कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दलित बस्तीमा पुगेन राहत

हुरीपीडित
थातबास उडाएर बिचल्ली परेकाहरुका लागि राहत दिने घोषणा भए पनि वितरण सुरू भइसकेको छैन
चित्रांग थापा

धनगढी — ‘साँझ खाना पकाउने तयारी गरिरहेकी थिएँ, छोरीेले मम्मी उडायो भन्दै चिच्याई, क्षणभरमै सबै तहसनहस भयो,’ गत बिहीबारको भीषण हावाहुन्डरीको बितन्डा सम्झँदै धनगढी उपमहानगरपालिका–१२ सी गाउँ जुगेडाकी कल्पना नेपालीले भनिन्, ‘हावाहुरीले उठिबास पारेको सात दिन भयो । सहयोग त परै जाओस् कहींकतैबाट सोधपुछसम्म भएन ।’

दलित बस्तीमा पुगेन राहत

उनी दुधे बालक काखमा च्यापेर उजाड भएको घरको आंँगनमा चिन्तित थिइन् । घरको छानो हुरीले उडाएपछि उनी तीन लालाबालासहित नजिकै दिदीको घरको आश्रयमा बसेकी छन् । ‘बिचल्ली परेयता राम्ररी खान र सुत्नसमेत पाएको छैन,’ गत वैशाखमा सुत्केरी भएकी नेपालीले आँसु झार्दै पीडा पोखिन् ।


गत साताको हुन्डरीले थातबास उडाएपछि बिचल्ली हुनेमा नेपाली एक्ली होइनन् । जुगेडा गाउँको दलित बस्तीका २२ परिवारको अवस्था उनको जस्तै छ । कसैका घर छाएको जस्तापाता उडेका छन्, कतिपयका घरै भत्किएका छन् । गाउँमा केही पनि घाइते छन् । लुगा कपडा भिजेर ओढ्नेओछ्याउनेको समस्या एकातिर छ भने घरभित्र भएको गहुँ, चामल र पिठो भिजेर छाक टार्ने समस्या छ ।


‘हाम्रो त उठिबास भयो, जसोतसो सानो टहरा बनाएर गुजारा चलाएका थियौं । त्यो पनि हुरीले उडायो,’ कल्पनाकी छिमेकी ७० वर्षीया निमा कामीले भनिन्, ‘घरबास सबै हावाहुरीले उडाएर पुरै गाउँ उजाड हुँदा पनि सहयोग गर्न कोही आएनन् । हाम्रा लागि आपतविपत्मा सहयोग गर्ने कोही भएनन् ।’


धनगढी–१२ जुगेडाको सी गाउँका अधिकांश बासिन्दा पहाड डोटीको दानकोटबाट बसाइँ सरेर यहाँ आएका हुन् । जग्गाधनी प्रमाणपुर्जा भएकाहरूसँग बढीमा ५ कठ्ठा जग्गा छ । अधिकांश ऐलानी जग्गामा ससानो घरटहरा बनाएर बसेका छन् । पुरुषहरू प्रायः कामको खोजीमा भारत पसेका छन् । गाउँमा वृद्धवृद्धा, बालबालिका र महिला मात्र भेटिन्छन् ।


उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टसहितको टोली बुधबार हुरीपीडित परिवारको अवस्था बुझ्न जुगेडालगायत प्रभावित क्षेत्र पुगेको थियो । ‘हुरीबतासले घर उजाड गरेको आज एक हप्ता बित्दासमेत हामीले एउटा चाउचाउको प्याकेटसम्म पनि सहयोग पाएनौं,’ कल्पनाले नगरप्रमुख र उपप्रमुखलाई भोकभोकै बस्नुपरेको दुःख सुनाउँदै भनिन्, ‘छानो हावाले उडाएपछि घरमा ओत लाग्न त्रिपालसमेत पाएनौं ।’


उनले दुई महिनाको दुधे बालक बिरामी पर्दा ऋण सापट खोजेर उपचार गराउनुपरेको दुखेसो पोखिन् । उनका श्रीमान् नर नेपाली घर हुरीले उडाएको घटनाको चार दिनअघि मात्रै रोजगारीका लागि भारत गएका हुन् । उपमहानगरपालिकाले स्थानीय स्तरमा राहत सहयोग व्यवस्थापनका लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिसंँग समन्वय गरेर पीडित परिवारको लगत संकलन गर्ने, अति प्रभावित परिवारलाई त्रिपाल वितरण गर्ने लगायतका काम गरिरहेको नगरप्रमुख वडले बताए ।


‘अधिकांश वडाका घरमा क्षति पुगेको छ,’ उनले भने, ‘हामीले सबै वडामा जनप्रतिनिधि परिचालन गरेर लगत संकलनको काम पूरा गरेका छौं ।’ उनका अनुसार धनगढीमा मात्रै विभिन्न वडाका १ हजार ७ सय २२ घर पूर्ण रूपमा क्षति भएको र १ हजार २ सय ३२ घरमा आंशिक क्षति भएको देखिएको छ ।


अधिकांश पीडित परिवारले त्रिपालसमेत नपाएको गुनासो गरेका छन् । १२ नम्बरका वडाध्यक्ष गणेशप्रसाद जोशीले हालसम्म रेडक्रसबाट १ सय ४० थान मात्रै त्रिपाल उपलब्ध भएको बताए । ‘विभिन्न टोलमा २०/२० त्रिपाल पठाएका छौं । नपुगेर हारालुछ हुन थालेको छ,’ उनले भने ।


सञ्चारकर्मीहरूसंँग कुरा गर्दै नगरप्रमुख वडले मानवीय क्षति कम भए पनि भौतिक संरचनामा भएको क्षति हेर्ने हो भने कैलालीमा गत बिहीबारको हावाहुरीमा भएको क्षतिलाई केही महिनाअघि बारा र पर्सामा भएको भन्दा कम आकलन गर्न नमिल्ने बताए । ‘संघीय सरकारले यति ठूलो क्षति हुँदा पनि राहत सहयोग उपलब्ध गराउने विषयमा हालसम्म कुनै चासो देखाएको छैन,’ उनले भने, ‘एउटा विज्ञप्तिसम्म पनि आएन ।’ कैलालीमा हावाहुरीको बितन्डामा परी टीकापुर र गोदावरी नगरपालिकामा गरी दुई जना पुरुषको मृत्यु भएको थियो ।


यता प्रदेश सरकारले भने हावाहुरीबाट ज्यान गुमाएकाहरूलाई डेढ लाख, घर पूर्ण रूपले क्षति भएकालाई २० हजार र आंशिक क्षति भएकालाई १० हजार राहत सहयोग प्रदान गर्ने घोषणा गरेको छ । पीडितहरूका अनुसार उनीहरूले अहिलेसम्म राहत सहयोग त पाएका छैनन् नै, प्रदेश सरकारका कुनै पनि अधिकारी पीडित परिवारको अवस्था बुझ्न प्रभावित क्षेत्र पुगेका छैनन् ।


धनगढी बजार क्षेत्र आसपासमा हावाहुरी प्रभावित गाउँको जनजीवन अझै सामान्य हुन सकिरहेको छैन । ठाउँठाउँमा बिजुलीका पोल ढलेर विद्युत् आपूर्ति ठप्प छ । विद्यालयका छाना उडाएपछि पठनपाठन प्रभावित छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?