१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

विद्यालय बन्द गरेर सभामा विद्यार्थी

रवीन्द्र उप्रेती

महोत्तरी — महोत्तरीको समसी गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सभामा विद्यालय बन्द गरेर विद्यार्थीलाई सहभागी गराइएको छ । पूर्वमन्त्री एवं सांसद, जिससप्रमुखलगायत सहभागी कार्यक्रममा बाक्लो उपस्थिति देखाउन गाउँपालिकाको आदेशमा स्थानीय जनता माविका विद्यार्थीलाई लगिएको हो । 

‘सबैका लागि दिगो सरसफाइ तथा स्वच्छता कार्यक्रम’ अन्तर्गत गाउँपालिकाका सबैजसो घरमा शौचालय बनेपछि भारतीय सीमासँग जोडिएको समसीलाई बुधबार खुला दिसामुक्त घोषणा गरिएको थियो । गाउँपालिकाले सभाको कार्यक्रम तय गरेलगत्तै विद्यालयलाई पत्र पठाएर बिदा दिन र विद्यार्थी सभामा पठाउन निर्देशन दिएको थियो ।


गाउँपालिकाको चर्को दबाबपछि करिब हजार बालबालिका अध्ययन गर्ने विद्यालय तेस्रो घण्टीपछि बन्द गरेर प्रधानाध्यापक, शिक्षक र विद्यार्थी सभामा सहभागी भएका हुन् ।


विद्यार्थी पुगेको केहीबेरपछि पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साह, जिसस प्रमुख सुरेशप्रसाद सिंह, गाउँपालिका प्रमुख शेख फारुकलगायत नेता–कार्यकर्ता र अभियानकर्मी आइपुगे । स्वागत, उद्घाटन, घोषणा, सम्मान, मन्तव्य गर्दै मध्याह्न १२ बजेतिर कार्यक्रम सकिएपछि बल्ल बालबालिकालाई र फर्कन दिइयो ।


घोषणा स्थलमा सहभागी सबै बालबालिका कक्षा १ देखि १० सम्मका थिए । ‘तेस्रो घण्टीपछि हेडसरले काँटा बगैंचा जाओ भन्नुभयो र आएका हौं,’ कक्षा ८ की सरिता पण्डितले भनिन् । सभामै भेटिएका कक्षा १ का आयुष साह र कक्षा ४ की साफिया खातुनले ‘हेडसरले पठाएर आएको’ बताए । प्रध्यानाध्यापक रामप्रबोध साहले गाउँपालिकाको लिखित निर्देशनपछि विद्यार्थीलाई सभामा पठाएको बताए । विद्यार्थीलाई पढाइ छोडाएर गैरशैक्षिक कार्यक्रममा प्रयोग गर्नु उचित नभएको उनले बताए ।


‘मलाई खुला दिसामुक्त कार्यक्रममा सहभागी हुन पत्र नै पठाए,’ खल्तीबाट गाउँपालिकाको पत्र झिकेर देखाउँदै उनले भने, ‘त्यसपछि पनि विद्यार्थी पठाऊ, कार्यक्रम सुरु हुने बेला भयो भनेर पटक–पटक फोन गरेकाले तेस्रो घण्टीमा विद्यालय बन्द गरी सबैजना आएका हौं ।’


शिक्षा विकास तथा समन्वय इकाई महोत्तरीका प्रमुख शत्रुघ्न यादवले बालबालिकालाई पढाइ छोडाएर अन्य प्रयोग गर्न नपाइने बताए । स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले आधारभूतदेखि मावि तहसम्मको विद्यालय व्यवस्थापन, सञ्चालन, पठनपाठनको जिम्मा स्थानीय तहलाई दिएकाले उसको खटनपटन र आदेशलाई आफूले केही गर्न नसक्ने उनले गुनासो गरे । समसी गाउँपालिका प्रमुख शेख फारुक भने ‘के भएको रहेछ, म विद्यालयमा बुझ्छु’ भन्दै तर्किए ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?