कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

च्यारिटीका लागि आनी बेलायत जाने

नवीन पोखरेल

(लन्डन) — स्रोत नखुलेको रकम नेपाल भित्र्याएपछि सम्पत्ति शुद्धीकरणको अनुसन्धान दायरामा तानिएकी गायिका आनी छोइङ डोल्मा बेलायत आउने भएकी छन् । बौद्ध गुम्बा निर्माणमा सहयोग जुटाउनका लागि गरिन लागेको च्यारिटीमा भाग लिन उनले बेलायत भ्रमण गर्न लागेकी हुन् ।  

च्यारिटीका लागि आनी बेलायत जाने

आनीका साथ संगीतकार न्यु बज्राचार्य, वाद्यवादकहरू रमन महर्जन, सुन्दरकुमार महर्जन, प्रिन्स नेपाली पनि सहभागी हुँदै छन् । कार्यक्रममा आनीले बुद्ध दर्शनसम्बन्धी प्रवचन र एकल गायन प्रस्तुत गर्ने आयोजक बुद्धिस्ट गुम्बा रेडिङ यूकेका महासचिव कमल गुरुङले जानकारी दिए ।


४ जुलाईमा लन्डन आएपछि आनीसहितको टोली एक साता बस्नेछ । ‘उहाँहरू सबैको भिसा, टिकट भइसकेको छ’, गुरुङले भने, ‘आनीबारे समाचार पढेको हो तर हाम्रो कार्यक्रमलाई केही असर गर्दैन ।’ आनी र न्यु बज्राचार्यले एउटा प्रमोसनल भिडियोमा ‘पवित्र कार्यका लागि हुन लागेको विल्कुल फरक कार्यक्रम’ भन्दै दर्शकलाई आइदिन अपिल गरेका छन् । च्यारिटी कन्सर्ट ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा गर्ने तयारी छ ।


बुद्धिस्ट गुम्बा रेडिङ यूके नामक संस्थाले रेडिङमा गुम्बा निर्माणका लागि हालसम्म १ लाख ६० हजार पाउन्ड उठाइसकेको छ । स्थानीय मेयर र काउन्सिलले पनि यसमा सहयोग गर्ने वचन दिएको संस्थाले जनाएको छ । गुम्बाका लागि निर्ब्याजी पैसा दिने धेरै देखिएकाले आफूहरू उत्साहित भएको संस्थाका पदाधिकारीले बताए ।


प्रकाशित : जेष्ठ ३२, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?