शिवपुरीमा तीनतिर केबलकार

केबलकारसँगै रिसोर्ट चलाउन लगानीकर्ता र व्यवसायीले स्थानीय तह र केन्द्रका नेताहरुलाई साथ लिएर लबिइङ तीव्र बनाए
अब्दुल्लाह मियाँ

काठमाडौँ — शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिइङ तीव्र पारेका छन् । 

गोकर्णेश्वर नगरपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरी पिक (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन पिक (जामाचो) सम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र नेताहरू समेत लागिपरेका हुन् ।

शिवपुरी ईको टुरिजम एन्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिका–३ जगडोलस्थित सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३.६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (ईआईए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ ।

निकुञ्ज स्रोतका अनुसार उक्त कम्पनीका अध्यक्ष इन्द्र लामालगायतले शिवपुरी–नागार्जुन निकुञ्जको ‘कोर एरिया’ मा पर्ने मुलाबारीसम्म केबलकार र रिसोर्टसहितको पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारेका हुन् । यो परियोजना सफल बनाउन सत्तारूढ नेकपाका नेता कृष्ण केसी र गोकर्णेश्वर नगरपालिकाले सघाइरहेका छन् ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गोकर्णेश्वरदेखि शिवपुरीको मुलाबारीसम्म केबलकार निर्माण प्रक्रिया अघि बढाइए पनि निकुञ्जका कारण समस्या उत्पन्न भएको बताए । ‘धेरै काम अघि बढेको थियो,’ चालिसेले भने, ‘अहिले आएर समस्या निम्तिएको छ, छलफल गरेर अघि बढ्छौँ ।’

केबलकार सञ्चालनका लागि १ सय ४० जना सेयरधनीसहितको समिति बनाइएको उनले बताए । प्रस्तावित केबलकारको दोस्रो स्टेसन मुलाबारी क्षेत्र निकुञ्जको कोर एरियामा पर्छ भने संरचना समुद्री सतहदेखि २२९६ मिटरमा निर्माण हुनेछ । केबलकारको अन्तिम बिन्दु प्रस्ताव गरिएको मुलाबारीको बस्ती सरकारले २०३८ सालमा तारेभीरमा स्थानान्तरण गरेर खाली गरेको थियो । जलाधार संरक्षणलाई थप प्रभावकारी बनाउन त्यतिबेला बस्ती खाली गरिएको थियो ।

बूढानीलकण्ठ नगरपालिका–३ देखि शिवपुरी पिकसम्म केबलकारसहितको संरचनाका लागि पर्यटन व्यवसायी सोनाम शेर्पालगायतले लबिइङ गरिरहेको स्रोतले जनायो । स्रोतका अनुसार यसमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पासमेत लागिपरेका थिए । शेर्पाको ताप्लेजुङ पाथीभरामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ ।

नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुन डाँडा (जामाचो) सम्म केबलकारसहितको रिसोर्ट र पार्क निर्माणका लागि केही व्यापारी र स्थानीय नेता लागिपरेका छन् । स्थानीय बासिन्दासमेत रहेका काठमाडौं ७ (ख) का नेकपा सांसद प्रकाश श्रेष्ठलगायतले यसमा साथ दिइरहेका छन् ।

प्रदेश ३ ले उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) का लागि आर्थिक वर्ष २०७५/७६ मा बजेट छुट्याएको थियो तर समय अभावका कारण यो वर्ष काम पूरा नभएकाले आगामी आर्थिक वर्षका लागि डीपीआरको कार्यक्रम सारिएको सांसद श्रेष्ठले बताए । ‘यो परियोजना सफल बनाउन पार्टी अध्यक्षज्यू (पुष्पकमल दाहाल) लगायतको साथ र सहयोग छ, उहाँहरू पोजेटिभ हुनुहुन्छ,’ सांसद श्रेष्ठले शनिबार कान्तिपुरसित भने, ‘आगामी आर्थिक वर्षमा डीपीआर पूरा गरेर काम अघि बढाइनेछ । नागार्जुनमा राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिने देखिन्छ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्ज (आरक्ष संरक्षित क्षेत्रभित्र केबलकारसहितको संरचनाका लागि व्यवसायीहरूको दौडधुप र दबाब चलिरहे पनि कानुनी रूपमा संरक्षित क्षेत्रभित्र केबलकार चलाउन दिने व्यवस्था नभएको बताए । ‘निकुञ्जभित्र केबलकारसहितको पर्यटन प्रवर्द्धन परियोजनाका लागि हामीकहाँ थुप्र्रै प्रस्ताव आएका छन्,’ खड्काले भने, ‘अहिलेको निकुञ्ज ऐन, नियमावलीले ती चीजलाई चिन्दैन, त्यसैले अनुमति दिन मिल्दैन ।’

संरक्षित क्षेत्रभित्र पर्यापर्यटन सञ्चालनबारे अलग्गै कार्यविधि बन्दै गरेकाले निकुञ्ज वा संरक्षित क्षेत्रभित्र केबलकारलगायत अन्य संरचना निर्माणको अनुमति दिने निर्णय अहिले गर्न नमिल्ने खड्काले तर्क गरे । शिवपुरी–नागार्जुनसहित लाङटाङ र सगरमाथा निकुञ्जमा समेत केबलकार सञ्चालनका लागि ईआईए गर्न विभागसँग स्वीकृति मागेको देखिन्छ ।

शिवपुरी–नागार्जुन निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) डिलबहादुर पुर्जा पुनले पर्यटन प्रवर्द्धन गर्न भन्दै स्थानीय तहका नेताहरूमार्फत निकुञ्जभित्र केबलकार र रिसोर्ट सञ्चालनको विषयले प्राथमिकता पाउने गरेको बताए । ‘नेताहरूमार्फत केबलकारलगायत संरचना निर्माणको विषय बाहिर आउने गरेको मैले देखेँ,’ करिब ८ महिना निकुञ्जको नेतृत्व गरेका पुनले भने, ‘हामीसँग (निकुञ्ज) भने त्यति धेरै समन्वय भएको पाइन्न ।’

हाइकिङ, पदयात्रा, रक क्लाइम्बिङ, साइकल यात्राजस्ता गतिविधिबाट पनि पर्यटन प्रवर्द्धन भइरहेको र त्यसैलाई अझ विस्तार गर्न सकिन्छ भन्नेमा धेरैको ध्यान नपुगेको उनले बताए । शिवपुरीमा अहिले पनि वार्षिक डेढ लाखभन्दा बढी पर्यटक भित्रिने गरेका छन् । पर्यटन प्रवर्द्धन गर्नकै लागि वन तथा वातावरण मन्त्रालयले भर्खरै निकुञ्जको नियमावलीमा जंगल सफारी, रक क्लाइम्बिङ, साइकल यात्रालगायतका गतिविधिसमेत समेटेको छ ।

निकुञ्जका पूर्वचिफ वार्डेन कमलजंग कुँवरले निकुञ्जभित्र भौतिक पूर्वाधारको टावर निर्माण गर्न दिँदा पानीको ‘वाटर टावर’ ध्वस्त हुने बताए । ‘जलाधार क्षेत्रभित्र केबलकारलगायत संरचना निर्माण हुँदा मध्यवर्ती क्षेत्रका बासिन्दा र काठमाडौं उपत्यकाका लागि संरक्षण हुँदै आएको खानेपानीको टावर ध्वस्त हुन्छ,’ कुँवरले केही अघि दिएको रायमा भनिएको छ, ‘शिवपुरी–नागार्जुनमा केबलकारलगायत संरचनाका कारण जलाधार क्षेत्र, खानेपानीको मुहान, वनजंगल, वनस्पति र वन्यजन्तुको विनाशका साथै काठमाडौंको लाइफलाइनमै अवरोध हुन सक्छ ।’

चन्द्रागिरी केबलकारलगायत कैयौँ संरचना बनाउँदा वन क्षेत्र अत्यधिक विनाश भएजस्तै शिवपुरीमा पनि त्यस्तै अवस्था सिर्जना हुन सक्ने भएकाले अहिले नै चनाखो हुनुपर्ने कुँवरको राय छ । विभिन्न भौतिक क्रियाकलापका कारण वाग्मती नदी प्रदूषित भएको र त्यसका कारण काठमाडौं उपत्यका नै प्रभावित भएको आँखा सामुन्ने हुँदाहुँदै नदीको शिरमा थप भौतिक संरचना खडा गरी कोलाहल निम्त्याउनु बुद्धिमानी नहुने उनले बताए ।

