'आरोहीको मृत्यु अधिक अनुमतिले होइन’

सुरज कुँवर

काठमाडौँ — यसपटकको वसन्तकालीन सगरमाथा आरोहणमा ८ जनाको मृत्यु हुनुको कारण ट्राफिक जाम र अधिक अनुमति नभएको सरकारले प्रस्ट्याएको छ । 

बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बीबीसीले यस विषयमा सोधेको भोलिपल्ट उनैको जिम्मामा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमातहत रहेको पर्यटन विभागले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे दोस्रोपटक धारणा सार्वजनिक गरेको हो ।

अन्तर्वार्ताबारे सर्वत्र चर्चा भएपछि पर्यटन सचिव मोहनकृष्ण सापकोटाले विभागका महानिर्देशकलाई यस विषयमा विज्ञप्ति जारी गर्न निर्देशन दिएको सम्बद्ध एक अधिकारीले कान्तिपुरलाई बताए । यसअघि जेठ १२ पनि विभागले आरोहीको मृत्युलगायतविषयमा प्रस्ट्याउन विज्ञप्ति जारी गरेको थियो ।

‘सञ्चार माध्यममा उठिरहेको सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको तथा हराइरहेको भन्ने विषयप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ,’ विभागका महानिर्देशक डन्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विभागले आरोहीको मृत्युको कारण हाई अल्टिच्युट, प्रतिकूल मौसम र आरोहीको शारीरिक कमजोरी भएको उल्लेख गरेको छ ।
आरोहण दल व्यवस्थापन गर्ने एक्सपिडिसन एजेन्सी र आरोहण दलमा खटिने सरकारी सम्पर्क अधिकृतले विभागमा पेस गरेको प्रतिवेदनमा मृत्यु र हराउनुको कारणबारे यही उल्लेख भएकोमहानिर्देशक घिमिरेले जनाएका छन् ।

यस सिजनमा सगरमाथा आरोहणमा ३ सय ८१ जनाले दस्तुर तिरेर अनुमति लिएका थिए । तीमध्ये २ सय ८१ जना मात्रै सफल भए । ८ जनाको मृत्यु भएको थियो भने एक जना हराइरहेका छन् । यस सिजनमा विभागले ४४ वटा आरोहण दलमा रहेका आरोहीलाई सघाउन ६ सय ४२ जना सरदार, गाइड र शेर्पाले इजाजत पाएका थिए । विभागले सन् २०१७ मा ३ सय ६६ र सन् २०१८ मा ३ सय ४६ आरोही सदस्यलाई अनुमति दिएको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई बीबीसीले सम्पर्क अधिकृतबारे सोधेको थियो तर उनले अन्तर्वार्तामा सम्पर्क अधिकृतबारे प्रस्ट्याएका छैनन् । बीबीसीले ६० हाराहारी सम्पर्क अधिकृत खटाइएकामा ५ जना हाराहारी मात्रै सगरमाथा आधार शिविरमा रहेको भनी प्रधानमन्त्रीलाई सुनाएको थियो ।

विभागले पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानुनी, संरचनागत कार्यविधि सुधारका लागि सुझाव दिन गत शुक्रबार प्रधानमन्त्रीस्तरीय निर्णयबाट सुझाव समिति गठन गरेको जनाएको छ । मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा५ सदस्यीय गठन गरिएको हो ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोरङ र झापामा पनि डेंगु

नियन्त्रणका लागि प्रदेश सरकारले छुट्यायो ८० लाख 
बिनु तिम्सिना

विराटनगर — धरानमा देखा परेको डेंगु रोग मोरङ र झापामा समेत फैलिएको छ । मोरङमा ९ जनामा डेंगु संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

धरानमा डेंगु नियन्त्रणका लागि धूवाँ छरिँदै ।   तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर

सुन्दर हरैँचामा ४ जना, उर्लाबारीमा १, बेलबारीमा १, केराबारीमा १ र विराटनगरमा २ जनामा डेंगु भेटिएको जिल्ला स्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । झापामा ३ जनामा डेंगु संक्रमण देखा परेको छ । तीन जिल्लामा गरी ५ सय ६० जना डेंगुबाट संक्रमित भएका छन् । विभिन्न अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

प्रदेश १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार अपराह्न बसेको प्रदेश सामाजिक विकासमन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री, झापा, मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय प्रमुख र सुरक्षा प्रमुखहरूको बैठकले सात दिनभित्र डेंगुका लार्भा नष्ट गर्ने र नियन्त्रण अभियान सुरु गर्ने निर्णय गरेको छ ।

तीनवटै जिल्लाका प्रजिअलाई शिक्षक, विद्यार्थी, सामाजिक तथा राजनीतिक क्षेत्र, नागरिक समाज, विभिन्न पेसाकर्मीको सहयोगमा सचेतना अभियान सुरु गर्न प्रदेश सरकारले अनुरोध गरेको छ । यसका लागि आवश्यक व्यवस्था सामाजिक विकास मन्त्रालयले गर्ने भएको छ ।

डेंगु प्रभावितको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी तथा मेची अञ्चल अस्पतालमा विशेष व्यवस्था मिलाउने, निजी अस्पताललाई पनि अनुरोध गर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बताए ।

सुरुमा धरानमा देखा परेको डेंगु संक्रमण जम्मा पारिएको पानी नफाल्दा फैलँदै गएको हो । धरानका स्थानीयले लामो समयसम्म पानी जम्मा गरेर राखेकाले त्यसैमा डेंगुका लार्भा देखा परेका छन् तर खानेपानी अभाव भएका कारण स्थानीयले अझै पानी फ्याँक्न नमानिरहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका सागर प्रसाईंले बताए ।

सुनसरीमा ५ सय ४८ जनामा डेंगु संक्रमण देखा परेको छ । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल र इटहरीका अस्पतालमा उपचार भइरहेको प्रसाईंले जानकारी दिए । यसैबीच डेंगु नियन्त्रणका लागि प्रदेश सरकारले ८० लाख रुपैयाँ छुट्याएको छ । सरकारले धरानस्थित प्रतिष्ठानलाई २ वटा भेन्टिलेटर प्रदान गर्ने भएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT