कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कान्छा काजीराम

१९९० सालको भूकम्पको पुनर्निर्माणमा बुबा रामदास लागिपरेका थिए, यो पल्टको पुनर्निर्माणमा काजीराम सीप खर्चिरहेका छन् ।
देवेन्द्र भट्टराई

भक्तपुर — कान्छा रञ्जितकारका बाबु रामदास विसं १९९० को भूकम्पपछि भक्तपुर सहर पुनर्निर्माणमा लागिपरेका थिए । अहिले २०७२ को भूकम्पपछि उनै रामदासका छोरा कान्छा भक्तपुर पुनर्निर्माणमा लागेका छन् ।

कान्छा काजीराम

भक्तपुर दरबार स्क्वायरमा उभिएको वत्सला दुर्गा मन्दिरका लागि बुट्टे ढुंगा कुँद्न लागिपरेका कान्छा बिहीबार दिउँसो पनि त्यहीं भेटिए । ‘बा रामदासले राम मन्दिर, हनुमान मन्दिर, घाटहरू बनाएका रहेछन्,’ कान्छाले सम्झिए, ‘बाको सिको गर्दै सुकुलढोकाबाट चण्डेश्वरी जाने बाटामा छापिएका ढुंगा कुँद्ने काम मैले गरेको थिएँ ६० वर्षअघि ।’

यसरी पुस्तैनी पेसामा जोडिएका कान्छाले मुस्किलले २ कक्षा पढ्न पाए । नागरिकता लिने उमेरमै बिहा गरिहाले । उ जमानाको कुरा, नागरिकतामा नाम लेखियो– ‘कान्छा भन्ने काजीराम ।’ भक्तपुर ताथलीमा जन्मे–हुर्केका कान्छाले बा रामदासबाटै छिनो, हम्मर चलाउन सिकेका हुन् । २०१५ सालमा चण्डेश्वरी सडकमा काम गर्दा दैनिक ज्याला ५ मोहोर पाउँथे उनी । आज दैनिक ज्याला १३ सय रुपैयाँ पुगेको छ । उनका बुझाइमा उसबेलाको एक दिनको ज्यालाले कुखुराको गतिलो भाले किन्न सकिन्थ्यो भने आजको ज्यालाले हुर्केको चल्लो मात्रै आउँछ ।

कान्छाको दैनिकी हरेक बिहान दत्तात्रेय मन्दिरवरपर घुमेर सुरु हुन्छ । यिनै देवीदेवताका कारण आफ्नो जन्मकर्म सम्भव भएकामा उनी विश्वास गर्छन् । थर र जातअनुसार रञ्जितकार भनेका ‘लौहकर्मी’ होइन । ढुंगाको काम गर्ने भनेका शिलाकार हुन् तर बाबुले थामेको र सिकाएको पेसाको बिँडो मात्रै कान्छाले थामेका हुन् ।


‘ढुंगामा खेल्न र रमाउनबाहेक अरू केही जानेको छैन,’ कान्छा भन्छन्, ‘म बसेको ठामलाई विश्वसम्पदा भन्छ क्यारे । यो सम्पदाका हरेक बुट्टे ढुंगाका बारेमा मलाई थाहा छ । मठमन्दिरमा बसेका देवताबारे पनि राम्रै थाहा छ ।’ भक्तपुर, दरबार स्क्वायर विश्वसम्पदामा चिनिएपछि यसको शिलालेख कुँद्ने काम पनि कान्छाले गरेका हुन् । कान्छाको कर्म र योगदानलाई सम्झेर गत महिना भक्तपुर नगरपालिकाले १० हजार रुपैयाँसहित सम्पदा–प्रेरक व्यक्तिका रूपमा सम्मानसमेत गरेको थियो ।


भक्तपुर पुनर्निर्माण र आसपासका काममा लागिपर्दा कान्छाले नेपालीबाहेक इटालियन, जर्मन, चाइनिज आगन्तुकसँग पनि मिलेर काम गरेका रहेछन् । ‘जर्मन सिकर्मी–डकर्मी भने सँगै बसेर काम गर्थे, गराउँथे । कोल (मार्टिन) र मायर (हाइन्रिक) नामका दुई जर्मन अहिले पनि बर्सेनि भक्तपुर आइरहन्छन् । मलाई ‘दाइ नमस्कार’ भन्छन् । हजार/पन्ध्र सय खर्च पनि दिइरहन्छन्,’ कान्छा भन्छन्, ‘पछि जगातीको चाइना रोड बनाउँदा दिनको ज्याला ७ मोहोर थियो तर चाइनिज भने काम–काम मात्रै भनिरहन्थे ।’

कान्छाले बीचको केही समय बनेपा, कुलेखानी, मुग्लिनतिर पनि काम गरे । ‘एकपटक कुलेखानी पावरहाउसमा काम गरेँ, दिनको २५ रुपैयाँ थियो । केही समय जुगेडी पुलको ढुंगा पनि बनाएँ, त्यस बेला दिनको २७ रुपैयाँ ज्याला थियो,’ उनले सम्झिए, ‘जेजसो भए पनि मजत्तिको ‘५ मोहोरवाला कामदार’ आज कोही छैन, सबै माथि गइसके ।’ ढुंगाको नियमित कामका कारणले कान्छाका हात स्लेटझैं जब्बर बनेका छन् । हातखुट्टामा दर्फरिएको र चिरिएका प्रशस्तै रेखा भए पनि उनी मतलब गर्दैनन् ।


