तात्दै हिमनदी : २०० मिटर तलसमेत तापक्रम माइनस ३.३ डिग्री मात्र

अब्दुल्लाह मियाँ

काठमाडौँ — खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो ।

तात्दै हिमनदी : २०० मिटर तलसमेत तापक्रम माइनस ३.३ डिग्री मात्र

यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढीको जोखिम देखिएको विज्ञहरूले बताएका छन् ।

अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ । तल्लो भेगमा साना पोखरी बन्ने क्रम बढेको छ । ‘खुम्बु क्षेत्रका हिमनदीभित्रको बरफ चिसो भेटिएन,’ अध्ययनमा संलग्न काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ रिजनभक्त कायस्थले कान्तिपुरसित भने, ‘खुम्बु क्षेत्रका हिमनदीमा हामीले सोचेभन्दा पनि तातो बरफ भेटियो ।’ यसअघि ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदीको बरफ माइनस १० डिग्रीसम्म हुन सक्ने अनुमान थियो ।


नेपालभरि हिमनदी ३ हजार ८ सय ८ र हिमताल १ हजार ४ सय ६६ वटा छन् । हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतहतर्फ सरेर बग्ने गर्दछ, त्यसलाई हिमनदी भनिन्छ । हिमनदीको बहाव अन्य नदीको जस्तो तीव्र नभई सुस्त हुन्छ । खुम्बु विश्वकै सबभन्दा उचाइमा रहेको हिमनदी मानिन्छ । हिउँ र हिमनदी पग्लिएर बनेको ताल हिमताल हो ।

पछिल्लो अध्ययनले नेपालको औसत तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्व औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ ।


नयाँ तथ्यले वायुमण्डलमा अलिकति (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढी (ग्लफ) को जोखिम हुने कायस्थ बताउँछन् । हिमनदीको बरफमा चिसोको मात्रा बढी भए छिटो पग्लिने सम्भावना कम हुन्छ ।

अध्ययनमा संलग्न नेपाल भौगोलिक संस्थाका अध्यक्ष प्रा.नरेन्द्र खनालले वायुमण्डलको औसत तापक्रमभन्दा दुई डिग्री बढी पाइएकाले खुम्बु क्षेत्रका हिमनदीमा बरफ पग्लिने क्रम बढिरहेको बताए । ‘तापक्रम शून्य डिग्री भए बरफ जम्ने हो,’ उनले भने, ‘त्यो तापक्रम नै बढेर दुई डिग्री पुगेपछि हिउँ पग्लिएर पोखरी बन्ने क्रम बढेको देखिएको छ, यो घातक हो ।’

हिमालयन अध्ययन केन्द्र, नेपाल भौगोलिक संस्था, बेलायतका युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ सेफिल्ड र एभर्सविथ युनिभर्सिटी तथा काठमाडौं विश्वविद्यालय (केयू) ले तीन वर्ष लगाएर अध्ययन गरेका हुन् । जमिनको सतहदेखि २० मिटरसम्मको बरफमा शून्य डिग्री तापक्रम हुन्छ । २० मिटरभन्दा गहिराइमा मात्र बरफको वास्तविक तापक्रम थाहा हुने भएकाले करिब दुई सय मिटरसम्म ड्रिल गरेर हेरिएको हो ।

अध्ययन टोलीका प्रमुख बेलायतको युनिभर्सिटी अफ लिड्सका विज्ञ डंकन क्वेन्सीले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘खुम्बु क्षेत्रमा ५६ प्रतिशत बरफ तातो भेटिएको छ ।’ उनका अनुसार एक दशकमा ०.५ डिग्री सेल्सियसका दरले बरफ तातिरहेको देखिएको छ । ‘यसले बरफसहितको ठूलो बाढीको संकेत गरेको छ,’ उनले भने, ‘खुम्बु क्षेत्रका हिमनदीको जोखिम दिनप्रतिदिन बढिरहेको छ ।’ वायुमण्डलमा तापक्रम वृद्धि भए हिमनदी र हिमनदीको पिँधमा रहेको बरफसमेत छिटो पग्लिन मद्दत पुग्छ ।