‘एकातिर वाग्मती सफाइमा अर्बौं रुपैयाँ खर्च गर्ने, विदेशी निकायको सहयोगमा पानीको मात्रा बढाउने उपायका लागि निकुञ्जको धाप क्षेत्रमा जलाशय निर्माण गर्छौं भन्ने’ ईआईए गर्न माग गरिएपछि निकुञ्जका तर्फबाट कुँवरले दिएको रायमा भनिएको छ, ‘अर्कोतर्फ नदीको मुहानमै वन र जलाधार क्षेत्र विनाश हुने गरी भौतिक संरचना अनुमति दिनु उचित हुँदैन ।’

पानीको मुहानमै थप मानवीय गतिविधिले वाग्मती नदीको जलाधार क्षेत्र र वाग्मती नदीको जलीय पर्यावरण अत्यधिक दोहनबाट नदी सभ्यतामा आँच पुग्न सक्ने जानकारहरूको तर्क छ । ‘केबलकारलगायतको संरचनाको प्रस्तावित क्षेत्र जलाधार क्षेत्र भएकाले खानेपानी र सिँचाइका लागि मात्र होइन उपत्यकाको भूमिगत जलभण्डारलाई पनि असर निम्त्याउन सक्छ,’ कुँवर भन्छन् ।

प्रस्तावित क्षेत्र जलाधार क्षेत्रका साथै वन्यजन्तुको बासस्थान, बच्चा हुर्काउने र आहारविहार गर्ने उपयुक्त स्थल भएकाले शिवपुरीमा केबलकारलगायत भौतिक संरचना निर्माण गर्न दिन नहुने विज्ञहरूको राय छ । जलाधारविज्ञ मधुकर पाध्येले लाखौँ वर्षदेखि अडिग रहेको प्राकृतिक स्वरूपलाई खनजोत गरी (बिगारेर) गरिने विकास हानिकारक हुने टिप्पणी गरे ।

‘पहाड ठट्टा गर्ने विषय होइन,’ पाध्येले भने, ‘प्रकृतिलाई बिगार्नेबित्तिकै त्यसले पानीको बहावलगायत समग्र प्रणालीलाई नै सिध्याउँछ ।’ प्राकृतिक रूपमा रहेको टापु (टप्स) लाई खनजोत गरी कंक्रिट बिछ्याउँदा कालान्तरमा अकल्पनीय क्षति निम्तिन सक्छ भन्नेमा ख्यालठट्टा गर्न नहुने उनको सुझाव छ । माथिल्लो तटमा हुने विनाशले तल्लो तटीय क्षेत्रमा नकारात्मक वातावरणीय प्रभाव पर्न जान्छ भन्ने कुरालाई विकास अभियानका क्रममा भुल्न नहुने विज्ञहरूको सुझाव छ ।

काठमाडौं विश्वविद्यालयबाट वातावरणमा विद्यावारिधि गरिरहेका नवराज चापागाईं शिवपुरी निकुञ्जको क्षेत्र सानो भएकाले त्यहाँभित्र ठूलाखाले संरचना (मेघा प्रोजेक्ट) निर्माणमा प्रतिबन्ध लगाउनुपर्ने बताउँछन् । ‘केही दुर्लभ वन्यजन्तुको बासस्थलसमेत भएको र जलाधारका लागि स्थापना गरिएको क्षेत्र भएकाले त्यहाँ ठूला विकास निर्माणका काम नगर्नु उत्तम हुन्छ,’ उनले भने ।

वाग्मती र विष्णुमती नदीको जलाधार क्षेत्रमा २००७ देखि २०३२ सम्म अत्यधिक वन विनाश र वन अतिक्रमण भएपछि खानेपानीको मुहान, जलाधार क्षेत्रको संरक्षणका लागि २०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्र घोषणा गरिएको थियो । २०२३ सालदेखि वाग्मती नदीको पानी काठमाडौं उपत्यकाको खानेपानीका लागि उपयोग हुँदै आएको छ ।

