कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गर्ने गौतम पक्राउको विरोध

काठमाडौँ — युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गरेका मेमे नेपालका सञ्चालक प्रनेश गौतमलाई प्रहरीले साइबर अपराधको अभियोगमा पक्राउ गरेकोमा सांसदसहित अधिकारवादी समूहले विरोध जनाएका छन् । 

युट्युबमा चलचित्रको व्यंग्यात्मक समीक्षा गर्ने गौतम पक्राउको विरोध

‘वीरविक्रम २’ चलचित्रबारे गौतमले गरेको युट्युब समीक्षामा कलाकारको मानहानि हुने सामग्री रहेको भन्दै निर्देशक मिलन चाम्लिङ राईले महानगरीय अपराध महाशाखामा उजुरी दिएपछि प्रहरीले गौतमलाई टेकु कार्यालय बोलाएरै हिरासतमा लिएको हो ।


फिल्म समीक्षाकै आधारमा पक्राउ गर्नुलाई ‘प्रशासनिक अधिकारको दुरुपयोग’ भन्दै अधिवक्ता बाबुराम अर्यालले गौतमको कामबाट विद्युतीय कारोबार ऐनको उल्लंघन नहुने बताएका छन् ।

सांसद गगन थापाले ट्वीटमार्फत फिल्मको हस्यौली समीक्षा गर्ने शैली विश्वमै रहेको भन्दै पक्राउको विरोध गरेका छन् ।


‘आलोचनात्मक चेत लोकतन्त्रको मूल मर्म हो, यसको संरक्षण गरियोस्,’ उनले लेखेका छन् । पत्रकार कनकमणि दीक्षितले पनि ठट्यौली फिल्म समीक्षा गरेकै आधारमा पक्राउ गरिनुलाई ‘अनर्थको पराकाष्ठा’ भन्दै ट्वीट गरेका छन् । चिकित्सक डा. रामेश कोइराला, लेखक सावित्री गौतम, प्रत्यूष वन्त, अधिकारकर्मी अमृता लम्साल, हिमा बिष्टलगायतले सामाजिक सञ्जालमार्फत गौतमको पक्राउलाई अनधिकृत भन्दै विरोध गरेका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७६ १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?