अस्पतालमा सुत्केरीको मृत्युपछि डडेलधुरामा तनाव

डीआर पन्त

डडेलधुरा — १४ दिनअघि शल्यक्रियाबाट सुत्केरी भएकी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले अस्पतालमा तोडफोड गरेका छन् । तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त भएको छ ।

अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै आन्दोलित भएका हुन ।

दुईसाता अघि शल्यक्रिया गरेर अस्पतालमा वच्चा जन्माएकी ताम्राकारलाई अत्यधिक रक्तस्राव भएपछि शुक्रबार अस्पतालमा पुगाइएको थियो । चिकित्सकले उपचार गर्दागर्दै उनको मृत्यु भएपछि शुक्रबार राति सयौं गाउँले आएर अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालका अनुसार ९ दिन पछि ताम्राकारलाई अस्पतालले डिस्चार्ज गरेको थियो । १४ दिनपछि पुन रक्तश्राव सुरु भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेलधुरामा ८ पिन्ट रगत दिएर धनगढी रिफर गर्नु अघि सुत्केरीको मृत्यु भएको थियो । स्थानीयले चिकित्सकले लापरवाही गरेकाले कार्वाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन ।

सदरमुकामको तुफानडाँडा चोकमा मृतकका आफन्त र गाउँलेले चक्काजाम गरेपछि पहाडी जिल्ला बझांग, दार्चुला र बैतडीबाट तराइका लागि हिँडेका सयौं दर्जनौं साधन र सयौं यात्रु अलपत्र परेका छन् ।

प्रशासनले शुक्रबार राति नै सर्वपक्षीय बैठक गरि समस्या समाधान गर्ने प्रयास गरे पनि अहिलेसम्म समाधान हुन सकेको छैन । पीडितका आफन्त र गाउँलेले राति भएको सहमति अनुरुप प्रशासनले कुनै काम नगरेका कारण आन्दोलन गर्नुपरेको बताए । पीडितका आफन्त केबी ताम्राकारले सहमति कार्यान्वयन भन्दा प्रशासनले दमन गर्न खोजेको आरोप लगाएका छन् ।

प्रकाशित : जेष्ठ ३२, २०७६ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्

लोप हुँदै परम्परागत पेसा

डीआर पन्त

डडेलधुरा — नन्दी टमटाले बनाएका पित्तलका आकर्षक पानस कुनै बेला डडेलधुरादेखि राजधानी काठमाडौं हुँदै जर्मनीसम्म पुग्थे । जर्मनी मात्र होइन, बौद्ध धर्मावलम्बी भएका विभिन्न देशमा उनले बनाएका पानस मात्र पुगेनन् घण्टा र अन्य पूजामा चाहिने पित्तलका भाँडा पनि पुगे ।

डडेलधुरा पोखराका दलित परम्परागत सिपको प्रयोग गरेर डोको नांग्लो बनाउँदै । फाइल तस्बिर : कान्तिपुर 

सीपमा प्रख्याती कमाएका उनी दशक यता आफ्नो पेसा छोडेर दैनिक मजदुरी गरेर गुजारा गरिरहेका छन् । उनी जस्तै भागेश्वर ४ डुंगरीका दर्जनौं दलित परिवारले पनि आफ्नो पेसा छोडेको दशक बितिसकेको छ ।

कुनै समय डडेलधुराका विभिन्न गाउँमा बसोवास गर्दै आएका विश्वकर्मा समुदायले बनाएका पित्तल, तामा र फलामका भाँडाको बजार टाढा टाढासम्म फैलिएको थियो । ‘डडेलधुराका टमटाले बनाएका भाँडावर्तन भनेपछि सुदूर र मध्य पहाडी क्षेत्रमा हातोहात बिक्री हुन्थे,’ ९६ वर्षीय कालु टमटाले भने ‘अब त सबैले यो पेसा छोडेर कोही तराई पलायन भए कोही रोजगारीका लागि भारत छिरे । गाउँमै रहेकाले पनि दैनिक मजदुरी गरेर गुजारा गर्न थालेका छन् ।’

भाँडा मात्र होइन, बाँस, निंगालो जस्ता वन पैदावारबाट आकर्षक घरायसी सामान बनाउने पार्की र कैनी जातका दलितले पनि आफ्नो परम्परागत पेसा छोडिसकेका छन् । जंगलमा सहज रूपमा पाइने बाँस र निंगालोबाट डोको, डालो, नाङ्लो, चाल्नी, टपरी, भकारी, छाप्री लगायतका घरायसी प्रयोजनका सामान बनाएर बिक्री गर्ने उनीहरूले जंगल विनाश भएपछि परम्परागत पेसा छाड्न बाध्य हुनु परेको हो । सुदूरका पहाडी जिल्लामा महाभारत जंगल क्षेत्रमा बाँस र निंगालो पाइन छाडेपछि उनीहरूको परम्परागत कला र सिप पनि लोप हुँदै गएको हो ।

दलित सुमदायका यी जातिबाहेक लावड, ओड, सार्की लगायतका सबै जातजातिको परम्परागत पेसा संरक्षण र संवर्द्धन हुन नसक्दा लोप हुँदै गएको छ । उनीहरूको पुर्ख्यौली पेसा संरक्षण गर्न राज्यले कुनै चासो नदिएकाले कलाका धनी दलित समुदाय मजदुरमा परिणत भएका छन् ।

तिब्बती व्यवसायी दोर्जी लामा भन्छन्, ‘पछिल्लो २ दशकदेखि बिस्तारै यस क्षेत्रका दलितले बनाएका सामग्री तिब्बती बजारमा आउनै छाडेका छन् ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०९:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्