बेलायत भ्रमण उपलब्धिमूलक : प्रधानमन्त्री

नवीन पोखरेल

लन्डन — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने बेलायत भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । भ्रमणको अन्तिम दिन आफ्नो सम्मानमा दूतावासमा आयोजित रिसेप्सनमा ओलीले भने, 'समकक्षी टेरेजा मेसहित ब्रिगेड अफ गोर्खाज् मुख्यालय, विभिन्न सांसद र अन्य वरिष्ठ राजनीतिज्ञहरुसँगको भेटले सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध भएको मुलुकसँगको सम्बन्ध थप प्रगाढ बनेको छ ।'

तस्बिर सौजन्य : शिव भण्डारी

ओलीले मंगलबार समकक्षी मे, प्रिन्स ह्यारी, प्रमुख प्रतिपक्षी दल लेबर नेता जेरेमी कोर्बिन लगायत नेता, व्यापारी र गोर्खा समुदालाई भेटेका थिए।

सत्र वर्षपछि नेपालका प्रधानमन्त्री बेलायत आए पनि बेलायती प्रधानमन्त्रीले राजीनामा दिएकाले कुनै सम्झौता भएन। ओलीले बेलायत नेपाल दुई शताब्दी भन्दा लामो कूटनीतिक सम्बन्ध भएको स्मरण गर्दै उच्चस्तरीय भ्रमण श्रृंखला निरन्तर बनाउन पनि आग्रह गरेका थिए। बेलायत-नेपाल सम्बन्ध बहुआयामिक र विभिन्न कोणबाट अगाडि बढेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अप्ठेरो परिस्थितिमा बेलायतको सहयोग निरन्तर प्राप्त भएको पनि जनाए। बेलायतको सहयोग नेपालको लोकतन्त्र र समृद्धि संस्थागत गर्न कोशेढुंगा भएको उनले बताए।

विदेशी र नेपाली गरी झण्डै पाँच सयमाझ उनले गोर्खाहरु बेलायत-नेपाल सम्बन्धको प्रमुख कडी भएको बताए। 'नेपाली वीर छन् भन्ने कुरा सबैभन्दा पहिला बेलायतले थाह पायो'', मजाक गर्दै प्रधानमन्त्री ओलीले थपे, 'गोर्खाहरु ब्रिटिस सेनामा आएपछि त वीर नेपालीबारे अन्तर्राष्ट्रिय रुपमै थाह भयो।' उनले नेपाली कर्तव्यपरायण र अनुशासित भएको प्रसंग उल्लेख गर्दै नेपाली जहाँ पुगेका छन् त्यहाँ पीडा र अप्ठेरो होइन, बरु नेपालको प्रतिष्ठा उँचो बनाएका बताए। ओलीले नेपालीलाई आफ्नो कारोबार मिलाएर नेपाल फर्कन पनि आग्रह गरे।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित बुधबार नै रेल चढेर पेरिसतर्फ लागेका छन्।

प्रकाशित : जेष्ठ २९, २०७६ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रधानमन्त्री ओलीलाई टेन डाउनिङ स्ट्रिटमा समकक्षी मेद्वारा स्वागत

नवीन पोखरेल

लन्डन — प्रधानमन्त्री केपी शर्मा ओलीले तीनदिने बेलायत भ्रमणका क्रममा मंगलबार समकक्षी टेरेजा मेसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भएको करिब आधा घण्टा लामो भेटमा दुई देशबीच सम्बन्ध सुदृढबारे छलफल भएको थियो ।

बेलायती प्रधानमन्त्री मेले राजीनामा दिइसकेकाले नेपालका प्रधानमन्त्रीको १७ वर्षपछिको बेलायत भ्रमणमा कुनै पनि किसिमको सम्झौता हुन सकेन। 'सहयोगभन्दा पनि मित्रराष्ट्रबीच सहयोग सुदृढ गर्ने कुरा महत्त्वपूर्ण हो,' परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने, 'बेलायतको सहयोग निरन्तर भई नै रहेको छ। हामीले यसपटक प्रविधि हस्तान्तरण र लगानीका क्षेत्रमा सहयोग गर्न जोड दिएका छौँ।'


प्रधानमन्त्री ओलीले नेपालले हासिल गरेका राजनीतिक उपलब्धिको व्याख्या गर्दै राजनीतिक संक्रमणपछि नेपाल आर्थिक विकासमा केन्द्रित रहेको बताएका थिए। परराष्ट्रमन्त्रीका अनुसार उनले नेपालको विकास प्रयासमा अझ बृहत्तर सहयोग गर्न बेलायतसँग आग्रह गरेका थिए। विकासका साथै प्राकृतिक विपत्ति जस्तै भूकम्पका बेला बेलायतको सहयोगप्रति आभार व्यक्त गरेका थिए।

बेलायती समकक्षी मेले परिवर्तनका लागि नेपाललाई बधाई दिँदै बेलायतको सधैँ दृढ समर्थन र ऐक्यबद्धता रहेको विश्वास दिलाएकी थिइन्। दुवै मुलुक राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्य भएका नाताले मानवअधिकारका विषयमा समेत छलफल भएको थियो। प्रधानमन्त्री ओलीले गोर्खा समस्याबारे कुरा उठाएका थिए। उनले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गरी गोर्खा सरोकारलाई गम्भीरतापूर्वक सम्बोधन गर्न मेलाई ध्यानाकर्षण गराएका थिए। गोर्खाहरू बेलायत-नेपाल सम्बन्धको अत्यन्त महत्त्वपूर्ण कडी भएकाले उनीहरूको समस्याबारे छलफल गरेर अगाडि बढ्ने आश्वासन मेले दिएको मन्त्री ज्ञवालीले बताए।

भेटमा ओलीले कूटनीतिक सम्बन्ध स्थापनाको दुई शताब्दी बढी समयमा पनि बेलायती प्रधानमन्त्रीको नेपाल भ्रमण नभएकोप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय भ्रमण शृंखला जोड्न आग्रह गरेका थिए। प्रत्युत्तरमा मेले आफ्ना उत्तराधिकारीले भावी दिनमा भ्रमणलाई प्राथमिकता दिने जनाएकी थिइन्।

यसैबीच, प्रधानमन्त्री ओलीले बेलायती राजकुमार हयारीसँग पनि मंगलबार भेट गरे। केन्जिङटन प्यालेसमा भएको आधा घण्टा लामो भेटमा द्विपक्षीय सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए। भेटमा ओलीले प्रिन्स हयारीलाई भूकम्पका बेला गरेको सहयोगप्रति धन्यवाद दिएका थिए। करिब दुई वर्षअघि नेपाल भ्रमण गरेका हयारीले नेपाल अत्यन्तै चित्ताकर्षक मुलुक भएको बताउँदै आएका छन्।

अफगानिस्तानमा गोर्खा सैनिकहरूसँगै बसेका हयारीले गोर्खालीको बहादुरी र आतिथ्यको खुलेर प्रशंसा गर्दै आएका छन्। भूकम्प गएको झन्डै एक वर्षपछि नेपाल पुगेका हयारीले आफ्नो बसाइ लम्ब्याएर उत्तरी गोरखामा गाउँलेहरूसँगै ढुंगा र माटो बोकेर विद्यालय पुनर्निर्माणमा सघाएका थिए।

प्रकाशित : जेष्ठ २८, २०७६ २२:०४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT