३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विस्फोटका घाइतेको मृत्यु

काठमाडौँ — तीन जनाको ज्यान जाने गरी जेठ १२ मा सुकेधारामा भएको विस्फोटका एक घाइतेको मृत्यु भएको छ । चाबहिलको ओम अस्पतालमा उपचाररत रामेछापको मन्थली ४ का रामकुमार श्रेष्ठको शनिबार मृत्यु भएको हो । योसँगै सुकेधारा र घट्टेकुलो विस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ । 

प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उपचाररत श्रेष्ठको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । झन्डै दस मिनेटको अन्तरमा अनामनगर र सुकेधारमा शक्तिशाली विस्फोट भएको थियो । जसमा कालीकोटको सानीत्रिवेणी गाउँपालिका ९ का विभुराम भनिने दिपिन विक, दाङको बबई गाउँपालिका ३ का गोकुल रानामगर, निरन्तर मल्ल र शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) एकाइका विद्यार्थी नेता प्रज्वल शाहीको घटनाकै दिन मृत्यु भएको थियो ।


रामकुमारसहित मृत्यु भएका पाँचै जना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका कार्यकर्ता भएको प्रहरीले पुष्टि गरिसकेको छ ।

घट्टेकुलो, सुकेधारा र थानकोटमा भएको विस्फोटमा परी घाइते भएका चन्द समूहका चार कार्यकर्ताको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।


प्रहरी परिसर काठमाडौंका अनुसार सुकेधारा विस्फोटका तीन घाइतेमध्ये चन्द समूहमा आबद्ध रहेका हरि खडका र सुरेन्द्र महर्जनको उपचार चाबहिलको ओम अस्पतालमा भइरहेको छ भने विस्फोट भएको सैलुनका सञ्चालक जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको करङ भाँचिएको छ, सुरेन्द्रको दाहिने खुट्टाको घुँडामुनिको भाग काटिएको छ । हरिको पनि दाहिने खुट्टाकै घुँडामुनि संक्रमण छ । सोही दिन थानकोटमा भएको विस्फोटका घाइते चन्द समूहकै महेन्द्र लामाको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : असार १, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?