वाग्मती नदीको जलाधार क्षेत्रलाई ४३ वर्षदेखि जलाधार संरक्षण र १७ वर्षदेखि निकुञ्जका रूपमा संरक्षित गरिँदै आएको छ । जलाधार नखलबलियोस् भनेर निकुञ्जभित्र २०४० को दशकमै १ सय ११ किमि सडक निर्माण भए पनि बागद्वारलाई सुन्दरीजलको सडकमार्गमा जोडिएको छैन । सडक जोडिए मानवीय चाप बढ्न गई त्यहाँको जैविक विविधता र जलाधारमा नकारात्मक असर पर्न सक्ने विभागका अधिकारीहरूको बुझाइ छ ।

शिवपुरी–नागार्जुनको जैविक विविधता
काठमाडौंबाट नजिक रहेको यो निकुञ्ज पूर्वमा चिसापानीदेखि पश्चिममा ककनी हुँदै नागार्जॅन रानीवन र धादिङको छत्रेदेउरालीसम्म फैलिएको छ । शिवपुरी जलाधार क्षेत्रका रूपमा सन् १९८९ मा स्थापित यसको क्षेत्रफल १ सय ४४ वर्ग किमि थियो । सन् २००२ मा यसलाई शिवपुरी राष्ट्रिय निकुञ्ज नाम दिइयो भने २०६५ सालमा नागार्जुन क्षेत्रको १५ वर्ग किमि थपिएपछि यसको क्षेत्रफल १ सय ५९ वर्ग किमि भएको छ ।

निकुञ्जको उत्तर–दक्षिण चौडाइ सरदर ९ किमि र पूर्व–पश्चिम लम्बाइ सरदर २० किमि छ । शिवपुरी शिखरको उचाइ २ हजार ७ सय ३२ मिटर छ । उत्तरी ढलानको सिमाना समुद्री सतहबाट १ हजार मिटर र दक्षिणी ढलानको सिमाना १ हजार ५ सय मिटर उचाइमा छ । शिवपुरीको सम्पूर्ण डाँडा उपोष्ण तथा शीतोष्ण क्षेत्रमा पर्छ ।

यहाँको हावापानी, भू–बनोट, माटो तथा जैविक तत्त्वहरूले गर्दा प्राकृतिक वनको संरचनामा विभिन्नता ल्याएको देखिन्छ । १ हजार ८ सय मिटरभन्दा तलका दक्षिण मोहडा भएका डाँडाहरूमा खोटे सल्ला तथा चिलाउने कटुसको वन फैलिएको छ । खोलाका किनार र खोचमा उत्तिस प्रजाति पाइन्छ । माथिल्लो भेगमा खस्रु, बाँझ र गुराँसका मिश्रित वन छन् ।

यो निकुञ्जमा ३१८ प्रजातिका चरा, १०२ किसिमका पुतली र १२९ किसिमका च्याउ पाइन्छन् । साथै यो निकुञ्ज दुर्लभ ध्वाँसे चितुवा, भालु, चितुवा, रतुवा, बँदेल, जंगली बिरालो, लंगुरलगायत विभिन्न जंगली जनावरको आश्रयस्थल बन्न पुगेको छ । यस निकुञ्जअन्तर्गत हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका महत्त्वपूर्ण धार्मिकस्थल रहेका छन् । बागद्वार, जामाचो, विष्णुद्वार, तारेभीर, नागी गुम्बा आदि प्रमुख तीर्थस्थल हुन् ।

नववर्षको प्रारम्भमा उपत्यका तथा वरपरका श्रद्धालु वाग्मती तथा विष्णुमतीको उद्गमस्थल बागद्वार र विष्णुपादुकामा आई स्नान तथा पूजाआजा गर्छन् । शिवपुरीको उत्तरी भेगबाट उच्च हिमालको भव्य दृश्य तथा दक्षिण ढलानबाट काठमाडौं उपत्यका देख्न सकिन्छ । हेलम्बु जाने प्रमुख गोरेटो बाटो यो निकुञ्ज क्षेत्रभित्र पर्ने सुन्दरीजल र चिसापानी हुँदै जान्छ ।

प्रकाशित : असार १, २०७६ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

तात्दै हिमनदी : २०० मिटर तलसमेत तापक्रम माइनस ३.३ डिग्री मात्र

अब्दुल्लाह मियाँ

काठमाडौँ — खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढी रहेको पाइएको छ । हिमनदीको दुई सय मिटर गहिराइसम्म प्वाल पारेर पहिलो पटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको हो ।

