कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हज समितिको टिकट खरिदमा ३८ लाख भ्रष्टाचार

१० जनाविरुद्ध मुद्दा, जनही ३८ लाख बिगो मागदाबी

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हज कार्यसम्पादन उपसमिति (२०७४) का अध्यक्ष मोहम्मद शोएबसहित १० जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०७४ सालमा उपसमितिका अध्यक्ष शोएबसहितले सार्वजनिक खरिद ऐनविपरीत हजयात्रीका लागि मक्कामदिना जाने–आउने हवाई टिकटका लागि दोस्रो कम अंक कबोल गर्ने हिना ट्राभल्स एन्ड टुर्सको बोलपत्र स्वीकृत गरी ३८ लाख रुपैयाँ अनियमितता गरेकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

हज समितिको टिकट खरिदमा ३८ लाख भ्रष्टाचार

युनिभर्सल टुर्स एन्ड ट्राभल्सले ८८ हजार ९९५, हिना ट्राभल्स एन्ड टुर्सले ९० हजार र सिलिंक्स ट्राभल्स एन्ड टुर्सले ९५ हजार ३ सय रुपैयाँमा प्रतियात्रु हवाई टिकट उपलब्ध गराउने बोलपत्र पेस गरेकामा हज कार्यसम्पादन उपसमितिका पदाधिकारी र हज समितिको सचिवालयका सदस्यसचिवले कानुनविपरीत दोस्रो बढी रकम कबोल गरेको हिना ट्राभल्स एन्ड टुर्सको प्रस्ताव स्वीकृत गरी ३८ लाख रुपैयाँ हिनामिना गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।


सार्वजनिक खरिद ऐनमा सबैभन्दा कम रकम कबोल गरेको कम्पनीको प्रस्ताव स्वीकृत गर्नुपर्ने प्रावधान छ । ‘२०७४ सालमा हजयात्रीका लागि हिना ट्राभल्स एन्ड टुर्सको सट्टा कम रकम कबोल गरेको युनिभर्सल टुर्स एन्ड ट्राभल्सको हवाई टिकट खरिद गरेको भए ३८ लाख रुपैयाँ कम पर्थ्यो’, अख्तियार स्रोतले भन्यो, ‘हज कार्यसम्पादन उपसमितिका पदाधिकारी, सचिवालयका सदस्यसचिव र लेखापालले मिलेमतोमा दोस्रो बढी रकम कबोल गरेको हिना ट्राभल्स एन्ड टुर्सको हवाई टिकट खरिद गरेर ३८ लाख रुपैयाँ भ्रष्टाचार गरेको देखियो ।’


मुद्दा दायर गरिएकामा हज कार्यसम्पादन उपसमितिका अध्यक्ष शोएब, उपसमितिका सदस्यहरू अताबुल अन्सारी, मोहम्मद इब्राहिम राइन, मोहम्मद जबारदिन मियाँ, जमिला मियाँ, मोमिना बानु मुस्लिम, मजिबुल शेष, हज समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका सहसचिव भीमराज पोखरेल, लेखापाल तिलकराज पन्त र हिना ट्राभल्स एन्ड टुर्सका सञ्चालक दाउद हुसैन छन् । उनीहरूलाई जनही ३८ लाख रुपैयाँ बिगो कायम गरी जरिवाना र जेल सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।


प्रकाशित : जेष्ठ २९, २०७६ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?