सडक विस्तारको क्रममा फाइबर अप्टिक भएको पाइप फुट्यो

पाइपलाइनबाट तेल आयात परिक्षण गर्ने जुन ३० को मिति अन्यौलमा
राजु चौधरी

काठमाडौँ — अमलेखगन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फको वीरगन्ज पथलैया व्यापारिक मार्गमा परेको फाइबरको पाइपलाइन परवानीपुर नजिक सडक विस्तारको क्रममा फुटेको छ ।

विरगन्ज पथलैया व्यापारिक सुधार आयोजनाले सडक विस्तारको क्रममा लगाएको डोजरले फाइबरको पाइप फुटाइदिएको हो। उक्त पाइपमा रहेको अप्टिकल फाइलबरले भारतबाट नेपाल आउने तेलबारे विभिन्न प्रकारको तथ्यांक तथा सूचना दिने गर्छ।

नेपाल आयल निगमका जीएम सुरेन्द्र पौडेलका अनुसार सो पाइप लाइन फुटेसँगै जुन ३० मा गरिने भनिएको परिक्षणको मिति परसर्ने भएको छ। उनको अनुसार विगतमा पनि सडक विस्तारको क्रममा सो पाइपलाइन यसरी नै फुटेको थियो। 'घरीघरी सडक खन्दा पाइप फुट्नु भनेको सुरक्षा चुनौती पनि हो,' उनले भने, 'पाइप मात्रै ७-८ मिटर फुटेको हो। तर, तेल जस्तो संवेधनशिल वस्तु भएकोले त्यति पनि ठूलै मान्नुपर्छ। किनभने त्यो भन्दा केही मुनी मुख्य पाइप छ।'

उनको अनुसार बुधबार परिक्षणको अन्तिम तयारीबारे जानकारी लिन भारतीय आयल निगमका अधिकारी नेपाल आउन लागेको बेला भएको यो घटनाले केही जटिलता निम्त्याएको छ।

'हामी मुख्य सचिव र मन्त्रीलाई यसबारे जानकारी दिनका लागि जाँदै छौं,' उनले भने।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान र वीरगन्जका केही स्थानमा नेपाल आयल निगमले मुआब्जा वितरणको कामबाहेक नेपाल सरकारको लगानी छैन । परियोजनाको लागत प्रतिकिमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले परियोजनाको कुल लागत झन्डै ३ सय ५० करोड रहेको छ ।

तस्बिर स्रोत : एनओसी


प्रकाशित : जेष्ठ २८, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

भारत निर्यातमा पनि अनुदान

बेसार, प्रशोधित मह, प्रशोधित अलैंची, अदुवा, सुठो र जुत्ता निर्यात गर्दा अनुदान पाइने पुष्प र तरकारीमा प्रशोधन नगरे पनि अनुदान
राजु चौधरी

काठमाडौँ — व्यवसायीले भारतमा निर्यात गर्दा पनि अनुदान पाउने भएका छन् । तेस्रो मुलुकमा निर्यात गरेबापत मात्रै पाउने व्यवस्थालाई परिमार्जन गर्दै सरकारले भारततर्फ पनि सुरु गरेको हो । वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारीका अनुसार बेसार, तरकारी, प्रशोधित मह, प्रशोधित अलैंची, अदुवा, पुष्प, सुठो, जुत्तामा निर्यात अनुदान पाइनेछ । 

‘निकासीकर्ताले पाउँदै आएको निर्यात अनुदान अब भारततर्फ पनि लागू गरेका छौं । यसले अनुदान पाउने व्यवसायीलाई प्रोत्साहन मिल्नेछ,’ सोमबार पत्रकार भेटघाटमा सचिव अधिकारीले भने, ‘सरकारले भारतमा निर्यात गरे अनुदानको दिने निर्णय गरेको छ ।’ निर्यात अनुदानले उत्पादनमा पनि केही सुधार हुने मन्त्रालयको ठहर छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार मुलुकको कुल निर्यात व्यापारमध्ये करिब ६५ प्रतिशत भारतमै निर्भर छ । १० महिनाको तथ्यांकअनुसार भारततर्फ ६४.१ प्रतिशत निर्यात भएको छ । दोस्रोमा अमेरिका ११.३ प्रतिशत, टर्की ३.३ प्रतिशत, जर्मनी ३.३ प्रतिशत र बाँकी १८ प्रतिशत अन्य मुलुकमा निर्यात भएको उल्लेख छ ।