‘तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर पोखरी बनेपछि निकट भविष्यमा बाढीको सम्भावना हुन्छ,’ खनालले भने । बाढीले तल्लो तटीय क्षेत्रमा मानवीय र धनको क्षति गर्ने सम्भावना हुन्छ ।

जलविद्युत्, सिँचाइ र खानेपानीलगायतमै असर निम्तिन सक्छ । ‘पानी भण्डारण नहुने भएपछि हिउँदमा खोलामा पानी नबग्ने भयो,’ खनालले थपे, ‘सुक्खा बढ्ने भएकाले पानीको हाहाकार हुन सक्छ ।’ हिमनदी र बरफ पग्लिएर हिमताल बन्ने क्रम बढ्ने र भएका हिमतालको आकार बढ्ने हुँदा त्यस्ता ताल फुट्ने सम्भावना पनि बढी हुन्छ ।

टोलीले सगरमाथा आधार शिविर र खुम्बु आइसफलसमेत पर्ने खुम्बु क्षेत्रमा फैलिएको हिमनदीको ५ किलोमिटर लम्बाइमा प्वाल पारेर भित्रको बरफको तापक्रम अध्ययन गरेको थियो । ‘आधार शिविरक्षेत्रका हिमनदीहरूमा चाहिँ माइनस ३.३ डिग्री तापक्रम पाइयो,’ विज्ञ डंकनले भने, ‘यो हामीले सोचेभन्दा अत्यधिक हो, यो स्वाभाविक तापक्रम होइन ।’

४९०० देखि ५४०० मिटरसम्मको हिमनदीमा प्वाल पारेर अध्ययन गरिएको थियो । त्यसका लागि ५ वटा साइट छानिएका थिए भने दुईवटा सिजनमा ड्रिल (प्वाल) पारिएको थियो । हिमालयन अध्ययन केन्द्रका अध्यक्ष धनञ्जय रेग्मीले यस्तो प्रविधिबाट पहिलो पटक हिमनदीको अध्ययन गरिएको बताए । एभरेस्ट रिजन ड्रिल प्रोग्रामअन्तर्गत सन् २०१६ देखि २०१९ सम्म यो अध्ययन गरिएको हो ।

यसअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले लामो प्रतिवेदन सार्वजनिक गर्दै पृथ्वीको औसत तापक्रम १.५ सेल्सियस मात्रै बढे यही शताब्दीको अन्त्यसम्म हिमालबाट कम्तीमा एक तिहाइ हिउँ पग्लिने आकलन गरेको छ । पृथ्वीको तापक्रम वृद्धिदर विश्वमा औद्योगिकीकरण सुरु हुनुअघिको १.५ सेल्सियसभित्र कायम राख्न नसकिए झनै भयावह अवस्था आउने जानकारहरूको विश्लेषण छ ।

अहिलेकै हिसाबले हरितगृह ग्यास उत्सर्जन भइरहे सन् २१०० सम्ममा विश्वको तापमान ६.५ डिग्री सेल्सियससम्म बढ्ने वैज्ञानिकहरूको अनुमान छ । त्यसको प्रत्यक्ष असर हाम्रा हिमालहरूमा पर्नेछ । यसरी हिउँ पग्लिँदाको विनाशकारी असर हिमाल र त्यसमुनिका एसियाली देशका १.६ अर्ब मानिसमा पर्ने जानकारहरू बताउँछन् ।

विगतमा गरिएका विभिन्न मोडलहरूले हिमनदीहरू पग्लिएर सिन्धु, गंगा, ब्रह्मपुत्र र तिनका सहायक हिमनदीमा सन् २०५० सम्म गर्मीका बेला जलप्रवाह निकै बढी हुने देखाइसकेको छ । हिमालमा हिउँको मात्रा निकै न्यून हुँदा प्रवाह उसै गरी घट्नेछ ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?