खुम्बु क्षेत्रस्थित हिमनदीको पिँधको तापक्रम मापनका लागि हिउँमा ड्र्रिलिङ गरिँदै । सौजन्य तस्बिर : हिमालयन रिसर्च सेन्टर

यसबाट (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढीको जोखिम देखिएको विज्ञहरूले बताएका छन् ।

अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत दुई डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको छ । तल्लो भेगमा साना पोखरी बन्ने क्रम बढेको छ । ‘खुम्बु क्षेत्रका हिमनदीभित्रको बरफ चिसो भेटिएन,’ अध्ययनमा संलग्न काठमाडौं विश्वविद्यालयका हिमनदी तथा हिमतालविज्ञ रिजनभक्त कायस्थले कान्तिपुरसित भने,‘खुम्बु क्षेत्रका हिमनदीमा हामीले सोचेभन्दा पनि तातो बरफ भेटियो ।’ यसअघि ५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदीको बरफ माइनस १० डिग्रीसम्म हुन सक्ने अनुमान थियो ।

नेपालभरि हिमनदी ३ हजार ८ सय ८ र हिमताल १ हजार ४ सय ६६ वटा छन् । हिमालयमा जम्मा भएको हिउँ विस्तारै होचो सतहतर्फ सरेर बग्ने गर्दछ, त्यसलाई हिमनदी भनिन्छ । हिमनदीको बहाव अन्य नदीको जस्तो तीव्र नभई सुस्त हुन्छ । खुम्बु विश्वकै सबभन्दा उचाइमा रहेको हिमनदी मानिन्छ । हिउँ र हिमनदी पग्लिएर बनेको ताल हिमताल हो ।

पछिल्लो अध्ययनले नेपालको औसत तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियसका दरले बढिरहेको देखाएको छ । हिमाली क्षेत्रमा वृद्धिदर विश्व औसतभन्दा ०.३ देखि ०.७ डिग्री सेल्सियससम्म बढी छ ।

नयाँ तथ्यले वायुमण्डलमा अलिकति (१ वा २ डिग्री) तापक्रम बढ्नेबित्तिकै हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले बाढी (ग्लफ) को जोखिम हुने कायस्थ बताउँछन् । हिमनदीको बरफमा चिसोको मात्रा बढी भए छिटो पग्लिने सम्भावना कम हुन्छ ।

अध्ययनमा संलग्न नेपाल भौगोलिक संस्थाका अध्यक्ष प्रा.नरेन्द्र खनालले वायुमण्डलको औसत तापक्रमभन्दा दुई डिग्री बढी पाइएकाले खुम्बु क्षेत्रका हिमनदीमा बरफ पग्लिने क्रम बढिरहेको बताए । ‘तापक्रम शून्य डिग्री भए बरफ जम्ने हो,’ उनले भने, ‘त्यो तापक्रम नै बढेर दुई डिग्री पुगेपछि हिउँ पग्लिएर पोखरी बन्ने क्रम बढेको देखिएको छ, यो घातक हो ।’

हिमालयन अध्ययन केन्द्र, नेपाल भौगोलिक संस्था, बेलायतका युनिभर्सिटी अफ लिड्स, युनिभर्सिटी अफ सेफिल्ड र एभर्सविथ युनिभर्सिटी तथा काठमाडौं विश्वविद्यालय (केयू) ले तीन वर्ष लगाएर अध्ययन गरेका हुन् । जमिनको सतहदेखि २० मिटरसम्मको बरफमा शून्य डिग्री तापक्रम हुन्छ । २० मिटरभन्दा गहिराइमा मात्र बरफको वास्तविक तापक्रम थाहा हुने भएकाले करिब दुई सय मिटरसम्म ड्रिल गरेर हेरिएको हो ।

अध्ययन टोलीका प्रमुख बेलायतको युनिभर्सिटी अफ लिड्सका विज्ञ डंकन क्वेन्सीले प्रतिवेदन सार्वजनिक गर्दै भने, ‘खुम्बु क्षेत्रमा ५६ प्रतिशत बरफ तातो भेटिएको छ ।’ उनका अनुसार एक दशकमा ०.५ डिग्री सेल्सियसका दरले बरफ तातिरहेको देखिएको छ । ‘यसले बरफसहितको ठूलो बाढीको संकेत गरेको छ,’ उनले भने, ‘खुम्बु क्षेत्रका हिमनदीको जोखिम दिनप्रतिदिन बढिरहेको छ ।’ वायुमण्डलमा तापक्रम वृद्धि भए हिमनदी र हिमनदीको पिँधमा रहेको बरफसमेत छिटो पग्लिनमद्दत पुग्छ ।