भारतमा मात्रै निर्भर हुँदा पनि निर्यातमा अनुदान थिएन । भारत निर्यातमा अनुदान जायज भएको पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले बताए । ‘यसअघि पक्षपात भएको थियो । जहाँ बढी सम्भावना छ, त्यहीं निकासी हुँदा अनुदान थिएन । न्यायसंगत थिएन,’ उनले भने, ‘त्यसैले भारत निकासीमा पनि अनुदान आवश्यक छ ।’ भारत ठूलो बजार भएको जनाउँदै उनले प्रतिस्पर्धा गर्न पनि अनुदान आवश्यक रहेको बताए । ‘नेपालका लागि भारतीय रुपैयाँ आवश्यक पनि छ । त्यसैले प्रोत्साहन गर्न जरुरी छ,’ ओझाले भने ।

मन्त्रालयका अनुसार जुत्ता पनि निर्यात अनुदान दिइएको छ । हाल गोल्डस्टारबाहेक अन्य जुत्ता निर्यात हुन सकेको छैन । गोल्डस्टारले भने भारतमा निर्यात गर्दै आएको छ । जुत्तालाई व्यवस्थित गर्न सरकारले तुलनात्मक लाभको वस्तुको सूचीमा पनि समावेश गरेको छ । निर्यात भने गर्न सकेको छैन । निर्यात गर्नुको सट्टा आयातमा अर्बौं रुपैयाँ बाहिरिएको छ ।

मन्त्रालयका सहसचिव मधुकुमार मरासिनीका अनुसार बेसार, मह, अलैंची, अदुवा र सुठो अनिवार्य प्रशोधन गर्नपर्छ । पुष्प र तरकारीको हकमा पनि प्रशोधन गर्न पर्दैन । व्यवसायीले भ्यालु एडिसनको आधारमा निर्यात अनुदान पाउँछन् । ‘भ्यालु एडिसनकै आधारमा ३ देखि ५ प्रतिशत निर्यात अनुदान वितरण हुन्छ,’ उनले भने, ‘कार्यान्वयनका लागि उद्योग विभागमा पत्राचार गरिसकेका छौं ।’

मन्त्रालयका अनुसार निर्यात अनुदानका लागि साउन र माघमा भ्यालु एडिसनको प्रमाणीकरण गर्नुपर्छ । चालु आर्थिक वर्षमा भारततर्फ छुट दिएको मन्त्रालयले जनाएको छ । ‘समयावधि सकिएकाले व्यवसायीले दाबीअनुसार निर्यात अनुदान दिन्छौं,’ सचिव अधिकारीले भने, ‘यसले भारततर्फको निर्यात र उत्पादन बढाउँछ ।’ यसअघि चालु आर्थिक वर्षको बजेट भाषणको क्रममा निर्यात अनुदान बढाएको थियो । यसअघि व्यवसायीले २ देखि ४ प्रतिशत निर्यात अनुदान पाउँदै आएकोमा अर्थमन्त्री युवराज खतिवडाले औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म निर्यात अनुदान दिइने बताएका थिए ।

उक्त अनुदान तेस्रो मुलुक निकासीकर्ताका लागि थियो । सोहीअनुसार मन्त्रालयले २६ वस्तुमा निर्यात अनुदान दिने निर्णय गरेको थियो । मन्त्रालयले १५ वस्तुमा ५ प्रतिशत अनुदान दिएको थियो । ती वस्तुहरू प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरू, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहना छन् ।

अल्लोबाट उत्पादित सामानहरू, मिनरल वाटर, बेसार, तरकारी, पुष्प, प्रशोधित मह, प्रशोधित अलैंची, प्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडरलगायत) र प्रशोधित जडीबुटी तथा सारयुक्त तेल छन् । ११ वस्तुमा ३ प्रतिशतको दरले अनुदान दिने निर्णय गरेको थियो ।

तीन प्रतिशत नगद अनुदान पाउने वस्तुमा स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्याङ्ग्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादनहरू छन् । यी वस्तुहरू तेस्रो मुलुकमा निर्यात गरेबापत अनुदान दिइएको थियो ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०८:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्