कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सत्तापक्षीय सांसदको मौन विरोध

काठमाडौँ — सत्तारुढ पार्टी नेकपाका सांसद झपटबहादुर रावलले सहरी विकास मन्त्रालयले गरेको बजेट विनियोजन र कार्यक्रम आफ्नो जिल्लामा नपरेको भन्दै रोस्टममा मौन बसेर विरोध जनाएका छन् ।

सत्तापक्षीय सांसदको मौन विरोध

मंगलबार प्रतिनिधिसभामा उनले त्यसैको विरोधमा यी कविताका पंक्ति वाचनसमेत गरे, ‘म खाऊँ, मै लाऊँ, सुखसयल वा मोज म गरूँ, म बाँचू, मै हाँसूँ अरू सब मरून् दुर्बलहरू ।’


सभा सञ्चालन गरिरहेकी सांसद राधा ज्ञवालीले उनलाई सोधिन्, ‘माननीयज्यू के भयो ?’ उत्तरमा रावलले भने, ‘सभामुख महोदय, केही नभएको हुनाले नबोलेको ।’ सभामुखले फेरि सोधिन्, ‘मौन बस्दा समयको सदुपयोग भएन कि ? समय दिन्छु बोल्नुस् ।’ रावलले जवाफ दिए, ‘भए पो बोल्नु ।’ केहीबेर विरोधस्वरूप मौन रहेर उभिएपछि उनले सरकारले मन्त्री र नेताकेन्द्रित बजेट ल्याएको प्रतिक्रिया दिए । सहरी विकास मन्त्रालयले ल्याएको बजेट विभेदकारी भएको उनको भनाइ छ ।


‘तपाईंको क्षेत्र बाँकेमा सहरीकरण गरेर सबैतिर सहरी विकास हुने होइन,’ सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईप्रति लक्ष्य गर्दै उनले भने, ‘मुलुकभरको सबभन्दा धेरै मुक्त कमैया बसेको कैलाली–२ मा सहरी विकास मन्त्रालयको आँखा पुगेन । मेरो निर्वाचन क्षेत्रमा पुनःस्थापित बादी समुदाय रूखको फेदमा बसेका छन् ।’


संसद्मा मंगलबारदेखि विनियोजित विधेयकको मन्त्रालयस्तरीय छलफल सुरु भएको छ । खेलकुद, सहरी विकास र अर्थ मन्त्रालयका लागि छुट्याइएको बजेटको शीर्षकमाथि छलफल थालिएको हो । छलफलका क्रममा कांग्रेससहित प्रतिपक्षी सांसदले सबै मन्त्रालयको शीर्षकमा खर्च कटौतीको प्रस्ताव राखेका थिए ।


प्रकाशित : जेष्ठ २९, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?