‘तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर पोखरी बनेपछि निकट भविष्यमा बाढीको सम्भावना हुन्छ,’ खनालले भने । बाढीले तल्लो तटीय क्षेत्रमा मानवीय र धनको क्षति गर्ने सम्भावना हुन्छ ।

जलविद्युत्, सिँचाइ र खानेपानीलगायतमै असर निम्तिन सक्छ । ‘पानी भण्डारण नहुने भएपछि हिउँदमा खोलामा पानी नबग्ने भयो,’ खनालले थपे, ‘सुक्खा बढ्ने भएकाले पानीको हाहाकार हुन सक्छ ।’ हिमनदी र बरफ पग्लिएर हिमताल बन्ने क्रम बढ्ने र भएका हिमतालको आकार बढ्ने हुँदा त्यस्ता ताल फुट्ने सम्भावना पनि बढी हुन्छ ।

टोलीले सगरमाथा आधार शिविर र खुम्बु आइसफलसमेत पर्ने खुम्बु क्षेत्रमा फैलिएको हिमनदीको ५ किलोमिटर लम्बाइमा प्वाल पारेर भित्रको बरफको तापक्रम अध्ययन गरेको थियो । ‘आधार शिविरक्षेत्रका हिमनदीहरूमा चाहिँ माइनस ३.३ डिग्री तापक्रम पाइयो,’ विज्ञ डंकनले भने, ‘यो हामीले सोचेभन्दा अत्यधिक हो, यो स्वाभाविक तापक्रम होइन ।’

४९०० देखि ५४०० मिटरसम्मको हिमनदीमा प्वाल पारेर अध्ययन गरिएको थियो । त्यसका लागि ५ वटा साइट छानिएका थिए भने दुईवटा सिजनमा ड्रिल (प्वाल) पारिएको थियो । हिमालयन अध्ययन केन्द्रका अध्यक्ष धनञ्जय रेग्मीले यस्तो प्रविधिबाट पहिलो पटक हिमनदीको अध्ययन गरिएको बताए । एभरेस्ट रिजन ड्रिल प्रोग्रामअन्तर्गत सन् २०१६ देखि २०१९ सम्म यो अध्ययन गरिएको हो ।

यसअघि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले लामो प्रतिवेदन सार्वजनिक गर्दै पृथ्वीको औसत तापक्रम १.५ सेल्सियस मात्रै बढे यही शताब्दीको अन्त्यसम्म हिमालबाट कम्तीमा एक तिहाइ हिउँ पग्लिने आकलन गरेको छ । पृथ्वीको तापक्रम वृद्धिदर विश्वमा औद्योगिकीकरण सुरु हुनुअघिको १.५ सेल्सियसभित्र कायम राख्न नसकिए झनै भयावह अवस्था आउने जानकारहरूको विश्लेषण छ ।

अहिलेकै हिसाबले हरितगृह ग्यास उत्सर्जन भइरहे सन् २१०० सम्ममा विश्वको तापमान ६.५ डिग्री सेल्सियससम्म बढ्ने वैज्ञानिकहरूको अनुमान छ । त्यसको प्रत्यक्ष असर हाम्रा हिमालहरूमा पर्नेछ । यसरी हिउँ पग्लिँदाको विनाशकारी असर हिमाल र त्यसमुनिका एसियाली देशका १.६ अर्ब मानिसमा पर्ने जानकारहरू बताउँछन् ।

विगतमा गरिएका विभिन्न मोडलहरूले हिमनदीहरू पग्लिएर सिन्धु, गंगा, ब्रह्मपुत्र र तिनका सहायक हिमनदीमा सन् २०५० सम्म गर्मीका बेला जलप्रवाह निकै बढी हुने देखाइसकेको छ । हिमालमा हिउँको मात्रा निकै न्यून हुँदा प्रवाह उसैगरी घट्नेछ ।

प्रकाशित : जेष्ठ २९, २०७६ ०७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्