बरु यस्ता कामको सम्झना ‘मीठो’ गरी सम्झन्छन् । ‘२०१२ सालतिर च्यामासिंह रोडमा ठेक्काको काम पनि गर्थे । त्यसबेला तौमडीमा रहेको नेपाल बैंकमा आएर पैसा झिक्नुपर्थ्यो । कामदारको ५२ सय रुपैयाँ झिकेर लैजानु थियो,’ कान्छाले सम्झिए, ‘भर्खरै १ रुपैयाँको नोट बैंकले निकालेको थियो । अनि, आफूले ओढेको बर्कोमा १ रुपैयाँ नोटका ५२ सय रुपैयाँ पोको पारें । तौमडीबाट बोकेर जाँदा दत्तात्रयको डबलीमा एकपटक बिसाएँ अनि मात्रै कमलविनायक पुगेर कामदारलाई पैसा बाँडें ।’

दत्तात्रयभित्रको पुरानो घरमा कान्छा आफ्ना २ छोराबुहारीका साथ बस्छन् । कान्छाकी पत्नी नानीमाया मुटुको व्यथाले बितेको निकै वर्ष भएको रहेछ । घर एउटै भए पनि २ छोरा अलग–अलग ढोका गरेर छुट्टिएर बसेका रहेछन् । ‘बिहानको चिया, खाना कान्छी बुहारीले दिन्छिन्, बेलुकीको जेठीले,’ उनले सुनाए, ‘आफूले कमाएको पैसामा केही नाति केटाहरू र बुहारीलाई दिन्छु । छोरालाई भने दिन्नँ ।’

आफ्ना नाममा रहेको ७ रोपनी जमिन २ छोराका नाम भागबन्डा गरिदिएका रहेछन् तर छोराले खाइखेली गरेर ३ रोपनीमा झारिसकेछन् । ‘त्यही भएर ती बदमासलाई म सुको पनि पैसा दिन्नँ,’ कान्छाको घरेलु कुरा थियो । दुई छोरामध्ये जेठा सूर्यबहादुर ड्राइभर पेसाबाट रिटायर्ड भएर अहिले ढुंगाकै काममा लागेका रहेछन् । कान्छा चन्द्रबहादुर बाबुजस्तै ढुंगामा बुट्टा कुँद्ने काममै रहेछन् ।

अरूभन्दा पनि जर्मन परियोजनाअन्तर्गत भक्तपुर दरबार स्क्वायरका विभिन्न निर्माण काममा ५ वर्ष लागिपर्दा केही पैसा कमाएका रहेछन् कान्छाले । उनको भाषामा जेठा छोराको बिहामा ‘मज्जासँग भोज खान र २ तोला सुन किन्न’ त्यही कमाइले पुगेको थियो । घुमघाम क्रममा उनी पोखरा, गोर्खा, जनकपुर, पाल्पा, लुम्बिनी, स्वर्गद्वारी, बराहक्षेत्रसम्म एकपटक पुगेका रहेछन् । ‘कतिले अस्ट्रेलिया, जर्मनी पनि लैजान्छु भन्थे तर लगेनन्,’ कान्छा भन्छन्, ‘मलाई आफ्नै भक्तपुर प्यारो लाग्छ ।’


कान्छाका बुझाइमा जिन्दगी त्यति ‘नरमाइलो’ छैन तर कहिलेकाहीँ अलिक बढी रमाइलो गर्दा भने दुःख पाइने रैछ । २०७२ वैशाखमा भूकम्प आएपछिका १५ दिन उनी अस्पताल बसेका थिए पिसाब रोकिने बिरामले । ‘खासमा एक महिना पुरानो जाँड खाएर मेरो पिसाब रोकिएको रहेछ । भूकम्पअघि बिस्केट जात्रामा पकाएको पुरानो जाँड अलिक बढी खाएको थिएँ, गर्मी चढेर पिसाब पूरै रोकिएर मुस्किलै भयो,’ उनी सम्झन्छन्, ‘त्यसबेला उपचारमा ५० हजार रुपैयाँभन्दा बढी खर्च लागेको थियो ।’

कान्छालाई देशमा के भइरहेको छ, खासै थाहा छैन । ओली थरका प्रधानमन्त्री छन् रे भन्ने सुनेका छन् । माओवादीले धेरै मान्छे मारे अरे भन्ने पनि सुनेका हुन् तर यसबारे पनि उति ज्ञान छैन । राजनीतिका अरू कुरा त्यति थाहा छैन । उसो भए उनले थाहा पाएकै समय ६० वर्षमा के–के फेरियो त ?

‘खोइ, के फेरियो भन्नु ? अघि ट्वाइलेट उति थिएन । बाहिर खुला ठाउँमा दिसापिसाब गरे पनि खोलानाला सफा थिए । अहिले ट्वाइलेट बन्यो । ढल बन्यो अनि सबै दिसापिसाब, ढल खोलामै हाल्न थाले । त्यही भएर खोलानाला सुके, खोला सकिए,’ उमेरमा ७७ वर्ष ७ महिना ७ दिन पुगेर जंको–साइतमा पुगेका कान्छा भन्छन्, ‘मैले बिहान–बेलुकै चियामा खाने हर्लिक्सको दाम पनि आकाश–पाताल भइसक्यो । अझै ५/७ वर्ष बाँच्छु र काम पनि गर्न सक्छु कि भन्ने लाग्छ । काल आएर होइन कि यो महँगीले पो लैजालाजस्तो भएको छ ।’

प्रकाशित : जेष्ठ ३२, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?