूर्वाधारण, शिक्षण विधि र परीक्षा प्रणालीलाई समेत सुधार गर्दै लैजानु पर्ने उनले सुनाए ।


हाल त्रिविले १ सय ६० विदेशी विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँग सहकार्य गरेर शैक्षिक कार्यक्रम, शिक्षक तथा विद्यार्थी अनुसन्धान, प्रकाशन, क्षमता अभिवृद्धिका कार्यक्रम आदानप्रदान गर्दै आएको छ । बेलायतको टाइम्स हाईअर एजुकेसन (द) ले सन् २०१९ का लागि गरेको मूल्याङ्कनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमध्येको एक हो । यस पटकदेखि विश्वविद्यालयहरुको मापन प्रतिस्पर्धामा औपचारिक रुपमा सहभागी भएर अन्तर्राष्ट्रियकरणमा जोड दिइएको उपकुलपति खनियाँले जनाए ।

प्रकाशित : जेष्ठ २६, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?